राष्ट्रिय गान र कम्युनिस्ट

खगेन्द्र संग्रौला

काठमाडौं — मावनसभ्यताको शैशव कालमा ईश्वरको आविष्कारसँगै व्यक्तिपूजाको संस्कृति संस्थागत रुपमा सुरु भएको हो । आफूले जन्माएको ईश्वरलाई सर्वशक्तिमान्, सर्वव्यापी र सर्वदर्शी गुणको अधिकारी बनाउँदा मानिसले आफूलाई अल्पशक्तिवान्, अल्पव्यापी र अल्पदर्शीको दर्जामा दीर्घकालीनरुपले पतीत गराएको थियो ।

श्रीमान् गम्भीर नेपाली

प्रचण्ड प्रतापी भूपति

श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति...

राष्ट्रिय गान भन्ने सुन्दर नाउँ राखिएको यो व्यक्तिपूजक कुरुप भजन निरङ्कुश राजाको स्तुति हो । जनआन्दोलनको अदम्य शक्तिले निरङ्कुश राजालाई कागतमै भए पनि नियम–कानुनको मर्यादाभित्र रहने सम्वैधानिक राजामा रुपान्तरित गर्‍यो । तैपनि नेपालको राष्ट्रिय गान भने सम्वैधानिक भएन, यो निरङ्कुश नै रहिरह्यो । यो सम्बिधान लेख्ने जिम्मा लिएका जनप्रतिधिहरुको अयोग्यता, अदूरदर्शिता वा कायरताको दसी हो ।

व्यक्तिपूजाप्रति समर्पित यो निरङ्कुश गानको रोग अहिले नेकपा–माओवादीको नेतृत्वमा सल्किएको छ । र परिणामस्वरुप, नागरिक स्तरबाट बन्दुक उठाएर असमानता र शोषणमुक्त गणतन्त्रको स्थापना गर्न युद्धरत यस नेतृत्वले आफ्ना सेनापतिलाई अतिमानवको उचाइमा उकास्ने मनशायले अर्को निरङ्कुश स्तुतिगानको रचना गरेको छ:

जनम भयो जनम भयो जनम भयो
जर्मनीमा माक्र्सको जनम भयो
जनम भयो जनम भयो जनम भयो
रुसमा लेनिनको जनम भयो
जनम भयो जनम भयो जनम भयो
चीनमा माओको जनम भयो
जनम भयो जनम भयो जनम भयो
नेपालमा प्रचण्डको जनम भयो ।

कोटीकोटी मानिस भएको समाजमा कोही एकजना ‘प्रचण्ड प्रतापी’ होओस् भनी कामना गर्नु बाँकी मानिसहरु प्रतापरहित धूलाका कण होऊन् भनी कामना गर्नु हो । कोही एकजना मानिस “भूपति” होओस् भनी उसको स्तुतिगान गर्नु बाँकी मानिसहरु सुकुम्बासी होऊन् भनी तिनलाई श्राप दिनु हो । र, कोही एकजना मानिसको “सदा उन्नति रहोस्” भनी अपेक्षा गर्नु बाँकी मानिसहरुको सदा अवनति होओस् भनी अपेक्षा गर्नु हो ।

त्यसैगरी, माओवादी नेतृत्व पंक्तिको कोही एकजना कमरेडलाई प्रायोजित र सङ्गठित काइदाले माक्र्स, लेनिन र माओको उचाइमा उठेको उद्घोष गर्नु नेतृत्व पंक्तिका समकक्षी कमरेडहरु र बलिदानको लाममा उभिएका असंख्य कार्यकर्ताहरुको पहिचान र गरिमाको शिरोच्छेदन गर्नु हो । यी नेपाली इतिहासका दुई भिन्न कालमा, दुई भिन्न सन्दर्भमा, इतिहासका दुई भिन्न रङ्गमञ्चबाट गरिएका निरङ्कुशतामुखी व्यक्तिपूजाका उद्घोष ह्ुन् ।

स्थान, काल, सन्दर्भ र उद्घोष गरिने रङ्गमञ्च फरक भए तापनि यी दुई स्तुतिगानको सार र यिनले सम्प्रेषण गर्ने सांस्कृतिक सन्देशमा कुनै अन्तर छैन । त्यो हो, एक जनाको प्रायोजित र कृत्रिम उचाइको मुङ्ग्रोले ठोकेर बाँकी मानिसहरुको अस्मिताको तेजोबध गर्नु र तिनलाई बामपुड्के बनाउनु ।

पराक्रमपूर्ण बलिदानका गाथाहरुले ओतप्रोत भएको माओवादी विद्रोहप्रति आलोचनात्मक सहानुभूति राख्ने मेरा एकजना प्रतिभासम्पन्न र जोशिला कवि मित्र संयोगबश माओवादीको एउटा सानो छलफल कार्यक्रममा पुगेछन् । र, तिनले सोधेछन्, ‘विद्रोहको क्रममा आत्मबलिदान गर्ने रोल्पाको मगरका पदचिन्हहरु यो प्रचण्ड पथमा खै कहाँ छन् ?’ माओवादीका एक जना मझौला नेताले उत्तर दिएछन्, ‘विचार संश्लेषणमा घोलिएर ती पदचिन्हहरु प्रचण्ड पथमा विलय भइसकेका छन् ।’

यो तर्क सुन्दा यस्तो लाग्छ मानौँं सर्वसाधारण नागरिकहरु फलामका निर्जीव र सत्वरहित टुक्राहरु हुन् जसलाई पोलेर र गालेर तिनको योगबाट नेताको भीमकाय बिम्बको निर्माण ह्ुन्छ जसरी प्रचण्डपथको उद्घोषसँगै कमरेड प्रचण्डको अजङ्गको बिम्ब निर्माण गरिएको छ । आफूबाहेक अरु सबैलाई विशिष्ट पहिचान र आत्माभिमानरहित फलामका अनाम टुक्रा ठान्ने यस मान्यताले हामीलाई एउटा यस्तै चरित्रको पञ्चायती तर्कको स्मरण गराउँछ ।

ऊबेला पञ्चायत इतरका सबै विचार र व्यक्तिहरुको तेजोबध गर्ने कुटिल चालबाजीबश एउटा सूत्रको रचना गरिएको थियो- सबै पञ्च नेपाली, सबै नेपाली पञ्च । यस सूत्रमा पञ्चायतइतरका विचार र व्यक्तिहरुको पहिचान कहाँ पर्छ भनेर सोधिएको खण्डमा शाही ताबेदारहरु उत्तर दिनसक्थे- तिनको पहिचान विष्णुका औताररुपी राजामा घोलिएर एकाकार भएको छ ।

मावनसभ्यताको शैशव कालमा ईश्वरको आविष्कारसँगै व्यक्तिपूजाको संस्कृति संस्थागत रुपमा सुरु भएको हो । आफूले जन्माएको ईश्वरलाई  सर्वशक्तिमान्, सर्वव्यापी र सर्वदर्शी गुणको अधिकारी बनाउँदा मानिसले आफूलाई अल्पशक्तिवान्, अल्पव्यापी र अल्पदर्शीको दर्जामा दीर्घकालीनरुपले पतीत गराएको थियो ।

जीवन र प्रकृतिका अद्भूत, रोमाञ्चक र भयकारी रहस्यहरुबारे सर्वथा अज्ञान रहेको त्यो निरीह र असहाय शिशु–मानवले आफूले जन्माएको ईश्वरको बिम्बमार्फत् आफ्ना अज्ञानता र अपूर्णताहरुको क्षतिपूर्ति गर्न खोजेको थियो । मानव–निर्मित त्यो ईश्वर एकसाथ मानिसको आकांक्षा र शान्त्वनाको प्रतिमूर्ति थियो । तर कालान्तरमा मानिस आफूले रचेको त्यही ईश्वरको दास भइदियो । ईश्वरलाई मानिसको सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता तीनैथोक बनाइयो ।

र, मानिस त्यस सर्वसत्तावादी ईश्वरका हातमा कुसुलेका हातको मैनको पुतली बन्न पुग्यो । ईश्वर मानिसको नियतिको निर्माता र नियन्त्रक बन्यो, अनि मानिसचाहिँ बन्यो त्यो ईश्वरको पुजारी, भक्त र चरणदास । मानिसले ब्रह्मालाई एकमुखी होइन चतुर्मुखी बनायो । त्यसो गर्दा मानिसले आफ्ना मुख, बोली, विवेक र गरिमा सबै नै आफूले बनाएको ईश्वरको पाउमा चढाइदिएको थियो ।

त्यही सर्वसत्तावादी ईश्वरको ध्वजामुनि मानिसले स्वर्ग र नर्क, पूर्व जन्म र पुनर्जन्मको कल्पना गर्‍यो । कालान्तरमा त्यही ध्वजामुनि जातपात र उचनीच, छुवाछूत र कर्मकाण्डका क्रूर र अमानवीय धारणा र प्रचलनहरुको उत्पत्ति भयो । जतिजति समय बित्दै गयो, ईश्वर त्यतित्यति निरङ्कुश बन्दै गयो । र, निरङ्कुश ईश्वरको लौकिक वारिसेका रुपमा निरङ्कुश राजा जन्म्यो ।

मैले माथि उतार गरेको राष्ट्रिय गान नाउँको स्तुतिगान त्यही निरङ्कुश राजाको स्तुति हो । र, प्रचण्डपथको उद्घोषको साथसाथै रचना गरिएको स्तुतिगान त्यही निरङ्कुश स्तुतिगानको संस्कारगत उत्तराधिकारको प्रत्यक्ष अभिव्यक्ति हो । यो सामन्ती सांस्कृतिक परम्पराबाट नेपाली कम्युनिस्ट आन्दोलनमा फैलिएको अपसंस्कृतिको रोग हो ।

के जनआन्दोलन वा जनयुद्धमा प्रायोजित तरिकाले नेताको आकार र उचाइको निर्माण हुनसक्छ ? के माक्र्स, लेनिन र माओका व्यक्तित्व प्रस्ताव, तुलतोरण, तामझाम, तडकभडक र करतलध्वनिको प्रायोजित उन्मादको बीचमा नाटकीय तरिकाले स्थापित भएका हुन् ? नेता होस् वा कार्यकर्ता, के उसको पहिचान र लोकप्रियताको आकार र उचाइ उसको प्रतिभा, उसको प्रतिबद्धता, उसको चिन्तन, उसका कर्म र उसको आचरणको योगफलका रुपमा स्वत:स्फूर्त रुपमा स्थापित हुने होइन ?

निरङ्कुश राजाको जन्म वंश परम्पराबाट मात्र हुँदैन, निरङ्कुशतन्त्र विरोधी विद्रोहको बलिदानको चाङको बीचबाट पनि हुनसक्छ । इतिहासमा यस्ता उदाहरण अनेक छन् । र, अहिले नेपालमा जनसमरको आवरणभित्र तिनै अनिष्टकारी उदाहरणको पुनरावृत्ति भएको छ ।

राजनीतिक दल वा राज्यसत्तामा प्रायोजित तरिकाले अतिमानव निर्माण गर्ने कार्यका परिणामहरु राजनीतिक र सांस्कृतिक दुबै दृष्टिले घातक हुने कुरा हामीलाई सिकाउने तथ्यहरु इतिहासमा अनेक छन् । सोभियत संघमा जे. भी. स्तालिन पार्टी र राज्यका शक्तिशाली प्रमुख रहँदा निकिता ख्रुश्चोभ स्तालिनलाई देवतातुल्य अतिमानव ठानेर उनका पाउमा लुटपुटिन्थे ।

त्यो स्तालिनलाई अति मानवको दर्जामा उकासेर रिक्त हुनआएको स्तालिनको उचाइमा आफूलाई स्थापित गराउने मनोवैज्ञानिक लिप्सा थियो । पछि मौका पाउनासाथ उनै खु्रश्चोभ स्तालिनको टाउको टेकेर उभिन पुगे । माओलाई अतिमानवमा उकास्न खोज्ने लिन प्याओको आकांक्षा पनि त्यही थियो भनिन्छ ।

प्रायोजित तरिकाले एकपटक कसैलाई सर्वगुणसम्पन्न अतिमानवको दर्जा प्रदान गरिसकेपछि उसलाई चराचर जगत्को कुनै पनि शक्तिले सजिलै उसको वास्तविक आकार र उचाइमा फर्काउन सक्दैन । ऊ सदाका लागि सर्वोच्च, सर्वज्ञ र सर्वशक्तिमान रहिरहन जिद्दी गर्छ । ऊ मृत्युपर्यन्त राजनीतिक दल वा राज्यसत्ताको सर्वोच्च स्थानको निर्विकल्प अधिकारी बन्न चाहन्छ ।

जनआकांक्षा र आवश्यकताअनुसार पारस्परिक सहमतिका आधारमा उसले आफ्नो समकक्षी सहयात्रीलाई पद हस्तान्तरण गर्ने सम्भावना शून्यप्राय: हुन्छ । उसका वचनहरु अकाट्य देववाणी बन्छन् । जसले ती वचनलाई काट्ने आँट गर्छ, उसलाई काटिनयोग्य ठानिन सक्छ । विचार चलखेल हुने सबै निकास नाकाहरु बन्द हुन्छन् र अन्धभक्तिको रुढ संस्कृति बलशाली बन्छ । माथि सर्वोच्च आसनमा जो छ, ऊ भगवान बन्छ र जो ऊभन्दामुनि छन्, ती सबै उसका भक्त हुन्छन् । र, यसरी विवेक, युक्ति र तर्कको हत्या हुन्छ र विज्ञान धर्ममा परिणत हुन्छ ।

अनि पार्टीसत्ता वा राज्यसत्ताको हस्तान्तरण हुने दुईवटा अप्रिय बाटामात्र बाँकी रहन्छन्– नाटकीय तरिकाले अतिमानव बनाइएका सर्वोच्चको कु वा हत्या । कु वा हत्या गर्ने कर्मठ कर्ताहरु तिनै हुन्छन्, जसले स्वस्ति, भक्ति र पूजा–आराधनाको सहाराले उसलाई अतिमानव बनाएका हुन् । अतीतको इतिहास यस्तै छ, भविष्यको इतिहास पनि सायद योभन्दा बेग्लै नहोला ।

जनवाद वा समाजवादको अदर्श दाल–भात–डुकुको हकमा समानता प्राप्त गर्नु मात्र होइन, व्यक्तिको पहिचान र मानवीय गरिमाको हकमा पनि सापेक्ष समानता प्राप्त गर्नु हो । नयाँ सभ्यताको जगमाथि व्यक्तिलाई समष्ठिको कल्याणप्रति उत्तरदायी बनाउनुको तात्पर्य व्यक्तिका वैयक्तिक गुणहरुको बध गर्नु किमार्थ होइन । किनभने प्रत्येक व्यक्ति एक पृथक् सत्व हो, व्यक्तिहरुको समष्ठि भनेको एकनासका भेडाहरुको बगाल किमार्थ होइन ।

२०४६ साल चैत्र ३ गते जनआन्दोलनमा ऊर्जा थप्ने ध्येयले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लेखक–कलाकारहरु मुखका कालो पट्टी बाँधेर निरङ्कुशतन्त्रलाई हाँक दिन सडकमा उत्रेको घटनाको सम्झनामा गत चैत्र ३ गते एउटा कार्यक्रमको आयोजना गरियो । त्यहाँ बोल्दा मैले यस्तो आशय प्रकट गरेको थिएँ, ‘अभिव्यक्ति स्वतन्त्रताका सन्दर्भमा हिजोको महेन्द्रपथ र आजको गिरिजापथको विरोध गर्ने क्रममा हामीले प्रचण्डपथबारे पनि गम्भीर हुनुपर्छ । अन्यथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो आवाज पूर्ण हुँदैन ।’
‘जनएकता साप्ताहिक’मा युवा कवि मातृका पोखरेलले मेरो यो विचारलाई लिएर तीनवटा टिप्पणी गरेका छन् । पहिलो, अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन राज्यले मात्र गर्छ, त्यसैले प्रचण्डपथको उल्लेख गर्नु विरोधका लागि विरोध हो । दोस्रो, अभिव्यक्ति सम्बन्धी संग्रौलाको दृष्टिकोणमा डरलाग्दो समन्वयवादी प्रवृत्ति मुखर भएको छ । र, तेस्रो संग्रौलाले प्रचण्डपथलाई गाली गरेर गिरिजापथलाई मौलाउने बाटो खोलिदिएको छ ।

मेरो विचारमा अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन राज्यसत्ताले मात्र गर्दैन, धार्मिक सत्ताले पनि गर्छ, पार्टीसत्ताले पनि गर्छ र परम्पराले पनि गर्छ यद्यपि तिनीहरुबाट हुने उल्लंघनको प्रकृति र मात्राभेद भने फरक–फरक हुन्छ । त्यति मात्र होइन, व्यक्ति स्वयंले लोभ र भयको बशमा परेर आत्म–सेन्सरसीप मार्फत् स्वयंको अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन गर्छ । प्रचण्डपथ स्वयं एउटा सत्ता हो जसको अधीनमा अधार इलाका छ, पल्टन छ, रैथाने सरकार छ र न्याय सम्पादन गर्ने संस्था र विधि–प्रक्रियाहरु प्नि होलान् ।

प्रचण्डपथले भिन्न मतप्रति कस्तो व्यवहार गर्छ र उक्त पार्टीको आन्तरिक जीवनमा अभिव्यक्ति स्वतन्त्रताको हैसियत कस्तो हुनसक्ला भन्नेबारे मैले माथि नै पर्याप्त चर्चा गरिसकेको छु । यसको अतिरिक्त, ‘कलम’मा प्रकाशित आफ्नो साहित्यक अन्तर्वातामा कमरेड प्रचण्डले मलाई लक्षित गरेर ‘वामपन्थी आन्दोलनमा संशोधनवादको जहर फैलाउनेहरु’लाई निर्मूल पार्न ‘आवश्यकताअनुसार भौतिक प्रतिरोधको प्रक्रियालाई निरन्तर अघि बढाउनु पर्ने’ धारणा सार्वजनिक गरेका छन् ।

भिन्न मतलाई बाहुबलले दमन गर्ने यस विचारको आधार के होला ? माक्र्सवाद कि सामन्तवाद ? सैन्यबलद्वारा सुसज्जित अस्थायी सत्ताका सेनानायकले निरस्त्र भिन्न मतलाई बाहुबलले दबाउन प्रस्तुत गरेको यस नीतिलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्न मिल्ला कि नमिल्ला ? अनि जनवादको नाउँमा अभिव्यक्त यस्तो दमनकारी विचारप्रति टिप्पणी गर्नु वा त्यसप्रति सतर्क रहन खबरदारी गर्नु लेखकको दायित्व होला कि नहोला ? के गिरिजापन्थ मौलाउँछ भन्ने निहुँमा वामपन्थी आन्दोलनभित्रबाट अभिव्यक्त हुने सामन्ती विचार वा संस्कृतिप्रति आँखा चिम्लिदिनु नै प्रगतिशील लेखकहरुको धर्म हो ?
    
विचारलाई बलले तह लगाउन खोज्ने र व्यक्ति पूजालाई प्रश्रय दिने प्रवृत्ति श्वेत झण्डामुनिको होस् वा लाल झण्डामुनिको, त्यो सामन्ती संस्कृतिकै सन्तान हो । आफ्ना नाकको मूसो छोप्नु र अर्काका नाकको मूसो देखाएर कुरीकुरी गर्नु आधा सत्य मात्र बोल्नु हो । आधा सत्य लुकाएर पूरा सत्य बोलेको स्वाङ पार्नु बौद्धिक आत्मप्रवञ्चना हो

(यसै साता सार्वजनिक हुने संग्रौलाको पुस्तक ‘इतर विचार’बाट ।)