७३ प्रतिशत मतदान, यसअघिको सहभागिता पनि यस्तै

राजेश मिश्र

काठमाडौं — स्थानीय तहको आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा कम्तीमा ७३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८१ गाउँपालिका र नगरपालिकाको निर्वाचन केही स्थानमा छिटपुट घटनाबाहेक शान्तिपूर्वक भएको छ ।

अन्य दुई स्थान मनाङको नारफु गाउँपालिका र डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाका सबै पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । 

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदाताको व्यापक सहभागितामा उत्साहजनक ढंगले मतदान भएको बताए । ‘मतदानमा युवापुस्तादेखि ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले उत्सुकतापूर्वक सहभागिता जनाएका छन्,’ उनले भने, ‘आजको सहभागिताले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका मतदातालाई पनि उत्साहित बनाएको हुनुपर्छ ।’

दोलखाको मेलुङमा प्रहरीको गोलीबाट एक व्यक्तिको मृत्यु र केही घाइते भएका छन् । त्यहाँ बुथकब्जाको प्रयास भएपछि गोली चलाइएको प्रहरीले जनाएको छ । प्रमुख आयुक्त यादवले मतदानका दिन सुरक्षाकर्मीको कारबाहीमा एकजनाको निधन भएको घटनाप्रति दु:ख व्यक्त गर्दै स्थगित भएका स्थानहरूमा पुन: मतदानको मिति तोकिने बताए । काभ्रे, रामेछाप, हुम्ला, सिन्धुपाल्चोक र कालिकोटका कतिपय मतदान केन्द्रहरूमा पनि केहीबेर झडप र तनाव भएको थियो । 

आयोगले ६ हजार ६ सय ४२ मतदान केन्द्रमध्ये तीन स्थानको मतदान स्थगित भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिकाको वडा नं. ४ को मतदान केन्द्र, कालिकोट कालिका गाउँपालिकाको बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान विवादमा परेको र दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर माविमा रहेको मतदान केन्द्रको मतदान स्थगित भएको छ । 

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको भोटसिपास्थित चण्डेश्वरी माविस्थित मतदान केन्द्रमा बिहान ११ बजे भएको तनावपछि थप मतदान हुन सकेन । त्यहाँका १ हजार ९ सय मतदाता रहेकोमा ७  सय मत खसेको छ । दिनभरिको प्रयासपछि पनि राजनीतिक दलबीच सहमति जुट्न नसकेपछि मतदान कार्य त्यहाँ बढ्न नसकेको हो । उक्त गाउँपालिकाका निर्वाचन अधिकृत हरि बखतीले मतदान अधिकृतको प्रतिवेदनपछि मात्रै त्यहाँको मतदानबारे निर्णय लिइने बताए । 

काभ्रेको नमोबुद्धमा मतदानको अघिल्लो राति गोली लागेर एकजनाको मृत्यु भएको घटनालाई लिएर वडा नं. ४ मा मतदान नै सुरु हुन सकेन । स्थानीयले सशस्त्र प्रहरीको गोलीबाट निर्दोष सर्वसाधारणको हत्या भएको भन्दै दोषीलाई पहिचान गरी कारबाही हुनुपर्ने माग राखेका छन् । 

कालिकोटको नरहरिनाथ गाउँपालिकाको माल्कोटको नन्दादेवी माविमा मतदानपछि मतपेटिका केन्द्रमा ल्याउने क्रममा लुटिएको प्रहरीले जनाएको छ । 

२० वर्षअघि वि.सं. २०५४ सालको जेठ महिनामा भएको निर्वाचनपछि स्थानीय निर्वाचन भएको थिएन । संविधानसभाले जारी गरेको संविधानअनुसार स्थानीय निकाय पुन: संरचना भई स्थानीय सरकारमा परिणत भएका छन् । संविधानले अधिकारसम्पन्न बनाएको स्थानीय तहको निर्वाचन भएको हो । 

साविकका २ सय १७ नगरपालिका (महानगर/उपमहानगरसहित) र ३ हजार १ सय ५७ वटा गाविसहरू संविधानअनुसार पुन:संरचना गरिएपछि ७ सय ४४ वटा स्थानीय तहमा परिणत भएका छन् । पहिलो चरणमा ४ महानगर, १ उपमहानगर, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा निर्वाचन भएको छ । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा–लेखनाथ चारवटै महानगरपालिकामा निर्वाचन सम्पन्न भएको छ ।

प्रदेश नम्बर १, २, ५ र ७ का बाँकी ४ सय ६१ गाउँपालिका र नगरपालिकाको निर्वाचन एक महिनापछि जेठ ३१ गतेका लागि तोकिएको छ । छोटो समयमा तयारी गरी पहिलो चरणको मतदान सम्पन्न गराउन सफल भएकोमा प्रमुख आयुक्त यादवले खुसी व्यक्त गरे । मतपत्र ठूलो हुनु र मतदाता शिक्षा पर्याप्त दिन नसकेको विषयमा आयोगले कमजोरी स्वीकार गरेको छ । 

‘बेलैमा राजनीतिक सहमति कायम नहुँदा उत्पन्न अन्योल र छोटो समयमा गरिएको तयारीप्रति आयोग सन्तोष व्यक्त गर्दछ,’ पत्रकार सम्मेलनमा यादवले भने, ‘व्यापक मात्रामा मतदाता शिक्षा प्रदान गर्न समय कम भएकै हो ।’ उनले मतदान कार्यलाई सफल बनाउन खटिएका कर्मचारी, सुरक्षाकर्मी सहयोग पुर्‍याउने नेपाल सरकार र विदेशी दातृ निकायप्रति धन्यवाद व्यक्त गरेका छन् । 

मतगणना रातिबाटै 
निर्वाचन आयोगले पहिलो चरणको मतदानको मतगणना तत्कालै प्रारम्भ हुने जनाएको छ । प्रमुख आयुक्त यादवले मतपेटिकाहरू सम्बन्धित गाउँपालिका वा नगरपालिकाको केन्द्रमा संकलन भएपछि मतगणना हुने बताए । ‘मतपेटिका प्राप्त भएपछि निर्वाचन अधिकृतहरूले राजनीतिक दलहरूसँग समन्वय गरेर मतगणनाको मिति र समय तोक्नु हुनेछ,’ उनले भने, ‘आइतबार राति वा सोमबार बिहानबाट मतगणना सुरु हुनेछ ।’ उनले हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका संकलनका लागि हेलिकप्टरको व्यवस्था मिलाइएको बताए । 

यसअघिको सहभागिता पनि यस्तै 
पछिल्लो एक दशकमा भएका दुईवटा संविधानसभा निर्वाचनमा पनि करिब–करिब यही अनुपातमा मत खसेको देखिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा ६१ दशमलव ७० र २०७० सालको संविधानसभा निर्वाचनमा ७८ दशमलव ३४ प्रतिशत मत खसेको थियो । मतदाता नामावलीमा नाम रहेका ठूलो संख्याका मतदाताहरू वैदेशिक रोजगारीमा भएको र गाउँमा नामावली रहेर बसोबास काठमाडौं वा अन्यत्र सहरमा रहेकाले पनि केही प्रतिशत मतदाताको सहभागिता कम हुने गर्छ । प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता परिचयपत्रको अनिवार्य प्रयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सहयोग पुगेको बताए ।