मुक्ति सेना र राणा सेनाका कमान्डरको अनाैठो मित्रता

इतिहासको त्यो एल्वम
सीताराम बराल

काठमाडौं — क्रान्तिताका एक अर्काविरुद्ध लडे पनि क्रान्तिपछि जीवनपर्यन्त मित्र बनेका ती दुई कमान्डर थिए, मुक्ति सेना (नेपाली कांग्रेस) को तर्फबाट भैरहवा मोर्चाका कमान्डर डा. केआई सिंह र राणा फौजको तर्फबाट भैरहवा मोर्चा जोगाउने जिम्मेवारी पाएका बडाहाकिम ब्रिगेडियर जनरल नीरजङ्ग राणा ।

जेलमा रहेका प्रजा परिषद्का नेता टंकप्रसाद आचार्यलाई सभापति बनाएर गठन गरिएको नेपाली कांग्रेसको पहिलो कार्यबाहक सभापति बीपी कोइराला भए । बीपीपछि डिल्लीरमण रेग्मी हुँदै मातृकाप्रसाद कोइरालाले यो जिम्मेवारी पाए । पार्टीमा सर्वेसर्वा बीपी भए पनि ०७ को क्रान्तिमा मातृका सर्वाेच्च कमान्डर तोकिए बीपी पूर्वी क्षेत्रका कमान्डर । राजनीतिक नाताबाहेक यी दुई कोइराला बन्धुलाई बाँध्ने अर्काे डोरी पनि थियो– बीपी र मातृका पिताजी कृष्णप्रसाद कोइरालाका ज्येष्ठ र माहिला पुत्र थिए । तर दुईवटा यस्ता बलिया डोरीले पनि यी बन्धुहरूलाई चिरकाल कँसिलोसँग बाँधिरहन सकेन । प्रजातन्त्र स्थापनालगत्तै सत्तास्वार्थको छुरीले कोइरालाद्वयलाई बलियोसँग गाँस्न सक्ने डोरी कहिल्यै जोडिन नसक्ने गरी काटिदियो ।  एकातिर क्रान्तिका दुई सर्वोच्च कमान्डरबीच सत्तास्वार्थका कारण सम्बन्ध चिसिन सुरु हँुदै थियो भने परिवर्तनलगत्तै त्यही क्रान्तिमा एक अर्का विरुद्ध भीषण लडाइँ लडेका अर्का दुई शीर्ष कमान्डरबीच चाहिँ सुमधुर सम्बन्धको टुँसा पलाउन थालिसकेको थियो । एकले अर्काेलाई सिध्याउन खुनी मोर्चाहरूको नेतृत्व गरेका यी दुई कमाण्डर परिवर्तनलगत्तै जीवनपर्यन्त यति निकट रहे कि, एउटा विदेशबाट फर्कनासाथ अर्काेलाई भेट्न जान्थे । एउटाको घरमा मीठो–मसिनो पाक्यो भने अर्काेलाई बोलाउँथे । राजनीतिक–पारिवारिक कामबाट फुर्सद हुनासाथ उनीहरू एक अर्कालाई भेट्थे । समय बिताउन कौडा खेल्न सुरु गर्थे ।०७ को क्रान्तिताका जनमुक्ति सेना र राणा फौजबीच देशव्यापी रूपमा आक्रमण/प्रत्याक्रमण भए । तर भैरहवा मोर्चामा जस्तो भीषण आक्रमण/ प्रत्याक्रमण अन्य मोर्चामा भएन । डा. भवेश्वर पँगेनीद्वारा लिखित ‘डा. केआई सिंह र नेपालको राजनीति’ (विसं २००७ ०१७) अनुसार क्रान्तिकारीहरूको मोर्चा सम्हालेका केआई सिंहका तर्फबाट तीनपटक भैरहवामाथि आक्रमण भयो । प्रत्युत्तरमा सरकारी फौजले पनि भैरहवा नजिकै रहेको डा. केआई सिंहको अखडा म्युडिहवा/ मर्चवारमाथि तीनपटक नै आक्रमण गर्‍यो । यो छुट्टै प्रसंग हो कि, तीनवटै आक्रमण प्रत्याक्रमणमा एकले अर्काेमाथि विजय हासिल गर्न सकेनन् ।क्रान्ति सुरु भएलगत्तै सिंहको तर्फबाट बडाहाकिम कार्यालयमाथि पहिलोपटक आक्रमण भयो, २९ कात्तिक २००७ मा । चार घन्टा चलेको लडाइँमा सिंहको फौजले गोश्वारा (बडाहाकिम कार्यालय) बाहेक भैरहवाका अरू सबै कार्यालयमाथि नियन्त्रण जमायो । प्रत्युत्तरस्वरूप तीन दिनपछि नै सरकारी फौजले २ मंसिर २००७ मा (१७ नोभेम्बर १९५०) मा केआई सिंहको अखडामाथि धावा बोल्यो । तर सिंहमाथि सरकारी फौजले विजय हासिल गर्न सकेन । ठूलो क्षतिका साथ सरकारी सेना आफैं फिर्ता हुनुपर्‍यो । भोलिपल्टै सिंहले फेरि भैरहवामाथि आक्रमण गरे । यसपटक पनि उनले अदालत र झ्यालखाना त कब्जामा लिए । तर बडाहाकिम कार्यालयमाथि कब्जा जमाउने धोको पूरा भएन ।सिंह फर्केलगत्तै सरकारी फौजले फेरि म्युडिहवामाथि आक्रमण गर्‍यो । सिंह म्युडिहवा छाडेर करवला भन्ने स्थानमा नयाँ मोर्चा बनाए । सरकारी सेना बलियो पर्खालसहितको भवनमा रहेकाले सिंहले गोश्वारामाथि कब्जा जमाउन सकिरहेका थिएनन् भने गहिरो ट्रेन्चसहित मोर्चा बनाएर बसेकाले सरकारी फौजले पनि डा सिंहको फौजमाथि नियन्त्रण गर्न सकेन ।त्यसैबेला भारतको मध्यस्थतामा नयाँदिल्लीमा राजा राणा र कांग्रेसबीच त्रिपक्षी सन्धि भयो  । त्रिपक्षीय सन्धिलाई धोका ठहर गरेका सिंहले क्रान्ति जारी राख्ने उद्घोष गर्दै युद्धविरामको आह्वान अस्वीकार गरे । र, ८ फागुन (०७) मा उनले अन्तिमपटक तेस्रोपटक गरे । बिहान पाँच बजेदेखि दिउँसो १२ बजेसम्म भएको लडाइँमा बाहेक माल, कचहरी, अमिनी, झ्यालखाना सबै कब्जा भए । तत्कालीन बडाहाकिम राणाकी छोरी मञ्जरी राणा भन्छिन्, ‘बुबाले सुनाउनुभए अनुसार रातमा भएको आक्रमणमा भित्ता र पलङमाथिको झुल हुँदै अर्काे भित्तामा पुग्थे रे । बुबा सुनाउनुहुन्थ्यो, यदि पलङबाट थोरै शिर उठाएकोमात्र भए त्यतिबेलै मेरो इहलीला समाप्त हुने थियो ।’बदलास्वरूप सरकारी फौजले पनि सिंहकै मोर्चामा गई गरेका प्रत्याक्रमण पनि कम खतरनाक थिएनन् । जस्तो, दोस्रो प्रत्याक्रमणमा सिंह पनि म्युडिहवामा टिक्न सकेनन् । त्यो आक्रमणपछि सिंहको फौज नजिकै करवला भन्ने स्थानमा पुगेर मोर्चा कस्न बाध्य भयो । आक्रमणमा सिंहको फौजका प्रधानसेनापति खड्कबहादुर गुरुङ पनि शख्त घाइते भए । उनलाई उपचारका लागि लखनउ लैजानुपर्‍यो । भैरहवा कब्जा गर्न/जोगाउन सिंह र राणाबीच यस्तै छिनाझपट चलिरहेका बेला भारतको मध्यस्थतामा नयाँदिल्लीमा राजा–राणा–कांग्रेसबीच त्रिपक्षीय सम्झौता भयो । तर, सिंहले सम्झौता र युद्धविरामको आह्वान स्विकारेनन् । क्रान्ति जारी रहेको उद्घोषका प्रजातन्त्र घोषणालगत्तै ८ फागुनमा भैरहवामाथि तेस्रोपटक आक्रमण गरे ।युद्धविराम उल्लंघन गर्दै सिंहले आक्रमण जारी राखेपछि नेपाल सरकारले सहयोगका लागि भारत सरकारलाई अनुरोध गर्‍यो । भारतीय सेना सिंहलाई पक्रन नेपाल प्रवेश गर्‍यो । उत्तरबाट नेपाली सेना र दक्षिणतर्फबाट भारतीय सेनाले घेरा कँस्दै लगेपछि सिंह दर्जनौ लडाका र हतियारका साथ भारतीय सेनाबाट सिंह पक्राउ परे । सिंहलाई तिनै बडाहाकिमसमक्ष भारतीय फौजले हस्तान्तरण गरिदियो, जोविरुद्ध सिंहले तीनपटक धावा बोलेका थिए । सिंहका सयौं हतियारहरूचाहिँ भारतीय सेनाले लगेको थियो, जसलाई त्यहाँ सार्वजनिक प्रदर्शनमा पनि राखियो । खासमा, भारतीय सेनाको सफलताको प्रदर्शनीका रूपमा ती हतियार देखाइएका थिए ।  पक्राउपछि सिंहलाई उनका लडाकुबाट छुट्ट्याइयो । लडाकुहरू जेलमा राखिए भने बडाहाकिम कार्यालयको गारतमा कडा पहरासहित कैद थिए डा. सिंह । तर, कैदका लागि बडाहाकिम निवासको छनोट नै डा. सिंह–बडाहाकिम राणा सम्बन्धको कारण हुन पुग्यो । बडाहाकिम राणाका माहिला छोरा माधवजङ्ग राणाका अनुसार गारतमा कैद सिंहलाई कसरी खाना खुवाउने भन्ने समस्याले दुईबीचको शत्रुता मित्रतामा परिणत हुन पुगेको थियो । जेलमा राखिएको भए त्यहीँको मेसमा खानाको प्रबन्ध हुन्थ्यो । तर, त्यो न जेल थियो, न त निवास नै । सिंहलाई कसले पकाएर खुवाउने ? माधवजङ्ग सम्झन्छन्, ‘हामीले जे खान्थ्यौं, केआई सिंहलाई पनि त्यही खाना पठाउन थालियो । खाना मुमा आफैं पकाउनुहुन्थ्यो । डा. सिंहले मुमाले पकाउने खानाको खुव तारिफ गर्न थाल्नुभयो ।’बडाहाकिम कार्यालयको गारतमा कैदमा रहेकाले सिंह र बडाहाकिम राणाबीच भेट भइरहन्थ्यो । श्रीमतीले पकाएको खानाको तारिफ सिंहबाट हुन थालेपछि बडाहाकिम प्रफुल्लित भए । सिंह आफैं पनि ठट्यौली स्वभावका थिए । उनी बडाहाकिमलाई ठट्टैठट्टामा भन्दा रहेछन्, ‘तपाईंलाई कैदी बनाउने इच्छा थियो मेरो । तपाईंलाई पक्राउ गर्न सकेको भए पनि मैले पनि यसैगरी मेरो भान्सामा पाक्ने खाना खुवाएर राख्थें हुँला । तर भाग्यबस तपाईंले पो मलाई कैदी बनाउनुभयो । तैपनि अरूको कैदमा भन्दा तपाईंको कैदमा परेकोमा मलाई सन्तोष छ । कम्तीमा तपाईंले रानीसाहेबले पकाएको खाना खुवाउनुभएको छ ।’सिंह जङ्गलमा स्वतन्त्र विचरण गर्दै आफ्नो आहारा आफंै जुटाउन चाहन्छ । जतिसुकै मीठो खान पाएपनि उसका लागि चार पर्खालभित्रको कैद स्वीकार्य छैन । केआई सिंह पनि साँच्चिकै सिंह थिए । उनी पनि जेलको चार किल्लामा कैद भएर बस्न चाहने स्वभावका मानिस थिएनन् । सिंहले गारद तोडेर भाग्लान् र आफूलाई अप्ठेरोमा पार्लान् भन्ने स्वाभाविक डर बडाहाकिमलाई पनि थियो । सिंहलाई चेतावनी पनि दिन्थे बडाहाकिम, ‘तपाईं यहाँ रहँदासम्म तपाईंलाई सम्मानपूर्वक नै राख्नेछु । तर, भाग्ने प्रयास गर्नुभयो भने, म मेरो कर्तव्य निर्वाह गर्न बाध्य हुनेछु । मैले आफ्नो कर्तव्य निर्वाह गर्दा तपाईंको ज्यानलाई जोखिम हुन सक्छ । यो कुरा सधैं ख्याल गर्नुहोला ।’सिंह जवाफ फर्काउँथे, ‘जर्साब † दुईवटा सिंह एउटै जङ्गलमा बस्न सक्दैनन् भन्ने कुरा तपाईंलाई पनि थाहा होला । तपाईं भएकाले मात्र हो, म यहाँ हलचल नगरी बसेको । तपाईं यहाँ रहनुभएन, सरुवा भएर अन्तै जानुभयो भने म यसरी बस्ने छैन । म साँच्चिकै  जङ्गलको सिंह बनेर स्वतन्त्र हुनेछु ।’ नभन्दै ०८ जेठमा बडाहाकिम काठमाडौं सरुवा भएको केही दिनपछि असार अन्तिम हप्ता सिंहका लडाकुहरूले जेल तोडे । बडाहाकिम निवासको गारदसमेत तोडेर उनीहरूले सिंहलाई मुक्त गरे । भारततर्फ जाने अवस्था नरहेकाले उत्तरतर्फको अनिश्चित यात्रामा लागे सिंह । तर एक महिना बित्दा–नबित्दै २००८ साउन तेस्रो हप्ता सरकारी सेनाले सिंहको टोलीलाई वागलुङको डोरपाटनबाट गिरफ्तार गर्‍यो ।  काठमाडौं ल्याइएका सिंह रक्षा दलमा परिणत भएको मुक्ति सेनाको सहयोग ८ माघ ०९ मा विद्रोह गरी मुक्त भए । यसपटक पनि उत्तरतर्फ लागेका सिंहलाई सहयोग नगर्न अपिलसहित सरकारले जहाजबाट पर्चा धादिङ–नुवाकोट–रसुवाका गाउँहरूमा पर्चा खसाल्यो । हतियारधारी टोली भेटिएमा त्यसमा सिंह पनि छन् कि छैनन् भन्ने पत्ता लगाउन नीरजङ्गलाई पनि जहाजमा राखेर पठाइएको थियो । मञ्जरी भन्छिन्, ‘आकाशमा उडेको जहाजबाट डा. सिंह के देखिन्थे र ! तर सिंहसँग बुबाको सम्बन्ध राम्रो थाहा रहेको थाहा पाएका सरकारी हाकिमहरूले नीरजङ्गले जानाजान केआई सिंहको खोजी नगरेको हो भन्ने आरोप लगाएछन् ।’चार वर्ष लामो चीन प्रवासपछि २०१२ भदौमा काठमाडौं फर्केका सिंह दुई वर्ष बित्दा नबित्दै ११ साउन २०१४ मा राजा महेन्द्रबाट प्रधानमन्त्री बनाइए । प्रधानमन्त्री बनेको तीन हप्तापछि ३१ साउनमा प्रधानमन्त्री सिंहलाई भेट्न जाँदा राणाको साथमा उपहारस्वरूप दिनका लागि तस्बिरहरूको एल्बम थियो । त्यहाँभित्र सिंहको जीवनका सबैभन्दा महत्त्वपूर्ण क्षणका तस्बिर थिए । सिंह बडाहाकिम कार्यालयको गारदमा कैदमा हुँदा गारदभित्रै राणाले खिचिएको तस्बिर त छँदै थियो, युद्धमोर्चामा आफ्ना लडाकुका हतियारसहित खिचिएका तस्विर पनि एल्बमभित्र थिए । यसबाहेक भारतीय सेनाले लखनउ पुर्‍याएको हतियारको प्रदर्शनीका तस्बिर पनि त्यो संकलनमा थिए । प्रधानमन्त्री सिंहलाई दिइएको एल्बमको पृष्ठभागमा राणाले सैन्य पोसाकमा सलाम अर्पण गर्दै गरेको आफ्नो तस्बिर पनि राखेका थिए । त्यो तस्बिरमुनि लेखिएको थियो, ‘सम्झनाका लागि गत ०७ साल जिल्ला भैरहवामा भएको जनक्रान्तिमा श्रीमान्बाट देश र जनहितका लागि ज्यानको बाजी लगाउनुभई संघर्ष गर्नुभएको फोटोहरू श्रीमान्छेउ उपहारस्वरूप समर्पित गर्दछु ।’सिंहको पक्राउलगत्तै दुईबीच सुमधुर सम्बन्ध विकसित हुनुमा दुवैको स्वभावले मुख्य भूमिका खेलेको थियो । सरकारी फौजका कमान्डर भए पनि निरञ्जन कठोर थिएनन् । मञ्जरी भन्छिन्, ‘शिक्षित व्यक्तित्व हुनुहुन्थ्यो । स्वभाव पनि अरू राणाहरूको जस्तो कठोर थिएन । सिंह ठट्टा गरिरहनुपर्ने मान्छे हुनुुहुन्थ्यो । त्यसैले दुवैजनालाई घुलमिल हुन सहज भयो ।’ छोरा माधवजङ्गचाहिँ सिंह र राणा दुवै सैनिक पृष्ठभूमिको हुनुलाई सम्बन्ध सुमधुर हुनुको कारण मान्छन् । उनको भनाइमा, युद्धबन्दीप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने दुवैलाई जानकारी थियो । त्यसैअनुसार व्यवहार गर्दा उनीहरू स्वाभाविक रूपमा नजिकिन पुगेका थिए ।क्यान्सर रोगका कारण ७६ वर्षको उमेरमा डा सिंहको ०३९ मा निधन भयो भने ९६ वर्ष बाँचेर  ०५५ कात्तिकमा नीरजङ्गले पनि यो संसार त्यागे । एक अर्कालाई सिध्याउने प्रणका साथ परस्परविरोधी मोर्चाको नेतृत्व सम्हालेका दुई कमान्डरबीच ०७ पछिको मित्रतालाई अनुपम मान्छन्, स्व. राणाका ज्वाइँसमेत रहेका वामपन्थी नेता शरणविक्रम मल्ल । भन्छन्, ‘दुईबीच यति सुमधुर–निकटको सम्बन्ध थियो कि, ०३९ मा मृत्यु हुनुअघिसम्म फुर्सद हुनासाथ डा. सिंह बुवा (नीरजङ्ग) को सानेपास्थित निवासमा आउनुहुन्थ्यो । बूढाहरू सिङ्गै दिन कौडा खेलेर समय बिताइदिन्थे ।’