फेसनमा आत्मकथा

सुजित महत

काठमाडौ — पूर्वसेनापति रुकमांगद कटवालको आत्मकथाको चर्चा सेलाएकै थिएन, किताबको पक्ष-विपक्षमा चर्काचर्की चलिरहेकै थियो- पत्रकार विजय कुमारको संस्मरण खुसी सार्वजनिक भयो।

भदौ महिनामै थप दुई आत्मकथा बजारमा आएका थिए, पुष्कर शाहको  संसारलाई एक फन्को र मोहनमान सैँजुको बुधबारेदेखि चाकुपाटसम्म। भलै साइकल यात्री शाह र अर्थशास्त्री/कूटनीतिज्ञ सैँजुको किताबको कटवाल र विजय कुमारका कथाजति चर्चा भएन। पछिल्लो छिमलमा विनोद सिजापतीको सहयोगमा लेखिएको पुराना  राजनीतिज्ञ विश्वबन्धु थापाको आत्मकथा गत साता बजारमा आएको छ। र, एक वर्षमा दर्जनौँ आत्मकथा/संस्मरण लाइन लाग्ने निश्चित छ।
'विद्वान्हरूका आत्मकथा यसरी आउन थाले कि, मधेसी अधिकारकर्मी तुलानारायण साहले ट्वीटरमा टिप्पणी गरे, 'रफ्तार जारी रहे मासिक आम्दानी खर्चको सन्तुलन गडबडाउने भयो।' करबि दुई वर्षको अवधिमा लोकराज बराल, हृषीकेश शाहजस्ता बौद्धिक,  पत्रकार किशोर नेपाल, कलाकार हरविंश आचार्य र अर्बपति विनोद चौधरीको आत्मकथा पढ्ने मौका पाठकले पाइसकेका छन्।
"आफ्नो क्षेत्रमा पढ्नलायक भूमिकाको इतिहास अभिलेखबद्ध गर्नलायक व्यक्तिको आत्मकथा पाठकसमक्ष आउनु स्वागतयोग्य हुन्छ," राजनीतिशास्त्रका प्राध्यापक एवं विश्लेषक कृष्ण खनाल भन्छन्, "तर, बजारमा आत्मकथाको बाढी देख्दा फेसन पो चलेको जस्तो  छ।" फेरि, कतिपय इतिहास निर्माताको आत्मकथा नपाउँदा यो फेसन अलि ढिलो पो आयो कि भन्ने लागेको पनि उनी सुनाउँछन्। जस्तोः कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको आत्मकथा पढ्न नपाउनुको थकथकी छ, जसबाट इतिहासका कतिपय  कालखण्डका पाटा उघि्रन सक्थे। पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले आत्मकथा लेखेका भए नेपालको न्यायिक इतिहास बुझ्न सजिलो हुन्थ्यो। ०४७ सालको संविधान जन्माउँदाको प्रसव वेदना छर्लंग हुन्थ्यो।
विस्तारित बजार
संसारभरि नै आत्मकथा (अटोबायोग्राफी) र जीवनी (बायोग्राफी)को बजार छ। किनभने, 'सेलिबि्रटी'का कुरा पढ्ने चासो जहाँ पनि हुन्छ। नेपालमा पनि यसको एउटा बजार तयार भएको छ। जस्तोः विनोद चौधरीको आत्मकथा करबि ३० हजार प्रति बिक्री भएको  दाबी गर्ने पब्लिकेसन नेपालयको नयाँ दाबी अनुसार रुकमांगद कटवालको आत्मकथा २५ हजार प्रति बिकिसकेको छ। प्रकाशक फाइनपि्रन्ट हरविंश आचार्यको आत्मकथा ६५ हजारभन्दा बढी बिक्री भइसकेको दाबी गर्छ। "आत्मकथाका लागि एउटा बजार तयार  भएको देखिएको छ," अनुसन्धाता प्रत्युष वन्त टिप्पणी गर्छन्।
फाइनपि्रन्टका अजित बराल उपन्यासपछि बिक्री हुने विधाका रूपमा आत्मकथा आएको बताउँछन्। यद्यपि, नेपालमा आत्मकथा/संस्मरण लेखनको परम्परा नौलोचाहिँ होइन। समीक्षक हरि अधिकारी भन्छन्, "अहिले केही व्यवस्थित तरकिाले लेख्न, लेखाउन सुरु  भएको हो।" बीपी कोइरालाको आत्मकथाले नै पनि लेखनको यो विधा भर्खर सुरु भएको होइन भन्ने पुष्टि गर्छ। तर, फरक के छ भने विगतमा सोखका लागि लेखिन्थ्यो भने अहिले पैसा कमाउने अवस्थासमेत बनेको छ।
विगतमा व्यापारी वा दरबारिया भाइभारदारलगायतका धनीमानीले जीवनका उत्तरार्द्धमा आफ्नो कथा लेख्ोकै हुन्। ठूल्ठूला व्यवसायीका जीवनीमा शुभचिन्तकले गाएको प्रशस्तिगान राखेर मृत्युपछि स्मृति ग्रन्थ लेख्ने आफ्नै परम्परा छ। नेपालयका किरणकृष्ण श्रे ष्ठका अनुसार अन्तर्राष्ट्रिय बजारमा आख्यान र त्यसमा पनि उपन्यास विधापछि आत्मकथा/संस्मरण सबैभन्दा बढी बिक्री हुन्छन्। नेपाल पनि अन्तर्राष्ट्रिय बजारभन्दा फरक हुन सक्तैन भनेरै व्यवस्थित तरिकरले लेख्ने/लेखाउने परिपाटीको पहल थालेको उनी  बताउँछन्।
सार्वजनिक जीवनबाट निवृत्त भएर कथा भन्न सक्ने अवस्थाको एउटा पुस्ता ठ्याक्क तयार भइसक्नुलाई आत्मकथाको बाढी देखिनुको प्रमुख कारण ठान्छन्, अनुसन्धाता वन्त। भन्छन्, "कथाको आश गरिएका व्यक्तित्वको पनि जमात तयार भएको छ।" हुन पनि  शिक्षा आमनागरकिको पहुँचमा पुगेकै करबि ६० वर्ष मात्र भएको मुलुकमा यस्तो कथा भन्न सक्ने जमात यसअघि तयार भइसकेको थियो भन्न सकिन्न। हरविंश आचार्य, रुकमांगद कटवाल, विनोद चौधरी, विजय कुमार पाठकले उनीहरूका कथा सुन्न मन गरेकै  पात्र हुन्। यस्तै कतिपय आत्मकथा भन्नलायक पात्र छन्, जसको कथा लेखिँदै गरेको छ, यसमा पञ्चायतका धुरन्धर सूर्यबहादुर थापा एवं पूर्वमन्त्री, कूटनीतिज्ञ तथा अर्थविद् भेषबहादुर थापा आदि। छापियो भने कांग्रेस र पञ्चायतमा सत्ताको केन्द्रमा रहेका तुलसी  गिरीका कथा पनि बिक्री हुनेहरूकै सूचीमा पर्नेछ।
आफ्नो कथा र सत्यतथ्य

विगतका घटनाक्रमका थुप्रै पाटा अभिलेखबद्ध नभएको मुलुकमा आत्मकथाले परिपूर्तिको काम गर्ने विनोद सिजापती बताउँछन्। भन्छन्, "त्यसैले आत्मकथाले नदेखेको पाटो देखाइदिनुपर्छ।" तर, आत्मकथामा आफ्नो बखानलाई लेखकको कमजोरी ठान्छन् उनी।  "धनीले म धनी भनेर किन दाबी गररिहनु, बुद्धिमानले मसँग बुद्धि छ किन भनिरहनु," सिजापती थप्छन्, "यहाँका आत्मकथा यस्तै कुरामा चुकेका छन्।" एउटामा झूटको खेती हुन्छ र अर्कोमा मपाईंत्वको भरमार हुने कुरा पहिल्यै थाहा भएकाले बजारमा चर्चामा  रहेका पूर्वसेनापति कटवाल र पत्रकार विजय कुमारका आत्मकथा नपढेको र नपढ्ने उनी बताउँछन्। बरू, चर्चामा नरहेको मोहनमान सैँजुको संस्मरण आफूलाई ठीकै लागेको उनी सुनाउँछन्। भन्छन्, "राजा महेन्द्रले सुरु गरेको भूमिसुधारका कतिपय नउघारएिका  पाटा संस्मरणमा छ।"
आत्मकथामा म, मेरो परिवार, इष्टमित्र धेरै भएको बताउने भेषबहादुर थापा आफूले 'म' भन्ने शब्दलाई गौण मानेको सुनाउँछन्। आफ्नो आत्मकथामा उनले २२ वर्षको उमेरमा एकैचोटि सचिव बनेको अवस्था र काम गरेका राजा महेन्द्र र वीरेन्द्रको शासनशैली  र भिन्नतालाई प्रस्ट्याउने प्रयत्न गर्ने बताएका छन्। लेखनमा थापालाई सघाइरहेका सिजापती सुनाउँछन्, "यसमा नेपालको कूटनीति र भारतसँगको सम्बन्धको कथा छ। नेपाल-भारत सम्बन्धमा त आत्मकथाले सतहमा रहेका तथ्यलाई उजागर गरिदिने छ।"
राष्ट्रपति रामवरण यादवका सल्लाहकार एवं अनुसन्धाता हरि शर्मा पनि लेखकको क्षेत्रको समकालीन इतिहास कथामा अपेक्षा गर्छन्। जस्तोः पूर्वप्रशासक एवं प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको कथा पढ्दा खोटाङको निम्नमध्यम वर्गीय परिवारको केटा  कसरी संघर्ष गर्दै कर्मचारीतन्त्रमा उच्च पदमा पुग्यो भन्नेदेखि प्रशासनतन्त्रको समकालीन अवस्थाका बारेमा सरसरती जानकारी पाएको भए हुन्थ्यो। "त्यस्तै, हरविंश आचार्यकोमा रंममञ्चको समकालीन अवस्थाका बारे र अझ विश्व रंगमञ्चसँग तुलना गरिएको  कथा पढ्न पाएको भए मज्जा हुन्थ्यो," उनी भन्छन्।
के हो आत्मकथा ?
'आत्मकथाको महत्त्वपूर्ण कडी आत्मसमीक्षा हो,' होमर श्रेष्ठ ट्वीट गर्छन्, 'नेपाली आत्मकथाहरूमा त्यही कुराको अभाव देखिन्छ।' 'प्रायः सबै आत्मकथा चप्पल लाउन मुस्किल थियो, भोकै सुत्या थेँ, अहिले ठूलो मान्छे भाछु भन्ने न हो,' ट्वीटरमै मधुकर  उपाध्यायले टिप्पणी गरेका छन्।समीक्षक उज्ज्वल प्रसाईंका भनाइमा, लेखकले भोगेको समयलाई चियाउने झ्याल हुनुपर्छ आत्मकथा, जुन झ्यालबाट हेर्दा लेखकको समयको समाज, समाजसँग उसले गरेका अन्तरक्रिया, उसले काम गरेको क्षेत्रको अवस्थाको जानकारी पाइनुपर्छ। वन्तका  अनुसार आत्मकथा र जीवनीबाट अपेक्षा गर्ने कुरा पाठकपिच्छे फरक हुन्छन्। उदाहरणका लागि, अहिले आत्मकथा लेख्नेहरू पञ्चायतकाल भोगेकाहरू हुन्। पञ्चायतको इतिहासमा रुचि भएकाले आत्मकथा/जीवनीमा उसले भोगेको पञ्चायतकालका नखुलेका पाटा  वन्त आश गर्छन्। पञ्चायतकालको प्रशासन, राजनीति वा रंगमञ्चको बढीभन्दा बढी जानकारी उनी खोज्छन्।
जीवनीमा गहन अनुसन्धान चाहिन्छ भने आत्मकथामा पनि अनुसन्धान आवश्यक हुन्छ। अनुसन्धानका लागि बौद्धिक पूर्वाधार निकै कमजोर रहेकाले तिनको प्रतिविम्ब हाम्रा आत्मकथा/जीवनीमा देखिएको वन्त बताउँछन्। "भारतीय जीवनी लेखक रामचन्द्र गुहाले  अनुसन्धानको परपिाटी र पूर्वाधार कमजोर भएकाले बायोग्राफी लेखन दक्षिण एसियामै कठिन भएको बताएका थिए," उनी भन्छन्, "नेपालको हालत दक्षिण एसियामै कमजोर छ।" उनका अनुसार लेखनमा दस्तावेजहरूको पर्याप्त संकलन, तिनमा लेखकको पहुँचका  साथै लेखेर जीविका चलाउने कुरा जोडिएर आउँछन्। उनी थप्छन्, "मञ्जुश्री थापाले चन्द्र गुरुङको बायोग्राफी लेखन ६ महिनामै पूरा गर्नुपर्ने बाध्यता उल्लेख गरेकी छन्। जबकि, बायोग्राफी लेखनमा तीन-चार वर्ष लाग्नु सामान्य हो।"
आत्मकथामा इमानदारीका कुरा संसारभरि उठ्ने गरेको छ। तर, झूटको खेतीमा तत्काल फाइदै देखिए पनि अन्ततोगत्वा त्यसको मूल्यांकन भइहाल्ने भएकाले लेखक सतर्क भएकै बेस भन्ने वन्तको सुझाव छ। भन्छन्, "पूर्वसेनापति कटवालको कथाको बिक्री धेरै  भए पनि व्यक्त प्रतिक्रिया उनका लागि प्रत्युत्पादक नै हुन्। किशोर नेपालको मेरो समय मोटो हुनुका साथै घटनाक्रम नै तोडमरोड भएको भन्ने आरोप उनकै वृत्तबाट लागेपछि बजार नै तताउन नसकेको हो।"
विवेक शाहको मैले देखेको दरबार पढ्दा माओवादी विद्रोहकालमा दरबारले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कसरी समानान्तर भूमिका खेलेको थियो भन्ने कुरा छर्लंग हुनुले नै किताब आफ्ना लागि पैसा वसुल भएको प्राध्यापक खनाल सुनाउँछन्।
एक वर्षभित्र आएकामा हृषीकेश शाह र लोकराज बरालको आत्मकथाले वन्तलाई निराश पार्‍यो। भन्छन्, "बरालको आत्मकथा फितलो पाउँदा त पीडा नै भयो।" चार दशकभन्दा बढी त्रिभुवन विश्वविद्यालयमै बिताएका बरालले विश्वविद्यालयको अधोगतिकै बारेमा  नयाँ जानकारी दिन सकेनन्। "विश्वविद्यालय खत्तम हुनुमा राजनीतिक हस्तक्षेप र बजेट अभावबाहेक केही कुरा आउँदैन," वन्त भन्छन्, "त्यहीँ जीवन बिताएका विद्वान्ले पनि तिनै दुई कुराबाहेक केही लेख्दैनन् भने के भन्ने ?"
कटवालले त ०६१/६२ पछिको सबै राजनीति आफ्नै वरपिरि घुमेको जस्तो पार्न खोजेका छन्। सेनापति नहुँदै पनि सेनामा आफैँले सब गरेको हो कि जस्तो भान पार्न खोजेका छन्।
आत्मकथामा उद्योगपति चौधरीले आफू र परिवारलाई जहाँ पनि सही साबित गर्ने प्रयास गरेका छन्। गल्तीजति शासन प्रणाली, उनका साथीभाइ र प्रतिस्पर्धीकै थियो, उनी र परिवार बेदाग भन्ने खालको जिकिर छ उनको। उनको तारिफ पाउने थोरै 'भाग्यमानी'मा  तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह परेका छन्। तर, धीरेन्द्रको 'धन्दा'का बारेमा भने मौन छन्।
आत्मकथा भावी पिँढीसम्मलाई इतिहास देखाउने माध्यम भएकाले त्यसमा सत्यतथ्य हुनैपर्छ र यो आत्मकथा हुनका लागि चाहिने पहिलो योग्यता हो। सिजापती भन्छन्, "झूटको खेती गरेर गम्भीर रुचि हुनेलाई भ्रममा पार्ने काम लेखकले गरिदनु भएन।"
नेपाल साप्ताहिकबाट