नेपालमा सडक: दक्षिण एसियाकै कमजोर

आशिष गजुरेल

काठमाडौ — देशको विकास दिन दुगुना रात चौगुना गराउने सपनाहरू बाँडिरहेका छन् नेताहरू ।

तर सडकको विकासलाई भने प्राथमिकतामा राखेको पाइँदैन । यहाँ देशको नेतृत्व सम्हालिरहेकाहरूले बुझ्नुपर्ने मुख्य कुरा के हो भने देशको विकास सडक र यातायातको विकासले मापन गरेको हुन्छ । सडक र यातायात बलियो भए देशको अर्थतन्त्र पनि मजबुत हुन्छ । तर विकासकै मुख्य पूर्वाधार मानिने नेपालको सडकको स्थिति दयनीय छ । दक्षिण एसियाकै कमजोर सडकमा दरिएको छ, नेपाली सडक । विश्व बंैकको तथ्याङ्कअनुसार नेपालको कुल सडक घनत्व दक्षिण एसियाकै कमजोर देखिएको हो । भौतिक संरचनाको दृष्टिबाट सडकहरू कमजोर भएका हुन् ।
आईएलओ २००९ अनुसार नेपालको सडक सञ्जालको घनत्व एक हजार जनसंख्या बराबर ०.६ किमि छ । जबकि सडकको घनत्व भुटानमा ६.५ किमि घनत्व छ । श्रीलंकामा ४.७ किमि, भारतमा ३ किमि, बंलादेशमा १.९ किमि र पाकिस्तानमा १.७ किमि छ । २०१३ को सडक विभागको तथ्याङ्कअनुसार हाल नेपालको सडकको लम्बाइ ६२५७९ किमि छ । तथ्याङ्क अनुसार सडक पुगेका ठाउँहरूमध्ये जम्मा ४३.५ प्रतिशत सडकमात्र सबै मौसममा चल्ने छन् । पहाड र हिमाली प्रदेशमा सडकको अवस्था नाजुक छ । बनेका मध्ये ६०.५ भन्दा बढी सडक सञ्जाल तराईमा मात्र सीमित छ । यस्तो संरचनाले नेपालको विकास कसरी हुन्छ ? कुनै युवाले तरकारी खेती गर्नुपर्‍यो, पशुपालन गर्नुपर्‍यो, फलफूल खेती गर्नुपर्‍यो भने उसको लागि पहिलो आवश्यकता सडक हो । माथिका जुनसुकै व्यवसाय थाले पनि औषधीमूलोदेखि बजार व्यवस्थापनसम्मका लागि यातायात आवश्यक छ । भनेको समयमा बजारमा नपुग्ने र रोग लागेको बेला औषधी नपुग्ने हो भने व्यवसाय पूर्णरूपमा डुबान हुन्छ ।
२१ औं शताब्दीमा पनि ७५ वटै जिल्लामा सडक जोडिएका छैनन् । आज पनि २ जिल्ला छन्, जहाँ यातायातको साधन भित्रने सडक सुविधा पुगेको छैन । यस्तो स्थितिमा दोहोरो अंकको आर्र्थिक वृद्धि सम्भव हुन्छ र ?
सडककै कुरा कमजोर हुँदाहँुदै नेपालमा रेल र हवाइमार्गको कुरालाई पनि वैकल्पिक सवारीका रूपमा आवाज उठाइरहेका छन् । हुन पनि अरु दक्षिण एसियाली मुलुकहरूमा रेलको विकास छ । जलमार्गको पनि विकास छ । हवाइमार्गको पनि विकास छ र पो उनीहरूको देशको विकास भएको छ । तर नेपालमा रेल कुद्ने सडक जम्मा ५२ किमिमात्र छ । रेलमार्ग बनाउन सडक बनाउनभन्दा धेरै गुणा खर्च लाग्ने गर्छ । त्यसैले रेलमार्ग बनाउनुभन्दा सडकमै जोड दिनु उचित देखिन्छ । सडक मार्ग नभई सामान ढुवानी गर्न सकिन्न । समुद्रले नछोएकोले जलमार्गको कुरै भएन । हवाइमार्गले देशको समग्र यातायातलाई धान्न सक्दैन र यो सामानको ओसार-पसारमा भएको प्रयोग न्युन नै छ ।
त्यसैले नेपालमा अविलम्ब रोडको विस्तार र रेलको विकासमा लाग्नुपर्छ । भौतिक पूर्वाधार विशेषगरी यातायात पूर्वाधार आर्थिक विकासका लागि एक महत्त्वपूर्ण कारक हो । यातायातको विकासले आवत-जावतको मूल्यमा कमी ल्याउँछ, जसले गर्दा मानिसलाई यात्रा गर्न प्रोत्साहन गर्छ । समाजमा जति यात्राको मात्रा बढ्छ, त्यति नै सामाजिक र व्यापारिक क्रियाकलाप बढ्न जान्छ, जसको कारण अर्थतन्त्रमा उत्पादनशीलता बढाउँछ ।
यातायातले सामाजिक लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार व्यसायलाई प्रोत्साहन प्रदान गर्छ । यातायातको अर्थतन्त्रमा निकै ठूलो प्रभाव रहन्छ । बेलायतको औद्योगिक क्रान्तिलाई रेलको विकासले नै सफल बनाएको हो ।
काठमाडौं-निजगढ दु्रतमार्ग, काठमाडौं-हेटौंडा सुरुङमार्गको विकास गर्ने कुरा निकै अगाडि भएको हो, तर बनेको छैन । यस्ता परियोजना देशको प्राथमिकतामा परेर विकास गर्नुपर्छ ।
अरु क्षेत्रको विकास गर्न पहिले सडकको विकास गर्नुपर्ने हुन्छ । जस्तो जलविद्युत विकास गर्न परियोजनासम्म मानिस र सामान ढुवानी गर्न पनि सडककै आवश्यकता पर्छ । विकसित यातायात कुनै पनि अर्थतन्त्रको विकासको अपरिहार्य हो । पर्यटन क्षेत्र अर्को नेपालको अर्थतन्त्र धान्ने क्षेत्र हो, जसको विकास पनि यातायातमा नै निर्भर छ ।
नेपालमा सडक र रेलका धेरै परियोजनाहरूको अवधारणाहरू आएका छन् । तर कार्यान्वयन हुन भने निकै समय लागिरहेका छन् । नेपालको भौगोलिक संरचना हेर्ने हो भने सडक निर्माण निकै चुनौतीपूर्ण छ । यस्ता चुनौतीले गर्दा सडक बनाउन निकै धेरै खर्च लाग्ने गर्छ । तर पनि संसारमा नेपालको जस्तो भौगोलिक संरचना भएका देशहरू छन्, जस्तै स्विटजरल्यान्ड जहाँ यातायात संरचनाको राम्रो विकास भएको छ ।
सडकले आर्थिक वृद्घलिाई प्रोत्साहन भने अवश्य नै गर्छ । सडक हुने बित्तिकै कलकारखानाको स्थापना गर्न प्रोत्सहन हुन्छ, व्यवसाय गर्न प्रोत्साहन मिल्छ । किनभने सडकले कच्चापदार्थ ल्याउन सजिलो बनाउँछ र उत्पादन भएका वस्तुको बजार व्यवस्थापन पनि हुन्छ । मुस्ताङमा धेरै स्याउ फल्छ । यातायातको सुविधा नभएकोले स्याउनको बजार व्यवस्थापन हुनसकेको छैन र नष्ट भएर जान्छ । स्याउ अमेरिका, भारत र चीनबाट ल्याउनुपर्छ, नेपालमा । यदि मुस्ताङमा राम्रो सडक हुने थियो भने त्यहाँको स्याउ नेपालको गाउँ-गाउँमा पाइने थियो । विदेशिने थियो । यसरी आज नेपालमा धेरै उत्पादन सडक अभावले नष्ट भइरहेका छन् । सडक बनेका पनि छन् । तर गुणस्तरीय सडक हुनुपर्नेमा सरकारले जोड दिनुपर्छ । विश्वसनीय सडकले मात्र कलकारखानाको विकास हुन्छ ।
लेखक ट्राफिक इन्जिनियर हुन् ।