दमकल छ, काम लाग्ने छैन

लीला श्रेष्ठ

भक्तपुर — जिल्लामा दमकल छ, काम लाग्ने भने छैन । आगलागी हुँदा बाहिरबाट मगाउनुपर्छ । बालकोटस्थित कपास उद्योगमा गत शनिबार भीषण आगलागी भयो ।


स्थानीय बासिन्दाले जुद्ध वारुणयन्त्र भक्तपुरमा खबर गरे । तर, जिल्लामा सञ्चालित एकमात्र दमकल पनि बिगि्रएर मर्मतका लागि पठाएको भन्दै भक्तपुरले काठमाडौं महानगर, ललितपुर उपमहानगरमा खबर गरे । काठमाडौं, ललितपुरबाट दमकल त आयो । तर, ढिला आएको भन्दै स्थानीय बासिन्दाले दमकलमाथि नै आक्रमण गरे । 'उपत्यकामै सबैभन्दा छिटो पुग्ने दमकल हाम्रो हो,' जुद्ध वारुणयन्त्रका कार्यालय, भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले भने, 'दमकल जीर्ण भएर थन्किएका छन्, आगो लागेका बेला टुलुटुलु हेरेर बस्न बाध्य भयौं, दुःख लाग्यो ।'
भक्तपुरका पाँच दमकलमध्ये चारवटा जीर्ण भएर थन्किएका छन् । सञ्चालित एउटा पनि बिगि्रएर मर्मतका लागि ग्यारेज पठाएको धौभडेलले बताए । बजेट अभावले दमकल बनाउन नसकेको उनले जनाए ।
२००१ मा अमेरिकाबाट 'मोडेस', ०२२ मा 'डेनिस', ०३२ मा ल्याइएको बेलायती 'म्यागि्रस डज' दमकल र 'बेड फोर्ट' दमकल वर्षौंदेखि बिगि्रएर थन्किएका छन् । 'म्यागि्रस डज' ६ वर्षदेखि, 'मोडेस' ०४८ देखि र 'डेनिस' भने ०५० देखि जीर्ण बनेर
थन्किएको हो ।
'म्यागि्रस' दमकल भने बन्न सक्ने अवस्थामा रहेको कार्यालयले जनायो । 'तीनवटा दमकल बन्नै नसक्ने अवस्थामा पुगिसक्यो, जेनतेन चलिरहेको एउटा दमकल मर्मतका लागि ग्यारेज पठाएका छौं,' धाैभडेलले भने ।
'म्यागि्रस' को मर्मतका लागि करिब १५ लाख खर्च लाग्ने धौभडेलले बताए । मर्मतका लागि ग्यारेज पठाएको दमकल केही दिनभित्रै आउने भए पनि पुरानो बनाउन सके केही राहत हुने उनले जनाए ।
सरकारले ०६६ साउनमा दमकलको जिम्मेवारी स्थानीय निकायलाई दिने निर्णय गरी ललितपुर र काठमाडौंको दमकल नगरपालिकाले लिएको छ । भक्तपुरको दमकल भने भक्तपुर नगरपालिकाले लिन नमानेपछि अहिले पनि गृह मन्त्रालयअन्तर्गत नै रहँदै आएको कार्यालयले जनाएको छ ।