बजेट २०७८/७९ : सुनकोसी–मरिण डाइभर्सनलाई साढे २ अर्ब 

आयोजनाबाट तराईका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

जेष्ठ १७, २०७८

राजकुमार कार्की

सिन्धुली — राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन आयोजना निर्माणका लागि आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । चालु आवमा पनि २ अर्ब ४६ करोड रुपैयाँ नै बजेट विनियोजित भएर खर्च हुन सकेको छैन ।

चालु आवको विनियोजित रकममध्ये थोरै अंश मुआब्जा तथा अस्थायी भौतिक संरचना निर्माणमा खर्च भए पनि सुरुङको काम हुन सकेको छैन । आव २०७६/७७ मा आयोजनाका लागि २ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजित भई मुआब्जा र सर्भेमा खर्च गरिएको थियो ।

सुरुङ निर्माणका लागि आयोजनाले चाइनिज कम्पनी कोभेकलाई ठेक्का दिएको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर विश्वबन्धु केसीका अनुसार कोभेकले काम सुरु गर्नका लागि कमलामाई नगरपालिका २ को कुसुमटार मरिणखोलानजिक पावर हाउस स्थलमा अस्थायी क्याम्प निर्माण गर्न जग्गा लिजमा लिने काम सकेको छ । कोभेकले ११ अर्ब रुपैयाँमा सुरुङ निर्माणको ठेक्का सकारेको थियो । सोही स्थानमा प्रधानमन्त्री केपी ओलीले गत फागुन २० गते सुनकोसी–मरिण डाइभर्सन आयोजनाको शिलान्यास गरेका थिए । इन्जिनियर केसीका अनुसार तीन आर्थिक वर्षमा गरेर सरकारबाट ६ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । हालको बजार मूल्यअनुसार आयोजनाको लागत ४६ अर्ब रुपैयाँ रहेको छ ।

आयोजनाका इन्जिनियर सुनील चौधरीका अनुसार रामेछापमा प्रभावित स्थलको मुआब्जाको काम भइरहेको छ । सिन्धुलीतर्फको खुर्कोट र कुसुमटारमा अधिग्रहण गरेका जग्गाको सीमांकन गर्ने काम भइरहेको छ । उनले भने, ‘कोरोना महामारीका बीच पनि हामीले काम जारी राखेका छौं ।’ आयोजना समयमा सम्पन्न गर्नका लागि लगानीकर्ताको खोजीसमेत भइरहेको छ । एसियन एक्जिम बैंकसँग कुराकानी भइरहेको पनि सीडीई केसीले बताए । उनले भने, ‘नेपाल सरकारले विनियोजन गर्ने बजेटले मात्र नपुग्ने हुनाले विदेशी लगानीकर्ताहरूसँग कुराकानी अगाडि बढेको छ, सम्भवतः एक्जिम बैंक नै हुन्छ होला ।’

सुनकोसी–मरिण डाइभर्सन निर्माणका क्रममा बीपी राजमार्गको ९ सय ५० मिटर सडक डुबानमा पर्ने भएको छ । आयोजनाको बाँधस्थल सुनकोसी गाउँपालिका ७ को कानढुंग्रीनजिकको बीपी राजमार्ग डुबानमा पर्ने भएको हो । सडक डुबानमा परेपछि २ हजार तीन सय मिटर नयाँ सडक निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । त्यस्तै खुर्कोट मन्थली सडक ३० मिटर डुबानमा पर्ने भएको छ । आयोजना निर्माणका क्रममा १ हजार ५ सय ८८ मिटर ग्रामीण सडक, १.२७ किलोमिटर विद्युत् प्रसारण लाइन र दुईवटा झोलुङ्गेपुल डुबानमा पर्ने जनाइएको छ ।

१२ मिटर उचाइको बाँधबाट रामेछाप र सिन्धुलीको ३ सय १२ हेक्टर जमिन डुबानमा पर्नेछ । आयोजनाको मुख्य उद्देश्य तराईका बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ । आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ भने

सुनकोसी–मरिण–डाइभर्सनपछि ८० हजार हेक्टर थप जमिनमा सिँचाइ सुविधा पुग्ने देखिएको छ । आयोजनाअन्तर्गत सुनकोसी गाउँपालिका–७ को कानढुंग्रीनजिक सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी १३.१ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । ६६ मिटर हेडेटबाट पानी झारेर २८.६२ मेगावाट विद्युत् उत्पादन गरिने छ ।

उत्पादित विद्युत् ३७.२ डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडअन्तर्गत ढल्केबर सबस्टेसनमा जोडिने आयोजनाले जनाएको छ । वर्षैभरि एउटै रफ्तारमा विद्युत् उत्पादन हुने भएकाले करिब ८३ मेगावाट हुने बताइएको छ ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully