कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भाइरल बन्ने धुनमा मौलाएको विकृति

के इन्टरनेटमा जे गरे पनि र जे बोले पनि छुट छ ? छैन भने फेसबुक तथा युट्युबमार्फत फैलिएको विकृति रोक्नुपर्छ ।
मीना मरासिनी

काठमाडौँ — सामाजिक सञ्जाल स्वच्छन्द प्लेटफर्म हो, जहाँ प्रयोगकर्ताहरू आपसमा जोडिन, संवाद र बहस गर्न तथा आफ्नो विचार तथा अभिव्यक्तिका लागि स्वतन्त्र हुन्छन् । जनताका वाक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएका विश्वका कतिपय मुलुकमा बाहेक लोकतान्त्रिक अभ्यास भएका देशमा फेसबुक, ट्विटरजस्ता सोसल मिडिया साइट तथा युट्युबजस्ता भिडियो स्ट्रिमिङ साइट अत्यधिक लोकप्रिय बनिरहेका छन् ।

भाइरल बन्ने धुनमा मौलाएको विकृति

फलत: विश्वमा करोडौं मानिसले यस्ता इन्टरनेट प्लेटफर्म प्रयोग गर्छन् । फेसबुकका प्रयोगकर्ता मात्रै पौने दुई अर्बजति छन् भने उत्तिकै संख्यामा मानिसले युट्युब प्रयोग गर्छन् । त्यस्तै ट्विटर, इन्स्टाग्राम लगायतका सोसल मिडियाको प्रयोग गर्नेहरू पनि करोडौं छन् । नेपालमा चाहिँ आम सर्वसाधारण तथा युवा जमातमा बढी चल्तीमा रहेका इन्टरनेट प्लेटफर्म हुन्, फेसबुक तथा युट्युब । यद्यपि इन्स्टाग्राम, ट्विटरजस्ता सोसल साइटका पनि प्रयोगकर्ता उल्लेखनीय छन् । नेपालमा झन्डै डेढ करोड इन्टरनेट प्रयोगकर्ता रहेकामा त्यसको आधाजसोले फेसबुक चलाउने गरेको देखिन्छ । युट्युब त नेपालमा सबैभन्दा लोकप्रिय इन्टरनेट साइटको पहिलो नम्बरमै रहेको हुँदा यसका प्रयोगकर्ता अझ निकै बढिरहेको सहजै अनुमान लगाउन सकिन्छ । उल्लेखित इन्टरनेट प्लेटफर्ममा पछिल्लो पुस्ता लोभिँदै जाँदा धेरैका लागि फेसबुक र युट्युब चर्चा, प्रचार र आयको माध्यम पनि बनिरहेका छन् । अर्कोतर्फ इन्टरनेटको दुनियाँमा नाम र दाम कमाउने ध्याउन्नमा फेसबुक तथा युट्युबमा विकृति र अश्लीलताको बाढी आउन थालेको छ ।

इन्टरनेटको दुनियाँमा, खासगरी सामाजिक सञ्जालमा भाइरल निकै चल्तीको शव्द हो, जसले इन्टरनेटको कुनै पनि सामग्री निकै छोटो समयमा धेरै पाठक, दर्शक वा श्रोतामाझ फैलिनु अर्थात् रातारात हिट हुनु भन्ने बुझाउँछ । रातारात हिट हुने यही भूतले अहिलेका किशोर–किशोरी तथा युवायुवतीलाई गाँजेको छ । फेसबुकमा धेरैभन्दा धेरै ‘लाइक’, ‘कमेन्ट’ तथा ‘सेयर’ प्राप्त गर्न वा आफ्ना ‘फेसबुक पोस्ट’लाई भाइरल बनाउनका लागि अनेक खालका हतकण्डा अपनाउन पछि पर्दैनन्, अहिलेका तन्नेरी । यसका लागि अश्लील तथा अपाच्य, सामाजिक तथा जातीय सद्भाव बिगार्ने खालका अभिव्यक्ति दिएर फेसबुक लाइभ गर्ने वा आपत्तिजनक भिडियो तयार पारी फेसबुकमा अपलोड गर्ने चलन बढेको छ । विभिन्न पेज वा ग्रुपका नाममा फेसबुकमा आउने उत्तेजनापूर्ण भिडियो तथा अन्य सामग्री छोटो समयमै धेरै प्रयोगकर्ताको वालसम्म पुग्ने र समाजमा चर्चा बटुल्ने गरेको पाइएको छ । यस्ता सामग्रीले गलत हल्ला, अफवाह, घृणा, अश्लीलता, सामाजिक तथा पारिवारिक द्वन्द्व अभिवृद्धिमा ठूलो भूमिका खेलिरहेका छन् । फेसबुक प्रयोगकर्ताको स्तरमा हुने निरर्थक विवादहरू भाइरल बन्दा त्यसले मुलुकहरूबीचमै द्वन्द्वको अवस्था निम्त्याउन सक्छ ।

फेसबुकमा भाइरल बन्ने धन्दामा लागेकामध्ये धेरै नामका पछाडि कुदिरहेका जमात हुन् । तर युट्युबमा चाहिँ नाम र दाम दुबैको धन्दा चल्ने गरेको छ । युट्युबमा गुगल विज्ञापनमार्फत पैसासमेत कमाउन सकिने हुनाले पछिल्लो समयमा युट्युब च्यानलहरू सञ्चालन गरी अनेकथरी भिडियो अपलोड गर्ने होडबाजी चलिरहेको छ । युट्युब भिडियो जति धेरैले हेर्‍यो, उति नै धेरै रकम आर्जन हुने भएपछि भ्यु बढाउन अश्लील तथा उत्तेजनात्मक सामग्री समावेश गर्ने क्रम बढेको छ । यस अघि नेपालमा विभिन्न युट्युब च्यानलले ‘सर्ट मुभी’मार्फत अश्लीलताको व्यापार गर्ने गरेका थिए । तर अहिले त्यस्ता सर्ट मुभीलाई समेत माथ दिने खालका अश्लील अन्तर्वार्ता भिडियोहरू अपलोड गर्ने युट्युब च्यानल छ्यापछ्याप्ती छन् । विभिन्न सी ग्रेडका कलाकार तथा आफूलाई सेलिब्रेटी दाबी गर्ने तर नामै नसुनिएकाहरूलाई बोलाएर यौनसँग सम्बन्धित उत्तेजनात्मक प्रश्नहरू गर्ने, दोहोराई–तेहोराई यौन जीवनका कुरा खोतल्ने, ‘डर्टी माइन्ड टेष्ट’का नाममा दोहोरो अर्थ लाग्ने प्रश्न गर्ने अनि अश्लील शव्दहरूसमेत बोलेर तथा बोल्न लगाएर युट्युबमा भिडियोहरू राख्ने गरेका छन् । युट्युब तथा फेसबुकमार्फत अश्लीलता तथा उत्तेजनाको व्यापार गरेर नाम र दाम कमाउने ध्याउन्नमा लागेका युवकयुवतीले हाम्रो समाजको दारुण चित्र प्रकट गरिरहेका छन् ।

पछिल्लो समय युट्युब तथा फेसबुक जस्ता सामाजिक सञ्जालका भित्ताहरू यस्तै खालका अश्लीलता तथा उत्तेजनाले दूषित बनिरहेका छन् । सोसल साइट तथा युट्युब भिडियोहरू मार्फत भैरहेको अश्लीलता तथा उत्तेजनाको व्यापारमाथि जिम्मेवार निकायको ध्यान जानसकेको छैन । इन्टरनेटमा स्वच्छन्दता तथा स्वतन्त्रताले हद पार गरेको छ र समाजलाई विकृत बनाउँदैछ । सरकारले समाजमा अश्लीलता फैलाउने, सामाजिक सद्भाव बिगार्ने तथा विकृति फैलाउने खालका इन्टरनेट सामग्रीमाथि समेत बन्देज लगाउनसकेको छैन । विद्युतीय कारोबार ऐनअनुसार नेपालमा पोर्नोग्राफी प्रतिबन्धित छ । तर फेसबुक तथा युट्युबको प्लेटफर्ममा फैलिएका यस्ता ‘सफ्टपोर्न’लाई लगाम लगाउने निकाय नेपालमा देखिएको छैन । भिडियो पत्रकारिताको शैलीमा विभिन्न नाममा खुलेका युट्युब च्यानलहरूले खुलेआम अश्लीलताको व्यापार गरिरहँदा तथा समाजमा विकृति फैलाउँदासमेत राज्यले त्यसमाथि ध्यान दिनसकेको छैन । पत्रकारको खोल ओढेर कथित सेलिब्रेटीलाई उनीहरूकै राजिखुसीमा नंग्याएर अश्लीलतामार्फत मुनाफा लिनेहरू कानुनको दायरामा आउने कहिले ? पत्रकारिताको खोल ओढेर च्याउसरी उम्रिएका भिडियो च्यानलहरूको इन्टरनेटमा जबर्जस्त उपस्थिति, युवा पुस्ताबीच फैलिहेको प्रभाव, सेन्सर विनाका विकृत सामग्री तथा नियमन विनाको अन्तर्राष्ट्रिय कारोबारलाई राज्यले नजरअन्दाज गर्न मिल्दैन । अन्य व्यक्तिका अश्लील फोटो तथा भिडियो इन्टरनेटमा सार्वजनिक गरिदिनेलाई साइबर अपराधमा मुद्दा हालेको समाचार कहिलेकाहीं सुन्न पाइन्छ, तर आफैले आफ्नै अश्लीलता व्यापार गर्ने ‘कथित युट्युब स्टार’माथि कानुनको डन्डा चलाएको अहिलेसम्म सुनिएको छैन ।

हो, तपाई–हामीले इन्टरनेटमा चाहेको कुरा छानेर हेर्न सक्छौं र मन नपर्ने कुरा नहेर्ने छुट हुन्छ । अश्लील तथा विकृत सामग्री हेर्न चाहनुहुन्न भने ठिक छ, नहेर्न सक्नुहुन्छ । त्यसैले ‘भाइरल ट्रेन्ड’का अनुयायीहरूले तपाईलाई भन्न सक्छन्, हेर्न मन लाग्दैन भने नहेर्नु, किन विरोध गर्नु ? इन्टरनेटमा अश्लीलता र उत्तेजनाको व्यापार गर्नेहरूलाई मुखभरिको जवाफ के हो भने आफ्नो घरमा चोरेको छैन भन्दैमा चोरको समर्थन गर्न सकिँदैन । चोरको सख्त विरोध गर्नैपर्छ । अरूलाई आँखा छोप्न लगाएर बाटोमा नांगै हिँड्ने छुट कसैलाई हुँदैन । नाम र दामको लागि विकृतिको सहारा लिने तथा समाज र युवा पुस्तालाई नै विकृत बनाउने प्रवृत्तिलाई नजरअन्दाज गर्न सकिँदैन । के इन्टरनेटमा जे गरे पनि र जे बोले पनि छुट छ ? छैन भने फेसबुक तथा युट्युबमार्फत फैलिएको यो धन्दा रोक्नुपर्छ ।

[email protected]

प्रकाशित : पुस १३, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?