प्रहरीको यातनाले मृत्यु भएको दाबि

कान्तिपुर संवाददाता

काठमाडौं — ग्यास डिपोमा भएको विवादमा प्रहरीले नियन्त्रणमा लिएका टिकबहादुर राईको मृत्युपछि परिवारले प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको आरोप लगाएका छन् ।​

ग्यास डिपोमा भएको विवादमा प्रहरीले नियन्त्रणमा लिएका टिकबहादुर राईको मृत्युपछि परिवारले प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको आरोप लगाएका छन् ।वैसाख २७ मा महानगरीय प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिई हिरासतमा राखेको राई२८ गते दिउँसो हिरासतमुक्त भएका थिए । हिरासतमुक्त भएपछि उपचारका क्रममा बेलुका नेपाल मेडिकल कलेज अस्पतालमा उनको मृत्यु भएको थियो ।

चिकित्सकिय रिर्पोटमा उनको मृत्युको कारण'टाउकोमा लागेको चोटका कारण मस्तिष्कमा आन्तरिक रक्तश्राव भई स्वाशप्रश्वासमा समस्या आउनु' उल्लेख छ ।

सामान्य विवादमा प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखी कुटपिट गर्दा चोट लागेर टिकबहादुरको मृत्यु भएको आफन्त बलबहादुर राइले दाबि गरे । प्रहरीले नियन्त्रणमा लिंदा सामान्य अवस्थाका उनी भोलिपल्ट हिरासत मुक्त हुँदा निक्कै कमजोर रहेको र शरिरका विभिन्न भागमा निलडाम रहेको दाबि गर्दै उनले मृत्युको कारण प्रहरीको कुटपिट नै रहेको दाबि गरे ।

'उनको शरिरको विभिन्न भागमा निलडामहरु छन्,' बलबहादुरले भने,' सामान्य विवादमा हिरासतमा राखेर कुटपिट गर्दा ज्यान गयो ।'प्रहरी कार्यालयबाट टिकबहादुरलाई बुझेर लगेका राहुल मगरका अनुसार २८ गते बिहान प्रहरी कार्यालय पुग्दा टिकबहादुर हिँड्नै नसक्नेगरी कमजोर थिए । उनलाई हात समातेर कोठासम्म ल्याएको र पछि छतमा ढलेको अवस्थामा फेला परेपछी अस्पताल पूर्‍याएको उनले बताए ।

'मुखमा फिंज निकालेर ढलिरहेको देखेपछि उनलाई कोठामा ल्यायौं, पछि ओम अस्पताल पुर्‍यायौं,' उनले भने,' काम भएकाले म हिँडे, पछि टिकको मेडिकल कलेजमा मृत्यु भएछ ।' बौद्ध बृत्तका प्रमुख डिएसपी विपिन रेग्मीले सामान्य विवादमा प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिलाई कुटपिट गर्नुपर्ने कुनै कारण नरहेको दाबि गरे । रक्सि खाएर ग्यास डिपोमा झगडा गरेको गुनासो आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको र भोलिपल्ट आफन्त बोलाएर जिम्मा लगाएको दाबि रेग्मीले गरे ।

प्रहरीको हिरासतकक्षमा रहँदा उनी २ पटक लडेपछी बुझिलिन आफन्तको खोजी गर्दा कोही नआएपछि भोलिपल्ट उनलाई बुझाएको र बुझाउँदा अवस्था सामान्य रहेको रेग्मीको दाबि छ ।'सामान्य विवादमा नियन्त्रणमा लिइएका व्यक्तिमाथी कुटपिट गर्नुपर्ने कारण नै के छ र,' रेग्मीले भने, 'हामीले सामान्य अवस्थामै पठाएका हौं । मृत्यु भएको जानकारीपछि अनुसन्धान प्रकृया अगाडि बढाइसकेका छौं ।'मृतकका आफन्त बलबहादुरले प्रहरीले जाहेरी पनि नलिएको र पोष्टमार्टम समेत नगरेको दाबि गरे पनि डिएसपी रेग्मीले भने परिवार सम्पर्कमा नआउँदा पोष्टमार्टम लगायतका अुनसन्धान प्रकृया प्रभावित भएको दाबि गरे । परिवार सम्पर्कमा नआएपछी पोष्टमार्टम प्रकृया अगाडि बढाइएको उनले बताए ।

टेकका परिवारले प्रहरी यातनाबाट मृत्यु भएको दाबि गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा समेत निवेदन दिएका छन् ।