२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

शरद–निशाको विवाह : क्रिकेट र फिल्मको साझेदारी

जगदीश्वर पाण्डे

काठमाडौं — सन् २०१३ को डिसेम्बरको पहिलो साता । नेपाली फिल्म क्षेत्रकी नायिका निशा अधिकारी नेपाली क्रिकेट टिमको जर्सी लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थानको आवागमनस्थलमा प्रतिक्षारत थिइन् । उनको गाढा निलो र रातो रेखा अंकित जर्सीको पछिल्लो भागमा लेखिएको थियो, ‘शरद’ । शरद अर्थात् क्रिकेटर शरद भेषावकर ।

शरद–निशाको विवाह : क्रिकेट र फिल्मको साझेदारी

शरदको परिवारसहित विमानस्थल आइपुगेकी निशा उत्साहित देखिन्थिन् । उनको पछाडि उभिएका क्रिकेट समर्थकहरूले नारा लगाउँदै थिए,‘शरद भेषावकर । द फिनिसर । नेपाली क्रिकेट जिन्दावाद ।’

सन् २०१३ कै नोभेम्बरको अन्त्यमा नेपाली क्रिकेटले नयाँ कोसेढुंगा पार गरेको थियो । खाडीमुलुक यूएईमा भएको छनोट प्रतियोगितामा नेपाल पहिलोपटक टी-ट्वान्टी विश्वकपका लागि छनोट भएको थियो । त्यो उपलब्धि पहिलोपटक हासिल गर्ने क्रममा नायक बनेका थिए, उनै शरद ।

शरद जति शान्त छन् । त्यस बेला उनको ब्याट उस्तै उग्र थियो । अन्तिम ओभर र बलको रोमान्चक खेलमा शरदले नेपाली टिमलाई जित दिलाए । छोटोमा भन्दा ‘नेल बाइटिङ म्याच’ मा शरद नायक रहे ।

निशा उनै स्टार शरदलाई लिन विमानस्थलमा आइपुगेकी थिइन् । साथमा आफैं नारा लगाउन समेत उनी पछि परिनन् । उक्त घटनाले संकेत गर्थ्यो, शरदले एक कट्टर समर्थक पाएका छन् । एक नेपाली सेलिब्रेटीले अर्को नयाँ सेलिब्रेटीको साथ पाएको छ । उक्त विमानस्थलको घटनाको ३ वर्षपछि उनीहरू सधैका लागि साथ बस्ने वाचा गर्न पुगेका छन् । अर्थात्, यही असार १६ गते शुक्रबार हुने शरद–निशाको विवाह नेपाली परिदृष्यमा क्रिकेट र फिल्मको साझेदारी बन्न पुगेको छ ।

.....
भारतमा चर्चा रहेको दुई ठूला विषय हुन्, क्रिकेट र बलिउड फिल्म । उत्तरको कश्मिरदेखि दक्षिणको कन्या कुमारीसम्म यी दुई विषयलाई जोडिरहेको हुन्छ ।

दुई चर्चित विषय भएकै कारणले होला, भारतमा क्रिकेट र फिल्मी हिरोइनहरूको लभ–रोमान्स र विवाह सामान्य नै भइसकेको छ । भारतको छिमेकी नेपालमा पछिल्लो समय क्रिकेटको क्रेज बढेको छ ।

नेपालले सन् २०१४ मा विश्व टी–ट्वान्टीमा खेल्न पाउनु र बंगलादेशका मैदानमा खेलेको लोभलाग्दो प्रदर्शनले क्रिकेटले त फड्को मारेको छँदैछ । साथमा क्रिकेटरहरू स्टार रूपमा उदाएका छन् । नेपाली फिल्म क्षेत्र पनि पछिल्लो समयमा उल्लासमय वातावरणमा अघि बढ्न खोजेको देखिन्छ । कलाकारको रुपमा त्यसमा पनि निशाको केही योगदान पक्कै होला । दुई धारका स्टारबीचको प्रेम सम्बन्ध चर्चा पाउनुको मुख्य कारण पनि दुई उदाउँदा 'स्टार' भएकैले हुन सक्ने अनुमान गर्दा गलत नहोला ।

..
शरद शान्त थिए र छन् । निशाको उनी प्रतिको सम्मानले शरद प्रेममा 'बोल्ड' भए । फिल्म हलमा कमै देखिने शरद निशाद्वारा अभिनित चलचित्र हेर्न काठमाडौंका मल्टिप्लेक्समा जान थाले । दुई सेलिब्रेटीका कुरा मिडियामा नआउने कुरै भए । दुवै स्टारले राम्रो साथी र एक–अर्काका प्रसंशक भएको ओठे जवाफ बाहिर दिन थाले । भित्र–भित्रै प्रेम सम्बन्ध बलियो हुँदै गयो । अन्त्यमा, विवाह गर्ने निर्धो नै गरिछाडे ।

आजीवन क्रिकेटमै लागिरहने बताइरहन्छन्, शरद । त्यसैले होला, शरदले आफ्नो विवाहको कार्ड पनि क्रिकेटको ब्याट, बेल र स्टम्प । र साथमा बलको डिजाइन गराएका छन् । विवाहलाई लिएर दुवै उत्साहित छन् । खेलाडी र नायिकाको जोडीको प्रेम सम्बन्धबारे पढ्दै आएका पाठकहरूले विवाह गरेका देख्ने भएका छन् ।

प्रकाशित : असार १३, २०७४ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?