आचारसंहिता नाघ्दै दल

नगेन्द्र अधिकारी

काभ्रे — निर्वाचन आचारसंहिता र आफ्नै प्रतिबद्धताविपरीत राजनीतिक दलले चुनावी कार्यक्रममा बालबालिका खटाइरहेका छन् । प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत प्रमुख दलले नै आचारसंहिता उल्लंघन गरेका हुन् ।

निर्वाचन आचारसंहिता र आफ्नै प्रतिबद्धताविपरीत राजनीतिक दलले चुनावी कार्यक्रममा बालबालिका खटाइरहेका छन् । प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत प्रमुख दलले नै आचारसंहिता उल्लंघन गरेका हुन् । 

उम्मेदवारी मनोनयन दर्ताका क्रममा नेकपा एमाले बनेपाले ‘पञ्चकन्या’ खटाएको थियो भने धुलिखेलमा एमालेकै जुलुसमा बालबालिका झन्डा बोकेर सहभागी थिए ।

नेपाली कांग्रेसले बनेपामा, एमाले र माओवादी केन्द्रले पनौतीमा मनोनयन दर्ता गर्ने क्रममा बाजा बजाउन बालबालिकाको प्रयोग गरेको पाइएको निर्वाचन अनुगमन गरिरहेको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का जिल्ला अध्यक्ष भोजराज तिमल्सिनाले बताए । ‘जिल्लाका ठूला राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेको अवलोकनले देखाएको छ,’ उनले भने, ‘कानुनले तोकेभन्दा ठूलो आकारका प्रचार सामग्री, झन्डा, टिसर्ट आदि प्रयोग भइरहेको छ, सूक्ष्म रूपमा अनुगमन गरिरहेका छौं ।’ उनले सबै स्थानीय तहमा पर्यवेक्षक खटाएको जानकारी दिए । 

वैशाख १२ गते जिल्ला बालकल्याण समितिले आयोजना गरेको छलफलमा कांग्रेस, एमाले, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, सद्भावना पार्टी, विवेकशील नेपाली दल र नेमकिपाका प्रतिनिधिले चुनावी कर्याक्रममा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका थिए । राजनीतिक कार्यक्रम, चुनावी सभा–जुलुसमा बालबालिका सहभागी नगराउने, बालबालिकाको अध्ययन–अध्यापनमा प्रत्यक्ष असर गर्ने गरी कुनै पनि कार्यक्रम नगर्ने, विद्यालय हाताभित्र आमसभा, माइकिङ, भित्ते लेखन तथा प्रचार सामग्री नटाँस्नेलगायत विषयमा पनि दलको प्रतिबद्धता थियो । 

प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका नेपाली कांग्रेस जिल्ला सदस्य महेश पौडेलले चुनावी कार्यक्रममा बालबालिका प्रयोग नगर्न तल्लो तहसम्म निर्देशन दिएको बताए । ‘बालबालिका प्रयोग गराउन हुँदैन भन्नेमा दृढ छौं,’ उनले भने, ‘मनोरञ्जनका लागि बालबालिका आफैं सहभागी भएको भए त्यो अलग्गै कुरा हो ।’

एमालेका तर्फबाट हस्ताक्षर गर्ने एमाले जिल्ला सचिवालय सदस्य शान्ता न्यौपानेले बालबालिका रहरले सहभागी भएको बताइन् । ‘पार्टी र महिला संघको भेलामा हामीले बालबालिका प्रयोग नगर्न भनेका छौं तर आमाबुबाको साथ लागेर बालबालिका आउने रहेछन्,’ उनले भनिन्, ‘दबाबमा वा राजनीतिक चेतनाका कारण होइन ।’ 

अधिकार अनुगमन समितिका सदस्यसचिवसमेत रहेका बालकल्याण समितिका सूचना व्यवस्थापन अधिकृत सरोज नेपालले आचारसंहिता उल्लंघनका घटनाको सूक्ष्म रूपमा अनुगमन गरिरहेको बताए । मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले अनुगमन अधिकारी खटाएको भन्दै उल्लंघन भएको पाइए कारबाही गर्ने जानकारी दिए । उल्लंघन भएको थाहा पाए उजुरी दिन पनि उनले आग्रह गरे । 

अनुगमन समितिमा राजनीतिक अनुहार
केन्द्रीय बालकल्याण समितिको निर्देशिकाविपरीत गठित जिल्ला निर्वाचन बालअधिकार अनुगमन समितिमा राजनीतिक पृष्ठभूमिका गैरसरकारी संस्थाका प्रतिनिधि मात्रै सदस्य छन् । निर्देशिकाअनुसार समितिमा बालअधिकारका क्षेत्रमा क्रियाशील संस्था, सञ्चारकर्मी तथा अन्य पर्यवेक्षणमा संघसंस्थासमेत संलग्न गराउनुपर्नेमा गैससका प्रतिनिधि मात्रै राखिएको छ । बालकल्याण अधिकारीले संयोजन गर्ने भनिए पनि बैठकबाट त्यसबारे स्पष्ट निर्णय भएको छैन । समितिमा सदस्य राखिएका गैरसरकारी संस्था महासंघ काभ्रेका उपाध्यक्ष टोमप्रसाद सापकोटा नेकपा एमाले क्षेत्र नं ४ का सदस्य हुन् ।

बालअधिकारको क्षेत्रमा कार्यरत गैरसकारी संस्थाको प्रतिनिधिका रूपमा समितिमा सदस्य तोकिएका अशोक खनाल एमाले निकट अनेरास्वियुका जिल्ला नेता हुन् । सामाजिक सञ्जालमार्फत एमालेका उम्मेदवारलाई भोट मागिरहेका उनी एमालेका चुनावी अभियानमा संलग्न छन् । त्यसो त जिल्ला बालकल्याण समितिमा नै राजनीतिक व्यक्तित्व छन् ।

कांग्रेस महासमिति सदस्य रहेका पार्टीका पूर्वजिल्ला सचिव रामकुमार मुल्मी बालकल्याण समितिका अध्यक्ष हुन् । अनुगमन समितिमा भने उनी छैनन् । सूचना व्यवस्थापन अधिकृत सरोज नेपालले प्रजिअ शिवप्रसाद सिंखडासहितको बैठकले १३ वटै स्थानीय तहमा गैरसरकारी संस्थालाई जिम्मेवारी दिने निर्णय गरेकाले सोहीअनुसार गठन भएको बताए ।