सुन्दर दैलेख

काठमाडौ — धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक दृष्टिले नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा रहेको दैलेख अत्यन्त महत्त्वपूर्ण मानिन्छ। देवल, पञ्चकोसी, वीरस्तम्भ, मठमन्दिर जस्ता अमूल्य भौतिक आधार यहाँ प्रशस्तै देख्न सकिन्छ।

रोचक र महत्त्वपूर्ण दृश्यहरू हुँदाहुँदै पनि प्रत्यक्ष अवलोकन नगरेका धेरै छन्। फोटोग्राफर भरतबन्धु थापाले दैलेखबारे चासो दिनेहरूका लागि फोटो प्रदर्शनी गरे। राजधानीमा तीन दिनदेखि उनले 'दैलेख इतिहास, प्रकृति र संस्कृति' थिममा एकल फोटो प्रदर्शनी गरेका हुन्। अन्तिम दिन आइतबार पनि अवलोकनकर्ताको भीड थियो। बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा पर्यटकहरू चाहिँ फोटो हेर्ने मात्रै होइन, आफ्नो गाइडसँग तस्बिरमा प्रस्तुत ठाउँहरूको विशेषताबारे सोधिरहेका थिए।
एक दशकदेखि फोटोग्राफीमा लागेका भरतले खासगरी कुनै न कुनै स्थानको भौतिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई क्यामेरामा कैद गर्दै आएका छन्। केही वर्षअघि उनले सुर्खेतका अमूल्य पक्षमाथि केन्दि्रत भई तस्बिर प्रदर्शनी गरेका थिए र त्यसलाई पुस्तकमा समेत निकालेका थिए। 'दैलेख' को सुन्दरताले पनि भरतलाई मन छोयो। त्यहाँ लुकेर रहेको सुन्दरतालाई बाहिर ल्याउन फोटोलाई माध्यम बनाएको उनले बताए। 'पर्यटकीय दृष्टिले दैलेख उपयुक्त ठाउँ हो,' उनले भने, 'पर्याप्त प्रचारप्रसार नभएकाले त्यति प्रभाव बढ्न सकेको छैन।'
उनले खिचेका तस्बिरमा दैलेखको सौन्दर्यसँगै जीर्ण, लोप र अव्यवस्थित अवस्थासमेत सम्पदाहरू नियाल्न सकिन्छ। ऐतिहासिक महत्त्व बोकेका मठ-मन्दिरको अवस्था नाजुक हुँदै गएको देख्न सकिन्छ। धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिने दैलेखको शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र तल्लो डुंगेश्वर पञ्चकोसी तीर्थस्थलको आकर्षक दृश्य उनले प्रदर्शनीमा प्राथमिकतामा राखेका थिए। त्यस्तै, नेपाली भाषामा लेखिएको अहिलेसम्म फेला परेकामध्ये पहिलो मानिने दामुपालको अभिलेख पनि दैलेखमै छ। दुल्लु नगरपालिकामा पर्ने यस वीरस्तम्भमा चेतनाको अभावका कारण हँसियामा धार लगाउने प्रचलन बढ्न थालेको भरतले बताए।
उनले त्यसको ताजा प्रमाणसहित फोटोको क्याप्सनमा समेत उल्लेख गरेका छन्। कीर्तिखम्ब, कोतगढी, दुल्लु दरबार, नारायण मन्दिर, विलासपुर मन्दिर, बालेश्वर शिवालयलगायत महत्त्वपूर्ण धार्मिक स्थलको सौन्दर्य फोटोमा देख्न कैद गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र दैलेख उद्योग वाणिज्य संघले गरेको प्रदर्शनीको उद्देश्य दैलेखको पर्यटकीय प्रचारप्रसार गर्नु रहेको उनले जनाए। भरतले यही तस्बिर अन्य जिल्लामा पनि प्रदर्शन गर्ने र पुस्तक समेत निकाल्ने योजना रहेको खुलाए।