२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

काेसेली :: चोरिएको पुस्ता !

चेतन अधिकारी

नेपाल दसैंमा रंगिइरहँदा आफ्नोचाहिँ अस्ट्रेलिया भ्रमणको मिति थियो । ठूला सडक, अनुशासित मानिस, अधिकतम डिजिटलाइज्ड संरचना, समयलाई पछयाउने सबैको बानी, कामलाई सम्मान गर्ने साझा नीति सुरुवाती चरणमा मेरो मानसपटलमा घुसेका अस्ट्रेलियाका केही बिम्बहरू हुन् ।

काेसेली :: चोरिएको पुस्ता !

तर मैले अस्ट्रेलियालाई डेमोग्राफी, भूगोल र इथनिक कम्पोजिसनको दृष्ट्रिले विश्लेषण गर्ने प्रयन्त गरें । मान्छेका कुरा सुन्दै जाँदा म टक्क अडिएँ ‘एबोरजिनल’ मा पुगेपछि ।

झापाको दमक–१३ मा घर भई आधा दशकदेखि सिड्नी बसेका प्रकाश पौडेलले मलाई एक दिन गाडी यात्रामा सुनाएका थिए, अस्ट्रेलियाको आदिवासी समुदाय एबोरजिनलका बारेमा । सन् १८७७ मा क्याप्टेन कुकले यो भूमि पत्ता लगाउनुभन्दा वर्षौंअघिदेखि यहाँको माटोमा कब्जा जमाएर बसेका एबोरिजिनलहरूले बेलायतको उपनिवेशसँग हारेका थिए । आप्रवासीहरूको प्रवेशले एबोरजिनलले आफ्नो मौलिकतामा अतिक्रमण भएको ठाने । तैपनि उनीहरू मूल सहरबाट पाखा लाग्दै आफ्नो जिन्दगी उसैगरी गुजार्दै थिए । उनीहरू माटोको टीका र रूखपातका लुगा लाउँथे । उनीहरूको भाषा अंग्रेजी थिएन, अहिले पनि छैन । कैयौंको उतारचढावपछि एबोरजिनलहरू अल्पमतमा परे । राज्यले उनीहरूलाई आरक्षणसहितका विभिन्न सुविधा दियो । बिस्तारै उनीहरू त्यसैमा रम्न थाले । सरकारले मोजमस्ती गर्न पुग्ने गरीको ‘एबोरजिनल’ भत्ता दिएपछि उनीहरू यसमै रम्दै छन् । उनीहरूका बस्तीमा विद्यालय खोलिएको छ तर कक्षा कोठा खाली छन् । उनीहरूका बस्तीमा सडक पुगेको छ तर त्यहाँ पैदलयात्री मात्र छन् । स्वास्थ्य संस्था खुलेका छन् तर त्यहाँ स्वास्थ्यकर्मी मात्र छन् ।

यो सन्दर्भले मलाई थप जिज्ञासा पलायो । आप्रवासीको आगमनपछि आदिवासी कतै न कतै संक्रमणमा त पर्छन् । तर आप्रवासीहरूले ल्याएका ज्ञान र सीपमा समाहित हुने कोसिस गरे भने त त्यो स्वयं आदिवासीको पनि हितमा नै हुन्छ । अनि सम्झें नेपालमा चलेको आदिवासी अधिकारको आन्दोलन र विभिन्न नाममा राज्यबाट नगद सुविधाको अपेक्षासहितका मागहरू । आखिर राज्यले सजिलै उपलब्ध गराउने पैसाले कसैको सशक्तीकरण हुँदो हो त एबोरजिनलहरू किन आज पनि २ सय वर्षअघिकै अवस्थामा हुन्थे होलान् । उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनुको साटो सरकारले किन उनीहरूलाई आरक्षण वा नगद सुविधाको बन्दोबस्त गरिदियो ? वा, हाम्रोमा जस्तै आरक्षण वा विशेष प्रकारका सुविधा केही समयका लागि भनिए पनि एबोरजिनलले नमानेपछि यसलाई निरन्तरता दिइएको हो ?

अर्को एक दिन अस्ट्रेलियाको राजधानी क्यानबेरा जाने मेलो मिल्यो । सिड्नीबाट करिब २ घण्टाको दूरीमा रहेको राजधानी सहर जाँदा बाटामा आँखाले भ्याएसम्मका नागी, मरुभूमि र दाम्लाबिनाका गाईगोठ (ओपन यार्ड) प्रशस्त देखिए । तर मेरो मनलाई यिनले भन्दा एबोरजिनलले खिचेको थियो । मैले पुन: जिज्ञासा राखें, ‘किन यस्तो समृद्ध देशको सुन्दरतामा दाग लाग्ने गरी यहाँका एबोरजिनल पछाडि परेका/पारिएका हुन् त ?’ 

सँगै यात्रा गरिरहेका व्यवसायी गोवा कटुवालले प्रकाशले जस्तै इतिहास सुनाए । एबोरजिनलको कथा सुनाइरहँदा उनले एउटा शब्दावली प्रयोग गरे, ‘स्टोलन जेनेरेसन ।’ मेरो जिज्ञासामा उनले उक्त चोरिएको पुस्तासम्बन्धी कथा सुनाए— 

अस्ट्रेलियामा आफ्नो प्रभुत्व जमाउन अंग्रेजहरूले एबोरजिनलहरूलाई मारेनन् मात्र यहाँको एउटा उमेर समूहलाई नै खोसेर आफ्नो कब्जामा राखे । कति बाबुआमालाई मारे । कतिलाई लखेटेर छोराछोरी खोसे । बारीमा खेल्दै गरेका छोराछोरी हराए । यस क्रममा करिब १ लाख बालबालिकालाई एबोरजिनलका काखबाट खोसिएको दाबी छ । आँखैअगाडिबाट खोसिएका छोराछोरीलाई एबोरजिनलले खोजेनन् । रोएर उनीहरूको सम्झना गरे । बाटोमा खेल्न गएका, बारीमा काममा गएका वा निदाएका बेला हराएका बालबालिकाका बाबुआमा वर्षौंसम्म तड्पिए । ती चोरिएका बालबालिकालाई आप्रवासीले आफूसँग राखे । आफ्नो भाषा सिकाए, संस्कार सिकाए र उनीहरूको भनाइमा कथित असभ्यपनबाट सभ्यताको संस्कारमा हुर्काए, बढाए र पढाए । यो क्रम सन् १८०० देखि १९६० सम्म रहेको पाइन्छ । गोवाले थपे, ‘एबोरजिनल समुदायमा अहिले पनि एउटा जेनेरेसन ग्याप छ । कि बालबालिका मात्र छन् किन बूढाबूढी मात्र । बीचको पुस्ता उही स्टोलेन जेनेरेसन हो । चोरिएका अश्वेत वर्णका बालबालिका अब स्वेत वर्णका बेलायतीहरूसँग हुर्किन थाले । समयान्तर, अपूर्व सुविधा र प्रविधिले स्टोलेन बेबीहरू अब एड्भान्स एडल्ट हुँदै गए । उनीहरूले आफ्ना बाबुआमा बिस्तारै बिर्संदै गए र आप्रवासी बाबुआमासँग रत्तिन थाले । उनीहरूकै संस्कार अपनाउन थाले । उनीहरूको बोलीचालीको भाषा अंग्रजी हुन थाल्यो । लुगा लगाउनु, स्कुल जानु ती बालबालिकाको दैनिकी बन्न थाल्यो । आफ्ना बाबुआमासँग लागेर जंगलमा सिकार गर्ने दैनिकी उनीहरूका लागि अब मनोरञ्जनका कथा बन्न थाले ।’

हामी पुग्यौं क्यानबेराको भव्य संसद्भवनमा । जहाँ ३ वटा तला पार्किङका लागि छुट्याएको रहेछ । ५ हजार कोठा भएको यस भवनमा विभिन्न संसद् र पार्टी नेतासँग भेटघाट भयो । एबोरजिनलका बारेमा मैले उनीहरूसँग पनि जिज्ञासा राखे । उनीहरू सबैको स्वीकारोक्ति थियो— एबोरजिनल यहाँका आदिवासी हुन् । उनीहरूको हामी सम्मान गर्छौं । यो उनीहरूको भूमि हो ।’

मैले एबोरजिनललाई भेट्ने चाहना राखें । तर चाँजोपाँजो नमिल्ने भयो । एबोरजिनलहरूको बस्तीमा जाँदा केही खतरा हुने, उनीहरूले फोटो खिच्दा आक्रमण गर्नेजस्ता घटना थुप्रै दोहोरिएका दृष्टान्त सुनाइए । ‘किन फोटो खिच्न नदिएको त ?’ मैले सोधें । यसको खास जवाफ पाइनँ । तर यो कुराले मलाई मेरो पत्रकारिताको सुरुवाती दिनमा धनकुटा जिल्लामा आठपहरिया राई समुदायको बस्तीमा समाचार संकलन गर्ने क्रममा फोटो खिच्न लाग्दा मलाई लखेटेको घटना सम्झें । फोटो खिच्न नमान्नुको कारणमा उनीहरू भन्थे, ‘हाम्रो दुरवस्था देश दुनियाँलाई देखाएर तिमीहरू पैसा कमाउँछौ । हामीहरू जस्ताको तस्तै ।’ 

सिड्नी बसाइको अन्तिम दिन विश्वको सातौं आश्चर्यमध्येको एक ओपेरा हाउस हेरेर फर्कंदै गर्दा समुद्री किनारामा एउटा अजंगको मानिस देखियो । जीउभरि खरानी घसेको, पातसरीका जंगली लहराले बेरिएको त्यो मानिस देख्नेबित्तिकै प्रकाशले चिनाए— एबोरजिनल । ओहो छेउमा अर्का एक दारीवाल गोप्य अंगबाहेक सबै नांगै, गीत गाउँदै पैसा मागिरहेका । मैले उनको फोटो खिच्ने चाहना राखें । जंगली लहरा बेरेको एबोरजिनलले सहमति जनाए, एक डलर तिर्नुपर्ने सर्तमा । म एक डलर तिर्न सहमत भएँ । केही फोटो खिचिसकेपछि छुटिने बेलामा उसले भन्यो, ‘थ्याङ्क यु, नमस्ते !’ उसले नमस्ते भनेको सुनेपछि मैले प्रकाशलाई भनें, ‘नक्कली एबोरजिनल हो कि के हो ?’ उनले जवाफ दिए, ‘वर्षौंदेखि यहाँ बसेर माग्ने काम गरेकाले उसले नेपालीलाई पहिचान गरिसकेको छ । त्यससँगै उसले नेपाली नमस्ते भन्ने पनि जानेको हो ।’ छेउमा भएको अर्को दारीवाल एबोरजिनललाई एक डलर तिरेर पूर्वमन्त्री आनन्द पोख्रेलले (हेर्नुहोस् तस्विरमा) फोटो खिचाए । हात मिलाए ।

सिड्नीबाट ब्रिसबेन आइयो । त्यहाँ पनि मैले एबोरजिनल फलोअप गर्न छोडिनँ तर एबोरजिनलका बिषयमा खास नौला कुरा पत्ता लगाउन सकिनँ । तेस्रो सहर मेलवर्न पुगियो । त्यहाँ पनि जसको गाडीमा चढें उसैलाई एबोरजिनलका बारेमा सोधेर हैरान पारें । एकथरीको भनाइ थियो— एबोरजिनलहरू अस्ट्ेरलिया महादेशका भूमिपुत्र हुन् । इतिहासको कुनै कालखण्डमा गोरा जातिबाट यिनीहरूको कत्लेआम गर्ने प्रयास भएकै हो । केही समयदेखि यहाँको सरकारले एबोरजिनललाई फकाइ फुल्याइ गर्नका लागि विभिन्न खालका सुविधा बाँड्न थाल्यो । जसले गर्दा कमाएर खानुपर्छ भन्ने मानसिकता यिनीहरूको दिमागबाट हट्दै गयो । तर वर्षौंपछि पनि एबोरजिनलहरू शिक्षित हुन सकेनन्, रोजगार हुन सकेनन्, आधुनिक हुन सिकेनन् र उनीहरू क्रमश: परनिर्भर हुँदै गए । यसबाट उनीहरू विकासको मूलधारमा आउने सम्भावनाबाट झन् टाढा–टाढा हुंदै गएका हुन् ।’

अर्काथरीको भनाइ रहेछ, राज्यको नीति नै एबोरजिनलहरूलाई यसैगरी भत्ता दिएर अलमल्याउने, आरक्षण दिएर भुल्याउने छ, ताकि उनीहरूले नीति, निर्माण तहमा आएर आफ्नो पुरानो हकभोग खोजेर लफडा नगरुन् । अहिले पनि अस्ट्रेलियाका दूरदराजमा करिब ३ लाख जनसंख्या एबोरजिनलको रहेछ । यो समुदायबाट ५ जना सांसद जनप्रतिनिधिको रूपमा चुनिएका रहेछन् ।

प्रकाशित : माघ ८, २०७३ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?