गगन थापालाई लक्षित गरेर चपली हाइटमा बम विस्फोट, थापासहित १२ घाइते (अपडेट)

जनकराज सापकोटा, अतुल मिश्र

काठमाडौं — नारायणस्थानस्थित चपली हाइटमा काठमाडौं– ४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोटन गराउँदा थापासहित १२ जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

नारायणस्थानस्थित चपली हाइटमा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोटन गराउँदा थापासहित १२ जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर, दुईजनाको गम्भिर र सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । 

शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख प्रा. डा. प्रतापनारायण प्रसादका अनुसार गगन थापालगायत अन्य १२ जना घाइतेलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । थापाको पिठ्युमा सामान्य चोट लागेको देखिएको छ । एक्सरेलगायतका थप परीक्षण पछि उनी घर फर्किएका छन् ।    

'घाइते मध्ये दुई जनालाई गम्भीर र अन्यलाई सामान्य चोट लागेको छ,' डा. प्रसादले भने, 'उहाँहरु सबैलाई ब्लाष्ट इञ्जुरी हो ।' गम्भीर घाइते मध्ये श्याम श्रेष्ठको अबस्था जटिल छ । उनलाई मनमोहन कार्डियो थोरासिक भाष्कुलर सेन्टरमा भर्ना गरिएको छ । काजी श्रेष्ठलाई घुँडाको जोड्नी भाँच्चिएको छ । त्यसको शल्याक्रिय गर्ने तयारी भइरहेको छ । 

अन्य घाइतेहरु जयराज लामिछाने, राजकाजी श्रेष्ठ, रेणु भरुवाल, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, सुमन खड्का, रविन्द्र कार्की, काशिलाला श्रेष्ठ, पर्शुराम थापालाई डिस्चार्ज गर्ने तयारी भइरहेको पनि डा. प्रसादले जानकारी दिए । 

नेपाल प्रहरी काठमाडौं परिसर प्रमुख एसएसपी राजेन्द्र धानुकले गगन थापालाई बमको छर्रा लागेको जनाकारी दिए ।


 

कांग्रेस नेता तथा गगन थापा ससुरा अर्जुनरसिंह केसी घाइतेहरुको भेट्न शिक्षण अस्पताल जाँदै । तस्बिर : कविन अधिकारी/कान्तिपुर । 

तस्बिरहरु : कबिन अधिकारी