चिनी मिलमा ताला

कान्तिपुर संवाददाता

इटहरी — किसानले उद्योगमा उखु बुझाए पनि त्यसको भुक्तानी नभएपछि सुनसरीको अमाहीबेल्हामा रहेको इस्टर्न सुगर मिलमा तालाबन्दी गरेका छन् । किसानले बिक्री गरेको उखुको भुक्तानी तत्काल दिनुपर्ने, उखुको मूल्य समयानुकूल हुनुपर्ने र किसानलाई अनुदान दिनुपर्नेलगायतका माग गर्दै मिलमा तालाबन्दी गरेको स्थानीय भुवनेश्वर यादवले बताए ।

मिलमा किसानहरूले बिक्री गरेको उखुको करिब ४० करोड ६६ लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको दाबी किसानहरूको छ । सुनसरी र मोरङका किसानहरू मिलमा भेला भई मिलको उखु विभागमा तालाबन्दी गरेको यादवले बताए ।

वर्षअघि नै किसानले उखु बिक्री गरे पनि मिलले भुक्तानी दिएको छैन । कोसी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले मिलले आफूहरूको ४० करोड ६६ लाख रुपैयाँ भुक्तानी नदिएकाले तालाबन्दी गरेको जनाए । मिलले स्टकमा रहेको सबै चिनी बिक्री गर्दा पनि किसानको भुक्तानी नदिएकाले तालाबन्दी गरेको र यो माग पूरा नभएसम्म जारी रहने संघका सचिव अशोक राईले बताए ।

माग सम्बोधन नगरे आफूहरूले थप कडा आन्दोलनको कार्यक्रम गर्नेे चेतावनीसमेत उनीहरूले दिएका छन । इस्टर्न सुगर मिलका प्रमुख उखु प्रबन्धक सुरेशप्रसाद मेहताले भुक्तानी दिने प्रक्रियामा रहेको भए पनि समयमै काम हुन नसकेको बताए । चार वर्षअगाडिसम्म सुनसरी र मोरङमा १२ हजार बिघा क्षेत्रफलमा उखु खेती हुँदै आएकोमा ४ हजार बिघामा उन्नत प्रजातिको उखु खेती गरिंदै आएको छ । किसानले समयमा नै भुक्तानी पाउन छाडेपछि हाल ७ हजार बिघामा उखु खेती सीमित बनेको छ ।

यहाँ सीओजी पचासी, सीओ ३ सय २८, सीओएस ८८, २ सय ३० लगायतका प्रजातिको उखु बढी उत्पादन हुने तथा कीराको प्रकोप पनि सामान्यभन्दा कम हुने भएकाले कृषकहरू उन्नत जातको उखु खेतीतर्फ आकर्षित भएका छन् । तर समयमा भुक्तानी नहुँदा उनीहरू समस्यामा छन् ।