समय आँपको

कान्तिपुर संवाददाता

काठमाडौ — मुलुकमा गर्मी याममा पाइने आँपलाई फलको राजा भनिन्छ। शास्त्रमा यसलाई अमृत फलसमेत भनिएको छ। यो काँचो वा पाकेको दुवैमा औषधीय गुण हुन्छ।


आयुर्वेदका अनुसार, आँपको पाँचै अंग अर्थात् छाला, जरा, पात, फल, फूल सबै काममा आउँछन्। पाकेको आँप गुलियो, वीर्य बढाउने, पौष्टिक, वायुनाशक, शरीरको कान्ति बढाउने, शीतल, पित्तनाशी, भोक बढाउने मानिन्छ। यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउनेसमेत मानिन्छ। आँपको रस भने बल दिने, वायुनाशक, मुटुलाई तृप्त गर्ने र कफवद्र्धक मानिन्छ।
पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फास्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’, ‘बी’ लगायत हुन्छ। पाकेको आँप पोषक, शक्तिवद्र्धक र बोसो बढाउने खालको मानिन्छ। आँपको मुख्य घटक सर्करा हो जो विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म विद्यमान रहन्छ। यसमा पाइने मुख्यत: चिनी आँपको खान योग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ। ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म हुन्छ।
यसमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ। साइट्रिक अम्ल भने अल्प मात्रामा रहन्छ। यो अम्लको शरीरद्वारा उपयोग गरिन्छ र यो शरीरमा क्षारीय सञ्चय कायम राख्नमा सहयोगी हुन्छन्।
आँपको अन्य घटकमा प्रोटिन ९.६, बोसो ०.१, खनिज पदार्थ ०.३, रेसा १.१, फास्फोरस ०.०२, र फालम ०.३ प्रतिशत रहन्छ। करिब ८६ प्रतिशत नमीको मात्रा रहने आँपको एक सय ग्राममा औसत ऊर्जा करिब ९० क्यालोरीसम्म हुन्छ।
वैज्ञानिकहरूले आँप खानाले स्तन क्यान्सरबाट बचाउ हुनेसमेत जनाएका छन्। टेक्सास एग्रिलाइफ रिसर्च फुडका वैज्ञानिकहरूले आफ्नो नयाँ अनुसन्धानमा यसलाई अन्य फलहरूको दाँजोमा स्तन क्यान्सरबाट बचाउ गर्नमा बढी फाइदाजनक मानेका छन्। यस्तै, आँप छाला चाउरिनबाट रोक्नसमेत प्रभावकारी मानिन्छ।