फेब्रुअरी १ (१९ माघ, २०२३)जब म मेरा राजनीतिक गतिविधिलाई मभित्रको उत्प्रेरणा हेर्नका लागि पुनरवलोकन गर्छु, त्यतिखेर म एउटा अचम्मको निचोडमा पुग्छु । म एक क्रान्तिकारी (रिभोल्युसनरी) होइन, तर विद्रोही (रिबेल) हुँ । कुनै तरिका वा संस्थाप्रतिको अधैर्यलाई मनस्थितिमा स्थापित गरेको मेरो चरित्रमा विद्यमान आलस्यले हो । मैले व्यवस्थित तरिकाले काम गर्न नसक्नुको कारण यही हो भन्ने आफैं स्वीकार गरिसकेको छु ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) ले लेखेका साहित्य र उनका राजनीतिक विचारहरूका संग्रह थुप्रै छापिएका छन् । ती अद्यापि खोजी–खोजी पढिन्छन् । उनका अप्रकाशित र सहज अप्राप्य लेख–रचना अझै आक्कल–झुक्कल पढ्न पाइन्छन् । प्रस्तुत लेख ५० वर्षअघि (२०३० सालमा) भारतबाट प्रकाशन हुने हिन्दी भाषाको प्रमुख साप्ताहिक म्यागेजिन ‘दिनमान’ मा छापिएको थियो, जतिखेर उनी भारतमा निर्वासित जीवन बिताइरहेका थिए । उनको स्मृति दिवसको छेकोमा पूर्वसैनिकमाथि ‘दिनमान’ मा प्रकाशित उनकै लेखको अनुवाद :