एकल कि बहुराष्ट्र ?

प्रा. पुष्प कँडेल

राष्ट्र भनेको ऐतिहासिक रूपले निर्माण भएको त्यस्तो समुदाय हो, जसमा समान खालको भौतिक जीवन, साझा भूगोल र आर्थिक जीवन, समान भाषा र आम विशेषता सहितका संस्कृति हुन्छन् ।

राष्ट्र बन्न त्यस्तो एउटा भूगोल आवश्यक हुन्छ, जहाँ साझा अर्थात् एउटै समुदायको जनसंख्या बसोबास गर्छन्, जोसँग साझा जाति, साझा भाषा र साझा संस्कृति हुन्छ, तिनीहरूबीच साझा अर्थतन्त्र रहन्छ र तिनीहरूसँग हामी एउटै हौं भन्ने साझा मनोविज्ञान रहेको हुन्छ । यसको सट्टा त्यो इकाइ निर्णयमा स्वतन्त्र हुन्छ र त्यस्तो निर्णयलाई अन्य राष्ट्रले मान्यता दिने हुन्छ । सार्वभौमिकता, स्वायत्तता, आत्मनिर्णयको अधिकार, ऐक्यबद्धता, वैधता– यसका राजनीतिक विशेषता हुन् । 

अर्कोतर्फ बहुराष्ट्र भनेको यस्तै खालका विशेषता भएका धेरै भौगोलिक इकाइहरूको अस्तित्व सिर्जना हो र ती प्रत्येक भौगोलिक क्षेत्रमा अलग—अलग खालका जाति, भाषा, संस्कृति, अर्थतन्त्र र मनोविज्ञान हुन्छन् । बहुराष्ट्र निर्माणको लागि एउटा देशलाई जातीय संघीयतामा लगिन्छ, अलग—अलग क्षेत्रमा अलग—अलग भाषा बोल्नुपर्ने स्थिति सिर्जना गरिन्छ, विभिन्न भौगोलिक क्षेत्रको परनिर्भरताको स्थितिलाई कटौती गरिन्छ, विभिन्न जातजाति र समुदायबीच रहेका सद्भाव बिथोल्न, एउटा समुदायलाई अर्कोको विरुद्ध भड्काइन्छ र मर्न–मार्नसमेत पछि नपर्ने स्थिति सिर्जना गरिन्छ । मिश्रित बसोबास भएको देशमा एउटा भौगोलिक क्षेत्रबाट अर्को समुदायका मानिसलाई लखेट्नु बहुराष्ट्रवादको मूल विशेषता रहन्छ । बहुराष्ट्रिय देशको नियति राष्ट्र विखण्डनसम्म हुने गर्छ । एउटा देशभित्र एउटै राष्ट्रिय पहिचान भएको, एकाकार, दु:खसुख बाँडचुँड गर्ने र एउटालाई लागेको चोट अरूलाई पनि दुख्ने अवस्था सिर्जना गर्ने अवस्था निर्माणको कामलाई राष्ट्र निर्माण भनिन्छ । यसभित्र मूलत: विविधतायुक्त र कहिलेकाहीं त एकआपसमा वैमनस्यपूर्ण समाजबाट एकतापूर्ण समाज निर्माण गर्ने, कर्मशील राज्य निर्माण गर्ने र राष्ट्रिय परिचयको निर्माण गर्ने कामसमेत पर्छ, जुन प्रक्रियागत हिसाबले र विचारधारात्मक हिसाबले वैध हुन्छ । यो विशेषता भएको देशको निर्माण संसारका हरेक देशको चाहना हुन्छ । एउटा देशमा एउटा राष्ट्र निर्माण भइसकेपछि त्यहाँ एकआपसमा मित्रता र विश्वास हुन्छ, एउटाको समस्यामा अर्कोले सहयोग गर्ने प्रवृत्ति हुन्छ, जातीय हिंसा र वैमनस्य हुँदैन र अन्ततोगत्वा राजनीतिक स्थिरता र स्थायित्व प्राप्त हुन्छ । यसको अन्तिम परिणाम आर्थिक विकासले गति लिन पुग्छ । फ्रान्स, जर्मनी, हल्यान्ड, स्विडेन, डेनमार्क, चीन, जापान आदि राष्ट्र निर्माणको प्रक्रियाबाट गुज्रिएर आधुनिक राष्ट्र बनेका र आर्थिक प्रगति गरेका हुन् । राष्ट्र निर्माण आफैंमा जटिल काम हो । त्यसैले यसको सफलताका लागि धेरै सर्त पुरा गर्नुपर्छ र लामो समय लाग्छ । इतिहासमा राष्ट्र बनाउन जातिहत्या—हिंसा, जाति भगाऊ अभियान आदि पनि भए, तर आज त्यो बाटो स्वीकार्य छैन । लोकतान्त्रिक देशको सन्दर्भमा राष्ट्र निर्माण मूलत: लोकतान्त्रिक मूल्य—मान्यताको आधारमा हुने गर्छ । मूल्य—मान्यताको राजनीति र बलिया संस्थाहरूको निर्माणले विविधतायुक्त देशमा राष्ट्र निर्माणको काम हुनसक्छ । निश्चित मूल्य—मान्यता र संस्थाहरूको अधीनमा रहेर देशको मामिलामा एकताबद्ध अभियान नै राष्ट्र निर्माणका आधार हुन् । त्यस्ता संस्थामा आवधिक र निष्पक्ष निर्वाचन, सुशासनयुक्त समाज, बहुदलीय पद्धति, स्वतन्त्र न्याय, एकीकृत र बलिया पार्टीहरू, राष्ट्रिय भाषा र संस्कृतिको जगेर्ना आदि पर्छन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देशमा राष्ट्र निर्माण निकै जटिल विषय हुन्छ, किनभने त्यहाँभित्र विविधतामा एकता खोज्नुपर्छ र सबैले केही न केही त्याग गर्नुपर्ने हुन्छ ।नेपालमा अहिले एकल राष्ट्र निर्माण र बहुराष्ट्र निर्माणको दोहोरो तानातान छ । अहिलेका दस्तावेजहरूमा बहुराष्ट्रियताका कुरा नगरे तापनि माओवादी पार्टीहरूले आन्तरिक र बाह्य राष्ट्रवादका कुरा गरिराखेका छन्, जसले बहुराष्ट्रियतातर्फ देशलाई लैजान्छ । माओवादीका कुनै पनि घटक यो एजेन्डाबाट पछि हटेका छैनन् । नेकपा एमालेले एकल राष्ट्रको परिकल्पना गरेको देखिन्छ । संविधानले पनि नेपाललाई एक राष्ट्रको रूपमा परिभाषित गरेको छ । केही वर्ष पहिलेसम्म नेपाललाई बहुराष्ट्र बनाउने कुरामा जनजातितर्फका थुप्रै मानिस लागिरहेका थिए र जातीय राज्य मागिरहेका थिए । त्यतिबेला मधेसका अहिलेका केही नेता जातीय राज्यको विरोध गर्दै बहुराष्ट्रियतालाई अस्वीकार गरिरहेका थिए । अहिले अवस्था फरक भएको छ । धेरै हदमा जनजातिहरू नेपाललाई बहुराष्ट्रिय बनाउनु गलत काम हो भनिरहेका छन् भने तराईतिरका केही नेता भने बहुराष्ट्रको वकालत गरिरहेका छन् । सिद्धान्त पुरै परिवर्तन भएको छ र देशलाई जसरी भए पनि बहुराष्ट्रियताको भुमरीमा हाल्ने अभियन्ताहरू लागिरहेका छन् । नेपाली कांग्रेसमा यस सन्दर्भमा कुनै विचार देखिँदैन । नेपालको अहिलेको एउटा मूल समस्या भनेको देशको सबैभन्दा ठूलो पार्टी कांग्रेस र यसका मूल नेताहरू मुढोजस्तो विचारहीन हुनु हो, जसले देशलाई दिशानिर्देश गर्न सकिरहेको छैन । संविधानले नेपाललाई एउटा राष्ट्रको रूपमा परिकल्पना गरेको छ, जुन एकजना विद्वानको ‘राष्ट्र एउटा काल्पनिक राजनीतिक इकाइ हो’ भन्ने भनाइसँग नजिक छ । करिब ९२ प्रतिशत प्रतिनिधिको सहमतिमा बनाएको संविधान एउटा त्यस्तो आधार हो, जसले एकल राष्ट्र निर्माणको कामलाई गति दिन सक्छ । तर अहिले नेपाललाई बहुराष्ट्रतर्फ लैजान केही पक्ष लागिपरेका छन्, जसको अन्तिम लक्ष्य अलगावको वातावरण बनाउनु रहेको देखिन्छ । एक वा दुई मधेस निर्माण, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने कुरा, अंगीकृत नागरिकतालाई सहज बनाउने र अंगीकृतहरूलाई देशको उच्च तहसम्म प्रवेश दिने कुरा यही उद्देश्यसाथ आइरहेका छन् । बहुराष्ट्रियताले ल्याउने परिणाम कदापि सुखद देखिँदैन । किनभने एकल राष्ट्ररूपी नेपालको बहुराष्ट्रिय हिसाबको विभाजनपछि साझा नेपाली पहिचान हराउँछ । त्यसपछिको पहिचानको आधार भनेको जात—जातको र समुदायको मात्रै रहन्छ । त्यसले जातीय र साम्प्रदायिक सद्भाव खलबल्याउनुका साथै नेपालको हालको बसोबासको व्यवस्थालाई पुरै उल्ट्याउने र खास—खास जातिका मानिस खास—खास ठाउँमा केन्द्रित बनाउने देखिन्छ । यसले एकातिर भिन्न जातिका मानिसलाई खास—खास ठाउँबाट भौतिक रूपमै लखेट्ने स्थिति ल्याउनेछ भने अर्कोतर्फ बसाइँ—सराइको लागत अत्यन्त चर्को हुनेछ । बहुराष्ट्रको सिद्धान्त मान्ने बित्तिकै पुन: संविधानले अस्वीकार गरेको जातीय राज्यको अवस्थामा पुगिन्छ । त्यस्तो राज्यमा रहने अन्य जातिका मानिसले अधिकार नपाउने अवस्था आउँछ । त्यसपछि हरेक प्रदेशमा अशान्ति सुरु हुन्छ । यसले अर्थतन्त्रको विकासमा पुन: भाँजो हाल्ने अवस्था आउँछ । देश बहुराष्ट्रमा गएपछि राष्ट्रिय एकताका प्रतीक ठूला पार्टीहरू विभाजन हुनेछन् र क्षेत्रीय पार्टीहरूमात्र रहनेछन् । सबैभन्दा ठूलो कुरा त देशमा अराजकता नै आउने र विभाजनमा जाने जोखिमसमेत हुन्छ । एकात्मक देश संघीयतामा जाँदा भोग्नुपर्ने सबैभन्दा ठूलो खतरा यही हो । त्यसै भएर संसारमा एकात्मक देश संघीयतामा गएका उदाहरण बिरलैमात्र पाइन्छन् । सोभियत संघ लगायत पूर्वी युरोपका कम्युनिष्ट पार्टीले शासन गरेका देशहरू, इथियोपिया आदि देशहरू विभाजन हुनुका कारण पनि यिनै हुन् । स्मरण रहोस्, सोभियत संघ लगायतका देशहरू संविधानमा एकात्मक नभए पनि कम्युनिष्ट पार्टीहरूले शासन गरिरहेका कारणले एकात्मक हिसाबले नै चलेका थिए, किनभने कम्युनिष्ट पार्टीहरू मूलत: एकात्मक प्रकारका नै हुन्छन् । नेपालको एकता, स्थायित्व र समृद्धितर्फको यात्रालाई हेर्दा बहुराष्ट्र निर्माणको काम राष्ट्रघाती मात्र होइन, देश निर्माण र समृद्धिको लागि पनि उचित छैन । यसका विविध कारण छन् । पहिलो, नेपालमा यति धेरै विविधता छन्, ती सबैलाई राष्ट्र बनाउन सकिँदैन । दोस्रो, मधेसका केही नेताबाहेक कुनै पनि जाति वा समुदायले आफूलाई राष्ट्र दाबी गरेका छैनन् र जसले गरेका छन्, तिनीहरूको तर्कमा पनि कुनै दम देखिँदैन । तेस्रो, राष्ट्र बन्नका लागि खास जाति वा समुदाय खास ठाउँमा केन्द्रित भएर रहनुपर्छ । नेपालको कुनै पनि भागमा कुनै पनि जाति वा समुदायको त्यही हिसाबको घनत्व छैन । चौथो, राष्ट्र बन्नका लागि आवश्यक विकसित अर्थतन्त्र पनि नेपालका विभिन्न क्षेत्रमा छैन । कुनै पनि जाति वा समुदाय आफैमा आत्मनिर्भर छैन । पाँचौं, कुनै पनि ठाउँमा कसैको पनि भाषा र संस्कृति पुरै केन्द्रित छैन । छैठौं, नेपालीको कुनै पनि तप्का नेपाललाई विभाजित बनाउन चाहँदैन । धेरै राष्ट्र बनाउनु भनेको अन्ततोगत्वा धेरै राज्य बनाउनु हो भन्ने कुरा सोभियत संघ, युगोस्लाभिया आदि देशले देखाइसकेकाले नेपाली जनता त्यस्तो नियति चाहँदैनन् । कँडेल एमाले केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष हुन् ।