कसले बनाउने कुमारी घर ?

दामोदर न्यौपाने

काठमाडौं — चर्किएको कुमारी घरमै रंगरोगन गरेर टिलिक्क बनायो काठमाडौं महानगरपालिकाले । चारैतिर टेकोको भरमा राखिएको वसन्तपुरको यो घर कसले बनाइदिने भनेर अझै टुंगो लागेको छैन ।

चर्किएको कुमारी घरमै रंगरोगन गरेर टिलिक्क बनायो काठमाडौं महानगरपालिकाले । चारैतिर टेकोको भरमा राखिएको वसन्तपुरको यो घर कसले बनाइदिने भनेर अझै टुंगो लागेको छैन । 

निर्माणको जिम्मेवारी चाहियो भनेर गुठी संस्थानले कुमारी घर बनाउन माग गर्‍यो । बनाउने जिम्मेवारी पनि पाएको छ । तर स्रोत छैन भन्दै गुठी संस्थानले यसको निर्माण गर्न सकेको छैन । ‘हामी दाताको खोजीमा छौं,’ गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी भन्छन्, ‘तर भेटिएको छैन ।’

चौधरीका अनुसार गुठी संस्थानले आफ्नो स्वामित्वका कुमारी घर, साँखुको बज्रयोगिनी, रणमुक्तेश्वर मन्दिर, कालमोचन मन्दिर बाहिरको सत्तललगायत आफैंलाई बनाउन दिन माग गरेको छ । ‘पुनर्निर्माण प्राधिकरणलाई सहयोग उपलब्ध गराउन आग्रह गरेका छौं,’ चौधरीले भने । 

कुमारी राख्ने घर मल्लकालका अन्तिम राजा जयप्रकाश मल्लले बनाएका हुन् । कुमारी चलन कहिलेदेखि चल्यो भन्ने यकिन छैन । कुमारी छान्ने प्राचीन परम्परा भए पनि छानिएका कुमारी आफ्नै घरमा बस्थे । जयप्रकाश मल्लले घर बनाएपछि यहाँ राख्न थालियो । जयप्रकाश वि.सं. १७९२ मा कान्तिपुरको राजगद्दीमा बसेका थिए । यिनलाई वीर अभागी राजाको नामले इतिहासमा चर्चा गरिन्छ । जयप्रकाश मल्ल राजगद्दीमा बसेकै बेलादेखि कान्तिपुरमा गुटबन्दी र विवाद सुरु भएको मानिन्छ । 

कान्तिपुरमा विवाद भएको मौका पारेर गोरखाली राजा पृथ्वीनारायण शाहले भक्तपुरको सहयोग लिएर चाँगु, साँखु, महादेव पोखरी, दोलखाको नाल्दुमलगायत आफ्नो कब्जामा लिएका थिए । 

पृथ्वीनारायण शाहले १८१४ मै कीर्तिपुरमा पहिलो आक्रमण गरेका थिए । यो युद्धमा गोरखालीको हार भयो । काजी कालु पाण्डेसहितले वीरगति प्राप्त गरे । चारै दिशाबाट च्याप्दै ल्याएर पृथ्वीनारायण शाहले कान्तिपुरलाई नाकाबन्दी गरेका थिए । यिनको पालामा कान्तिपुरको आर्थिक अवस्था नराम्रो गरी बिग्रियो । 

आर्थिक संकट टार्न पशुपतिनाथको सुनको जलहरी र मन्दिरका गजुरसमेत मासेका थिए । यस्तो संकटको बेलामा पनि जयप्रकाशले निर्माणका काम गरेका थिए । यिनको पालामा हनुमानढोकाको न्हुच्छेचोकको भगवतीको मन्दिरमा सुनको छानो हालेका थिए । तलेजु मन्दिरभित्र आफ्नो सालिक बनाए । बालाजुमा २१ धारा निर्माण गराए । 

पछि शाहवंशीय राजा रणबहादुर शाहले एउटा धारा थपेर बाइस धारा बनाएका थिए । त्यसबाहेक थुप्रै हिन्दु मन्दिर र बौद्ध स्तूपको जीर्णाेद्धार गर्न लगाएका थिए । 

जयप्रकाश मल्लकै पालामा कुमारी घरमा तलेजुको प्राणप्रतिष्ठा गरेको संस्कृतिविद् यज्ञमानपति बज्राचार्य बताउँछन् । ‘बौद्ध विधिअनुसार अधिवाशन गरियो । हिन्दु दर्शनअनुसार विभिन्न देवीको आह्वान गरियो । शाक्त धर्मका पशुपतिनाथदेखि अन्य देवता भेला गराइयो । स्वयम्भू, हारती, बीजेश्वरी पनि भेला गराइयो’ बज्राचार्य भन्छन्, ‘जयप्रकाश आफैं उपस्थित भए । कसरी प्राणप्रतिष्ठा गरिएको थियो भन्ने कागजात मसँग अझै सुरक्षित छ ।’

कुमारी घरमा बौद्ध दर्शन र शाक्त दर्शनको प्रभाव परेको छ । यहाँ पूजा पनि हिन्दुको तर्फबाट र बुद्धिस्टको तर्फबाट हुन्छ । हिन्दुको तर्फबाट तलेजु भवानीका पुजारीले पूजा गर्छन् । बौद्धमार्गीका तर्फबाट बज्राचार्यले पूजा गर्छन् । यी दुवै पूजाको व्यवस्था गुठी संस्थानले गर्छ । 

तलेजुमा पुजारी ५ जना छन् । त्यसमध्ये ३ जनाले यहाँ पूजा गर्नुपर्छ । यो विहार जस्तो र मन्दिर जस्तो स्वरूपमा छ । ‘यहाँ पञ्चबुद्ध भगवानको मूर्ति पनि छ,’ गौतम भन्छन्, ‘त्यही भएर यसलाई धर्मकृति मनोरम महाविहार पनि भन्छन् ।’ हरेक विहार चारकुने हुन्छन् । त्यहाँ एउटा चैत्य हुन्छ ।

कुमारी घरका अधिकांश ठाउँ लङ–लङमा विभाजित छन् । कुमारी बस्ने ठाउँ, पूजाकोठालगायतमा बाँडिएको छ । ‘यी सबै चर्केका छन्,’ शाक्य भन्छन्, ‘बस्नै डरमर्दाे छ । खै टेकोको भरमा कहिलेसम्म बस्नुपर्ने हो ?’ गुठी संस्थानले भने यसको लगत इस्टिमेट तयार गरिरहेको बताएको छ ।