‘राधा’ तिहारमा आउँदै

कान्तिपुर संवाददाता

काठमाडौं — सामाजिक प्रेमकथामा आधारित भनिएको फिल्म ‘राधा’ तिहारको छेकोमा दर्शकमाझ आउने भएको छ । आइतबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको कार्यक्रममा गीतहरू पनि देखाइएको थियो ।

जीवन लुइँटेल र सञ्चिता लुइँटेलको जोडीलाई निर्देशक योगेश घिमिरेले फिल्मको पर्दामा उतारेका छन् । सञ्चिता लामो समयपछि ‘राधा’ मार्फत् टाइटल रोलमा पुनरागमन गर्दै छिन् । नायक निखिल उप्रेतीसँग विवाह गरेपछि सञ्चिता लामो समय अभिनयबाट ओझेल परेकी थिइन् । कार्यक्रममा सञ्चिताले आफ्नो पुनरागमनलाई लिएर केहीले टिप्पणी समेत गरेको बताउँदै भनिन्, ‘केहीले त्यस्ती मोटी सञ्चितालाई लिएर किन फिल्म खेलाएको समेत भनेछन् । तर कृपया पहिले फिल्म हेरिसकेपछि मेरो र मेरो भूमिकाका बारेमा टिप्पणी गरिदिनुभएमा आभारी हुने थिएँ ।’

त्यसो त सञ्चिताले आफू उक्त फिल्मको सुटिङ दौरान मोटी भएको पनि स्वीकार गर्दै थपिन्, ‘हो, त्यो बेला म मोटी थिएँ । म आफैंले हेर्दा पनि त्यो लागेको हो । आफैंले निर्देशकलाई किन मलाई नै खेलाउँदै हुनुहुन्छ ? अहिले म मोटी छु । कि घट्नुपर्ने हो भने पनि भन्नुस् । नभए अरूलाई लिनुस् भनेकै हो । तर उहाँले मलाई नै लिनुको पछाडि केही कारण पो होला कि ?’ फिल्मकी राधा सञ्चिताले पत्रकारसँग यथार्थ पस्किइन् । यति बेला वजन घटाएर थप फिट देखिएकी सञ्चिता कार्यक्रममा आकर्षक देखिएकी थिइन् ।

‘धार्मिक हिसाबमा राधाको पछि कृष्ण लाग्छन् । तर फिल्ममा उनको पछि राम लागेको छ,’ रामको चरित्रमा खेलेका नायक जीवनले भने । कुनै समय फिल्ममा अति व्यस्त हुने गरेका जीवनका पछिल्लो समय भने न्यून फिल्म आइरहेका छन् । ‘यो वर्ष मेरो एउटै मात्र फिल्म यही हो,’ जीवनले थपे, ‘हुन त दसैंमा आउन लागेको ‘सुब्बा साब’ मा पनि अतिथि भूमिकामा देखिएको छु । त्यसैले म दसैंदेखि तिहारसम्म दर्शकमाझ हुनेछु ।’ जीवनले पनि कम फिल्म खेल्नुमा अफर आएर नभई खेल्नै कम गरेको जिकिर गरे ।

भने, ‘तपाईंहरू बुझ्न सक्नुहुन्छ, अझै पनि मलाई कास्टिङका लागि दैनिक निर्माताहरू आउनुहुन्छ । तर म अब वर्षमा एक/दुईभन्दा बढी फिल्म खेल्दिनँ । धेरै फिल्म खेलेर मलाई कसैसँग प्रतिस्पर्धा गर्नु छैन ।’ त्यसो त जीवन पछिल्लो समय उपन्यास लेखनमा पनि व्यस्त छन् । यसअघि कविता संग्रह निकालिसकेका उनले भने, ‘म सधैं नयाँनयाँ काम र प्रयोग गरिरहन रुचाउने मान्छे हुँ ।’

निर्देशक घिमिरेले फिल्म राम्रो बनाउने प्रयास गरेको बताएका छन् । यसअघि उनले ‘नोटबुक’, ‘भुलभुलैया’ जस्ता फिल्ममा जीवन लुइँटेल र नीता ढुंगानाको जोडीलाई लिएर लभस्टोरी फिल्म बनाइसकेका छन् । यस पटक नीतालाई किन दोहोर्‍याउनु भएन भन्ने प्रश्नमा नियमित जवाफ फर्काउँदै भने, ‘नीतालाई यस पटक कथाले मागेन ।’

एन्जेल मुभीको सहकार्यमा रियल मोसन पिक्चर्स ब्यानरमा बनाइएको ‘राधा’ लाई विष्णुमणि दाहाल र सुशील कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् । वसन्त सापकोटाको संगीत रहेको फिल्मलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने पटकथा प्रदीप भारद्वाजले तयार पारेका हुन् ।