३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दुई नम्बर प्रदेश ‘मिथिला–मधेस’

प्रदेश नामकरणका सन्दर्भमा हामीले न पसिनाको तागतलाई कम आँक्न मिल्छ, न त रगतको अवमूल्यन गर्न हुन्छ ।

काठमाडौँ — अन्तत: मुलुक संघीयता कार्यान्वयनको दैलोमा पुगेको छ । संघीय ढाँचा अन्तर्गत देशलाई विभिन्न ७ प्रदेशमा संयोजित गर्ने खाका कोरिएको छ । यी सबैमध्ये संघीयताका लागि जरुरी मान्ने गरिएका पूर्वाधारहरू प्रदेश नं. २ मा सबैभन्दा मुखर छन् ।

दुई नम्बर प्रदेश ‘मिथिला–मधेस’

समान संस्कृति, समान भौगोलिक बनावट, समान प्रकृतिका भाषाहरू, समान मनोविज्ञान आदि एउटा राष्ट्रका लागि चाहिने सम्पूर्ण प्राय: अवयवहरू सुगठित रूपमा रहेकोले यसले सहजै एक प्राकृत प्रदेशको अनुभूति गराउँछ । संघीयताका लागि भन्ने गरिएका मुख्य आधारहरू पहिचान र सामथ्र्य दुवै विशेष मुखर रहेको प्रदेश पनि यही नै हो ।

यस मुखरताले गर्दा प्रदेश २ का जनताबीच तर्क, विचार र आग्रहको मुखरता पनि व्यापक देखिन्छ । यतिखेर प्रदेशको नाम, मुख्यालय, भाषा आदिबारे अनेकथरी विचार तथा आग्रहको प्रक्षेपण छरपस्ट भइरहेका छन् । प्रदेशसभाको खाका तयार भएसँगै नामको विषयमा विभिन्न क्षेत्रबाट सामाजिक सञ्जाल तथा अन्यान्य फोरमहरूमा आआफ्नो पक्ष राख्ने कुराले तीव्रता लिएको छ । फरक…–फरक धारणा प्रदेशको भाषाजन्य कुरामा पनि आइरहेका छन् । तर प्रदेशको नामकरणको कुराले भने झन्डै……–झन्डै विवादकै रूप लिएको छ । यस क्रममा मिथिला र मधेस यी दुई नाम प्रमुख रूपले अगाडि आएका छन् भने कतिपयले विवादमुक्त बाटो देखाउने नाममा अनेक असान्दर्भिक नाम पनि प्रस्ताव गर्ने गरेका छन्, जसलाई त्यहाँको संस्कृति, मनोविज्ञान आदिसँग कुनै सरोकार छैन ।

अहिले बहसमा आएको मिथिला र मधेस दुवै नामका पछाडि ठोस आधार छन् । मिथिला पक्षधरहरू यसको प्राचीन इतिहास, सर्वव्यापकता, सांस्कृतिक समृद्धि, जनक–जानकीसँग जोडिएको मनोभावजन्य कुरालाई अगाडि सारिरहेका छन् । त्यसैगरी मधेस पक्षधरहरू सिंगो तराई–मधेससँग जोडिएको नाम, आन्दोलनको भावना, विविधतालाई समेट्न सक्ने आधारजन्य तर्क गर्ने गर्छन् । यो पक्षधरता कतिसम्म उग्र छ भने कुनै एउटा पक्ष अर्कोको कुरा सुन्न तयार छैन । यस उग्रतामा एक–अर्कालाई फलानोको एजेन्ट र ढिस्कानोको दलाल भन्नेसम्म आरोप लगाउन पनि पछि पर्दैनन् । तर यथार्थमा संघीयता भनेको सम्झौताको अर्को नाम हो । त्यस प्रदेशभित्रका सम्पूर्ण जनताले आत्मीयता बोध गर्न नसक्ने कुनै पनि नाम वा स्थानले संघीयतालाई दिगो र सफल तुल्याउन सक्दैन ।

संघीयता भन्ने शब्दलाई नेपालको राजनीतिमा ‘फाइनल्ली’ प्रवेश गराउने श्रेय मधेस जनअधिकार नामबाट सञ्चालित एउटा अभियानलाई दिनुपर्ने हुन्छ । तर यसलाई आधार दिएर जोगाइराख्ने र हैंसे गर्ने वातावरण मिथिला भन्ने शब्दले नै दिएको कुरालाई पनि अस्वीकार गर्न मिल्दैन । मिथिला नाम भूगोलबाट विस्थापित भएको ६ शताब्दी बितिसके पनि विविध प्रतिकूलताका बाबजुद यसको सांस्कृतिक धरातल भने अद्यापि अक्षुण्ण छ । बृहत विष्णु पुराणको मिथिला महात्म्य खण्डमा वर्णित पूर्वमा कोशी, पश्चिममा गण्डक, उत्तरमा हिमालय र दक्षिणमा गंगा बीचको भूभागमा जीवनशैली बनेर मिथिला अस्तित्ववान रह्यो । यस अस्तित्व बोधले त्यस क्षेत्रका मानिसको जातीय चेतना जस्तोसुकै आततायी प्रकृतिको राजनीतिक हुन्डरीले पनि उडाउन सकेन र जनताको मनोबल बाँचिरह्यो । अर्कातर्फ शाहवंशको उदयपश्चात् नेपालमा गोरखाली संस्कृति इतरका पहिचान र वैशिष्ट्यहरूको तेजोवध गर्ने उपक्रममा त्यसै क्षेत्रका मानिसलाई मधेसी शब्दको हतियारबाट अपहेलनाको सिकार बनाउने दुश्चक्र निरन्तर चलिरह्यो । पहाडी भाषा–संस्कृति इतरका सम्पूर्ण जनतामाथि गरिने शोषण र विभेदको साझा कचहरीका रूपमा राज्यले मधेस र मधेसी शब्दावली खडा गर्‍यो । कालान्तरमा निरन्तरको विभेद विरुद्ध आवाज उठाउने साझा मञ्चको रूपमा मधेस र मधेसी शब्दलाई नै त्यस क्षेत्रका मानिसले प्रयोग गर्न थाले ।

नेपालको सिंगो तराई–मधेस भनेर सम्बोधन गरिने क्षेत्र आजको अवस्थासम्म आइसक्दा कलमी गरिएको वृक्षजस्तो भएको छ, जसमा सुदूर पूर्वी तराईमा ‘रूट स्टक’ ‘कोच’को छ भने माथिको हाँगा मधेस छ । त्यसैगरी पश्चिमतिर ‘रूट स्टक’ ‘अवध’ र ‘थारुवान’को छ भने माथिको हाँगा मधेस छ । हाल प्रदेश न. २ मा रहेको भूभागको ‘रूट स्टक’ ‘मिथिला’को छ भने माथिको हाँगा मधेस छ । र कलमी गर्दा प्रारम्भमा कुनै उन्नत जात नै प्रयोग गर्ने गरिएको हुन्छ । यस अर्थमा सिंगो कलमीका रूपमा प्रयोग हुने मधेस पनि यथार्थमा मिथिलाकै उन्नत संस्करण हो भन्ने कुरा मधेसको नाममा खडा भएको पहिचानको सांस्कृतिक, राजनीतिक विश्लेषणले स्पष्ट पार्छ । यस्तो अवस्थामा समग्र वृक्षमा कोच वा मधेस, अवध–थारुवान वा मधेस अथवा मिथिला वा मधेस नभई ‘कोच र मधेस’, ‘अवध–थारुवान र मधेस’, ‘मिथिला र मधेस’ खोज्नुपर्ने हुन्छ ।

प्रदेश नं. २ को सन्दर्भमा मिथिला पहिचानको आधार हो भने मधेस पहिचानको विस्तार हो । पक्कै पनि पछिल्लो समयमा आन्दोलनात्मक गतिविधि जे–जति भए, मधेसकै नाममा भए । चुनावमा जे–जति नतिजा आयो, त्यो पनि मधेसकै नामबाट आयो । तर यो अवस्था ल्याउन मिथिलाको कति योगदान छ भन्ने कुरा हामीले बिर्सन हुँदैन । पञ्चायतकाल वा लेख्न–बोल्न प्रतिबन्धजस्तो रहेको अवस्थामा मधेसको राजनीतिक चेतनाजन्य कुरालाई प्रस्फुटित गराउने माध्यम मैथिली साहित्यिक गतिविधि थियो । पञ्चायत कालभरि काठमाडौंमा मधेसबारे कुरा गर्ने एकमात्र थलो विद्यापति स्मृति पर्व समारोह हुन्थ्यो, जुन मिथिलाको विशिष्ट परम्परा हो । मधेस आन्दोलनताका मिथिला परिचयका साथ सक्रिय विभिन्न संस्था तथा व्यक्तिहरूले उल्लेख्य योगदान पुर्‍याएका थिए । यी यावत दृष्टान्तहरूका आधारमा मधेस र मिथिला परस्पर विरोधी होइनन्, दुवै एक हुन् भन्ने बिर्सन हुँदैन । साथै मिथिलाको ‘रूट स्टक’मा जोडिएको मधेसको हाँगा झांगियो भन्दैमा जरातत्त्व अर्थात् मिथिलालाई काट्नु हुँदैन । अन्यथा सम्पूर्ण रुख नै सुक्छ, मधेसीहरूले प्राप्त गर्न थालेजस्तो देखिएको उपलब्धि तासको घरझैं धराशायी हुन्छ ।

मिथिला भनेपछि एउटा शंका खासगरी भोजपुरी भाषाभाषीमा के उब्जिन सक्छ भने खै हाम्रो पहिचान त यसमा समेट्दै समेटिएन † यस्तो शंका थारू, मुस्लिम, बज्जिका भाषी आदिमा पनि आउन सक्छ । तर मिथिलाले मैथिली भाषीलाई मात्र समेट्दैन । सांस्कृतिक रूपले अहिले पनि प्राचीन मिथिलाको भूभागभित्र पर्ने क्षेत्र नेपालको चितवनदेखि झापासम्मको रैथाने संस्कृतिलाई सूक्ष्मतापूर्वक हेर्ने हो भने त्यसमा शतप्रतिशतजसो साम्यता पाइन्छ । चाडपर्वमा छठीदेखि जितियासम्म उत्तिकै श्रद्धा–निष्ठासाथ मनाइन्छ भने सामाचकेवा खेलदेखि झिझिया र जटजटिन नाचसम्ममा सबै उत्तिकै उल्लासपूर्वक सहभागी हुन्छन् । मिथिला रामायणकालदेखि पूज्य र प्रचलित भूभाग हो । यो सिंगो क्षेत्रमा सीतालाई किशोरीजीका रूपमा अंगीकार गरिएको छ, जुन सीताको अर्को नाम मैथिली पनि हो । सीतालाई मैथिलीमा किशोरी वा चेलीका रूपमा स्वीकारिने परिपाटी भोजपुरी भाषी क्षेत्रमा पनि उत्तिकै जीवन्तताका साथ विद्यमान छ । त्यही भएर भोजपुरीमै यस्ता लोकभजनहरू पर्याप्त पाइन्छन्— ‘सियाजी बहिनियाँ हमार हो, रामजी लागे पहुनमा’ अर्थात् सीताजी मेरी बहिनी हुन्, त्यसैले रामजी मेरा ज्वाइँ पर्छन् । अनेक भोजपुरी लोक–भजनमा स्थानीय जनतालाई मिथिलावासी भनिएको छ । जस्तै : ‘मिथिलाके नतबा से बढ गइले शान रे’ । त्यसैगरी प्राचीन समयमा मिथिलाको राजधानी जनकपुर थियो भने मध्यकालमा मिथिलाको राजधानी सिमरौनगढ थियो, जुन हालको भोजपुरी भाषाभाषी क्षेत्र बारा जिल्लामा पर्छ ।

आजको अवस्थामा प्रदेश नं. २ का भोजपुरी लगायत अन्य भाषाभाषीमा मिथिला शब्दले आफूलाई समेट्दैन कि भन्ने शंका जन्मन्छ भने त्यसलाई साढे दुई सय वर्षसम्म हाम्रो संस्कृति मास्ने काममा राज्यले गरेको लगानी सफल भएको मान्नुपर्छ, नकि यथार्थ । किनकि हामी तराई–मधेसका बासिन्दाले यस अवधिमा के सिक्यांै, कति सिक्यौं भन्दा पनि सिक्ने नाममा आफ्नो मूल परिचय बिर्सनमात्र सक्यौं भन्ने कुरा अनेक प्रसंगमा दृष्टिगोचर हुन्छ । प्राय: यसकै नमुनाका रूपमा २०२६ सालतिर नेपालमै सबैभन्दा बढी स्नातक भएको जिल्ला सप्तरी आज शिक्षा क्षेत्रमा सबैभन्दा पछिल्लो बेञ्चमा बसेको दृष्टान्त पनि हेर्न सकिन्छ ।

संघीयता मार्फत सिंगो देशको एउटा नयाँ यात्रा सुरु हुने उपक्रममा छ । यात्राको पहिलो सार्थक पाइलामा यात्राको आधा सफलता निहित हुन्छ । हाल प्रदेश नं. २ का सन्दर्भमा यसको मुख्यालय, नामकरण, प्रदेशको भाषालाई पहिलो पाइलाका रूपमा सार्थक बनाउनेतर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ । मुख्यालयका सन्दर्भमा वीरगन्जका अन्य व्यावसायिक, औद्योगिक, नेपाल–भारत प्रमुख नाका लगायत सिंगो देशलाई नै टेवा पुर्‍याउने अनेक आधार भएकाले यसलाई त्यसै रूपमा अघि सार्दै जानु उपयोगी हुन्छ । जनकपुरमा विकास गर्नुपर्ने सम्भावना यथेष्ट रहेको र २ नं. प्रदेशको अपेक्षाकृत मध्यभागमा पर्ने भएर पनि यो अलि बढी उचित हुन्छ होला ।

नामको कुरामा मधेस भन्ने अवधारणा २२ जिल्लाका लागि आएको हामीले हेक्का राखिरहनुपर्छ । मूल मिथिला चिनारीलाई निरन्तरता दिँदै आएको हालको २ नं. प्रदेशलाई मधेस भनिदिने हो भने एकातिर मधेसलाई सधंै आधार दिँदै आएको मिथिला चिनारी समाप्त हुन्छ, अर्को मधेसमा रहेको आफ्नो पूर्ण आकार ग्रहण गर्ने मनोभाव पनि समाप्त हुन्छ । अत: ‘मधेस अभियान जारी छ’ भन्ने मानसिकतालाई जीवन्त राखिनुपर्छ । कुल क्षेत्रफलको एक तिहाइभन्दा कम क्षेत्रफलमा खुम्च्याइएको क्षेत्रलाई नै मधेस प्रदेश नामकरण गरिदिनु भनेको समग्र मधेसको सम्भावनालाई यतिमै सीमित पार्नु पनि हो । यस अवस्थामा २ नं. प्रदेशको नामकरण यसरी गरिनुपर्छ, जसबाट जरा र हाँगा दुवैले स्थान र सम्मान पाउन सकुन् । मिथिला नाम राखियो भने मधेस आन्दोलनसँगै हुर्किएका पुस्ताले आफ्नो भावनासँग खेलवाड भएको ठान्नेछन् । किनकि उसलाई मधेस बाहेक केही थाहै छैन ।

मिथिलाका लागि हाम्रो पुस्तौं–पुस्ताले पसिना बगाएका छन् । यसो भन्दैमा मधेस अचानक प्रकट भएको पनि होइन । मधेसको इतिहास त झन् रगतले लेखिएको छ । हामीले नत पसिनाको तागतलाई कम आँक्न मिल्छ, न रगतको अवमूल्यन गर्न हुन्छ । यी सबै दृष्टिले २ नं. प्रदेशको नाम ‘मिथिला–मधेस’ सबैभन्दा उपयुक्त हुनसक्छ ।

प्रकाशित : पुस १४, २०७४ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?