तीन जिल्लामा नयाँ नेतृत्व

कान्तिपुर संवाददाता

म्याग्दी — परिणाम घोषणा भएका ४ नम्बर प्रदेशका मनाङ, मुस्ताङ र म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । विजयी सबैका लागि प्रतिनिधिसभा सदस्य हुन पाएको यो पहिलो अवसर हो ।

परिणाम घोषणा भएका ४ नम्बर प्रदेशका मनाङ, मुस्ताङ र म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । विजयी सबैका लागि प्रतिनिधिसभा सदस्य हुन पाएको यो पहिलो अवसर हो । 
मनाङबाट स्याउ कृषक पोल्देन छोपाङ गुरुङ, मुस्ताङबाट निर्माण व्यवसायी प्रेमप्रसाद तुलाचन र म्याग्दीबाट भूपेन्द्रबहादुर थापाले जितेका छन् । यी तीनै जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एउटा/एउटा मात्रै सिट हो । 
म्याग्दीमा प्रदेशसभाका पनि सबै सिट वाम गठबन्धनका उम्मेदवारले जितेका छन् । प्रतिनिधिसभा सदस्यमा विजयी एमालेका केन्द्रीय वैकल्पिक सदस्य भूपेन्द्रबहादुर थापाले २३ हजार ३ सय ८ मत प्राप्त गरे । उनका निकटतम प्रत्याशी कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९ सय ८० मत पाए । बेलायती सेनाका पूर्वलाहुरे एवं कांग्रेस जिल्ला सभापतिसमेत रहेका गर्बुजा ०७० को संविधानसभा चुनावमा पनि एमालेकै नवराज शर्माबाट पराजित भएका थिए ।
प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका विनोद केसीले राप्रपाका भीमप्रसाद गौचनलाई २ हजार ५ सय २९ मतान्तरले पराजित गरे । केसीले १४ हजार ७ सय ४ र निकटतम प्रत्याशी गौचनले १२ हजार १ सय ७५ मत प्राप्त गरेका छन् । गौचनलाई यो चुनावमा कांग्रेसले सघाएको थियो ।
प्रदेशसभा ‘ख’ मा एमालेकी नरदेवी पुन १० हजार ८ सय ७२ मतसहित विजयी भएकी छन् । निकटतम प्रत्याशी कांग्रेसका अमलाल फगामीलाई २ हजार ८ सय ७८ मतले पछि पारिन् । भारतीय सेनाका सेवानिवृत्त क्याप्टेन फगामीले ७ हजार ९ सय ९० मत प्राप्त गरे ।


किसान नेता 
प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता भूपेन्द्रबहादुर थापा बेनी १ रत्नेचौरका सामान्य कृषक परिवारका हुन् । उनी सरल र इमानदार छविका मानिन्छन् । पञ्चालयतकालदेखि विद्यार्थी राजनीतिमा लागेका उनी २०४७ पछि बढी क्रियाशील र संगठित भएर माले हुँदै एमालेमा लागेका हुन् । 
प्रमाणपत्र तहसम्मको अध्ययन गरेका उनी ०४८ मा म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा विजय भएदेखि साना–ठूला पार्टीगत चुनावमा पराजित भएका छैनन् । उनी एमालेको युवा संघको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य पनि भएका थिए । पार्टीको जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष पनि भएका हुन् । ०५४ को स्थानीय निकाय चुनावपछि जिविस उपसभापतिसमेत भएका थापा ०५६ मा माले–एमाले विभाजन हुँदा मालेको नेता भएका थिए । एकतापछि धौलागिरि अञ्चल सदस्य हुँदै हाल एमाले केन्द्रीय वैकल्पिक सदस्य छन् । 


यस्ता छन् प्रदेशसभाका विजयी
माओवादी केन्द्रका जिल्ला सदस्य बेनी ८ का ३० वर्षीय विनोद केसी सहिद परिवारका सदस्य हुन् । उनका दाजु मदन द्वन्द्वकालमा राज्यपक्षबाट मारिएका थिए । स्वयं विनोद पनि पक्राउपछि ९० दिन नजरबन्दमा बसेका थिए । ०६२/६३ को राजनीतिक परिवर्तनपछि मात्र उनी पार्टीगत राजनीतिमा आएका हुन् । जिल्ला खेलकुद विकास समिति पूर्वअध्यक्ष उनी जिल्लाका यातायात व्यवसायी पनि हुन् । उनका टयाक्सी र जिप बेनी–पोखरा रुटमा चल्छन् । 
म्याग्दीबाट प्रदेशसभा ‘ख’ मा विजयी एमालेकी नरदेवी पुन जिल्लाका शिक्षित महिलमध्येकी एक हुन् । उनले राजनीतिशास्त्र र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् । एमालेको महिला संघकी केन्द्रीय सदस्य उनी सामान्य कृषक परिवारकी हुन् । जिल्लामा पार्टीभित्र इमानदार मानिने उनले यसअघि पार्टीको जिल्ला नेतृत्व पनि सम्हालेको अनुभव छ । ०४३ देखि विद्यार्थी राजनीतिमा जोडिएकी उनी ०४६ को परिवर्तनपछि लामो समय शिक्षण पेसासँगै राजनीतिमा सक्रिय थिइन् ।


पार्टी परिवर्तनपछि जित
मुस्ताङको प्रदेशसभामा विजयी ‘क’ की इन्द्रधारा विष्ट र ‘ख’ का महेन्द्र थकाली ४ महिनाअघिसम्म एमाले थिएनन् । दुवै वैशाख ३१ को स्थानीय तह चुनावमा गाउँपालिका अध्यक्षमा उठेर पराजित भएका थिए । निर्वाचनपछि दुवैजना एमालेमा प्रवेश मात्रै गरेनन्, प्रदेशसभा सदस्यमै विजयी भए । दुवैजनाले चुनाव जसरी पनि जित्ने दाबी गर्दै वाम गठबन्धनलाई रिझाएर टिकट पाएका थिए । विष्ट र थकालीले प्रदेशसभातर्फ विजयी भएपछि मुस्ताङमा पहिलोपटक वाम घटकले वर्चस्व कायम गरेको छ ।
४४ वर्षीय विष्ट उपल्लो मुस्ताङ भनिने लोमान्थाङका बासिन्दा हुन् । उनले उपल्लो मुस्ताङमा बसेर सामाजिक काम गर्दै आएका छन् ।