चितवनका ३ जना नर्स काेराेनामुक्त

भाद्र १६, २०७७

रमेशकुमार पौडेल

चितवन — भरतपुरको एक निजी अस्पतालका ३ जना नर्ससहित ५ जना कोरोना निको भएर मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन ३२ गते भरतपुर सेन्ट्रल अस्पतालका चिकित्सक, नर्स तथा सबै कर्मचारीको पीसीआर परीक्षण हुँदा ३ नर्ससहित सो अस्पतालका ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १४ गते फेरि पीसीआर गर्दा उनीहरु संक्रमणमुक्त भएको अस्पतालका चिकित्सक डा.सशांककुमार सिंहले बताए ।

‘उहाँहरुलाई एक हप्ता होम क्वारेन्टाइनमा बस्ने गरेर आज मंगलबार अस्पतालबाट डिस्चार्ज गरेका छौं’ डा.सिंहले भने । उनीहरु ५ जनामध्ये २ जनामा कुनै लक्षण देखिएको थिएन । ३ जनामा भने सामान्य लक्षण देखिएको थियो । चितवनमा आज मंगलबार दिउँसोसम्म डिस्चार्ज भएका ५ जनासहित कुल १ सय ५४ जना कोरोना संक्रमणमुक्त भएको चितवन जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएको छ । 

कार्यालयका अनुसार जिल्लामा संक्रमितको संख्या मंगलबार दिउँसोसम्म ७५५ पुगेको छ । जिल्लामा मंगलबारसम्म कुल १७ जना संक्रमितको निधन भएको छ । तीमध्ये नौजना चितवनका हुन् । चितवनमा निधन हुने बाहिरी जिल्लाका संक्रमितमध्ये मकवानपुर हेटौंडाका चारजना, कैलाली, गोरखा, बारा र नवलपुरका एक/एकजना रहेका छन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully