१९८ वर्षअघिको पत्र

दिनेशराज पन्त र जनकराज सापकोटा

काठमाडौ — पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछिका दिनमा विशाल नेपालका भूभागहरू अनेकन शाही भारदारहरूको जिम्मामा छोडिएको थियो ।

ती क्षेत्रमा खटिएका सेनाको कमान्ड सम्हाल्नु, भूगोलको रक्षा गर्नु र कही कतैबाट आक्रमण हुने खतराबाट जोगाउनु भारदारहरूको मुख्य कर्तव्य थियो । विस १८७१ कात्तिक ७ गते साना अमरसिंह थापाको मृत्यु भएपछि पाल्पा क्षेत्रको कमान्ड उजिरसिंह थापाले सम्हालेका थिए । त्यसअघि पाल्पामा सेन राज्यको शासन थियो । तिनै उजिरसिंहले सो क्षेत्रको सैन्य गतिविधि समेटेर पाल्पा श्रीनगरबाट काठमाडौंमा बस्ने जर्नेल भीमसेन थापा र काजी रणध्वज थापालाई विसं १८७२ मा लेखिएको हस्तलिखित पत्र फेला परेको छ ।यो पत्रमा भीमसेन थापाको जर्नेल पदवीअगाडि ६ वटा श्री लगाइएको छ र सोझै भीमसेन थापाको नाम नलेखी 'जर्नेल बाबाजु' भनेर लेखिएको छ भने रणध्वज थापालाई तीनवटा श्री लगाई 'काजी बाबा' सम्बोधन गरिएको छ ।  
भीमसेन थापाका माइला भाइ नयनसिंह थापाका जेठा छोरा उजिरसिंह विसं १८५२ मा जन्मिएका हुन् । नयनसिंहले कांगडाको युद्धमा विसं १८६३ मा वीरगति पाएका थिए । त्यतिबेला उजिरसिंह ११ वर्षका मात्र थिए । बाजे साना अमरसिंह थापाको मृत्युपछि भीमसेन थापाले उजिरसिंहलाई पाल्पामा शासकका रूपमा पठाएका थिए । त्यतिबेला यिनको उमेर जम्मा १९ वर्ष मात्रै थियो । उजिरसिंहभन्दा पहिले पाल्पाको शासन भीमसेन थापाका बाबु साना अमरसिंह थापाले सम्हाल्थे । स्मरणीय छ, विसं १८५५ मा जन्मेका उजिरका भाई माथवरसिंह थापा तिनै व्यक्ति हुन् जसले नेपालको पहिलो प्राइममिनिस्टर बन्ने सौभाग्य पाएका थिए ।
पत्रमा सम्बोधन गरिएका काजी रणध्वज थापाचाहिँ बडाकाजी अमरसिंह थापाका छोरा हुन् । उनी भीमसेन थापाको सहायकको रूपमा केन्द्रमै कार्यरत थिए । विस १८०८ मा जन्मेका अमरसिंह थापा र विसं १८१६ मा जन्मेका अमरसिंह थापा एकै समयमा भएकाले पहिलोलाई बडा अमरसिंह थापा र अर्कोलाई साना अमरसिंह थापा भन्ने चलन थियो । बडा अमरसिंह थापाका बाबु भीमसेन थापा हुन् जो, बाघ भीमसेन थापाको रूपमा पनि प्रसिद्ध थिए । साना अमरसिंह थापाका छोरा भीमसेन थापा हुन् । यी दुवै वगाले थापा हुन् र नगिचैका दाजुभाइ हुन् ।
मुख्यितार भीमसेन थापाले विसं १८७२ श्रावण कृष्ण तृतीयाको दिन पठाएको पत्र श्रावण कृष्ण सप्तमीका दिन पाल्पा पुगेको विवरण यो पत्रमा उल्लेख छ । अर्थात् काठमाडौंबाट झन्डै तीन सय १५ किलोमिटरको दूरीमा रहेको श्रीनगरमा पत्र पुग्न पाँच दिन लागेको देखिन्छ । यो तथ्यले आजभन्दा १ सय ९८ वर्षअघि जति बेला आधुनिक सञ्चार प्रणालीको विकास भएको थिएन त्यति बेलाको सञ्चार प्रणाली कस्तो थियो भनेर बुझ्न सघाउ पुर्‍याउँछ ।
यो पत्रमा पश्चिमतिरबाट भारदार र फौज डोटी आइपुगेको कुरा उल्लेख गरिएको छ । काजी, रेवन्त कुँवर, बलभद्र कुँवर र भैरवसिहं दरबार अर्थात् काठमाडौं आउनू रणजोर थापा र जसबाहु थापा दैलेख बस्नू भनी पत्रमा आदेश दिइएको छ । रणजोर बूढाकाजी अमरसिंह थापाका छोरा हुन् ।
नेपालको शासक वर्गमा मान मर्यादाको कुरा कतिसम्म थियो भन्ने तथ्य पनि यो पत्रले प्रस्ट पारेको छ । त्यसैले आफूले मान्नैपर्ने कुराको नाम पत्रको पेटबोलीमा सीधै लेखिएको छैन बरु पत्रको शिरमा लेखिएको छ । दुई र तीन संख्या उल्लेख गरेर पेटबोलीमा ती नामको ठाउँमा थोप्लो प्रयोग गरिएको छ । पत्रमा काजी भन्ने शब्दपछि तीनवटा थोपा राखिएको छ । तर ती काजी को हुन् भनेर बुझ्न सकिँदैन किनभने पत्रको शिरमा २ र ३ लेखिएको देखिए पनि १ लेखिएको देखिंदैन ।
यतिचाहिँ बुझ्न सकिन्छ कि, ति काजी उजिरसिंहले सम्मान गर्नुपर्ने व्यक्ति हुन् । 'काजी भन्या दैवी ईच्छाले परमधाम प्राप्त भए' भन्ने लेखिएबाट ती काजीको चाँडै नै मृत्यु भएको देखिन्छ । पाल्पा नगिचैको कम्पनी सरकार अर्थात् अंग्रेज शासकको इलाकामा भएको सैनिक हलचलको कुरा पनि यहाँ लेखिएको छ । यो कुराबाट विसं १८७१/७२ को नेपाल-अंग्रेज युद्धको पहिलो चरण पूरा भई थामिएपछिको दोस्राे चरणको सम्भावित युद्ध गतिविधिलाई बुझ्न सकिन्छ । पाल्पा कब्जा हुँदा पाल्पाली राजपरिवारका केही मानिसहरू तराईको इलाकामा पुगी अंग्रेजको आश्रयमा बसे । तिनको बसोबासको व्यवस्था भने तत्कालीन कम्पनी सरकारले मिलाइदिएको थियो । उजिरसिंह थापाले यस पत्रमा उल्लेख गरिएको 'उतापट्टकिा' कुरा त्यही हो । बुटवल आक्रमणमा आएका अंग्रेेज सेनालाई उजिरसिंह नेतृत्वको सेनाले हराइदिएको कुरा यस प्रसंगमा स्मरणीय छ । यसरी कम उमेरका भए पनि उजिरसिंह बलियो नेतृत्व क्षमताका व्यक्ति थिए भनेर बुझ्न गाह्रो पर्दैन । यसले नेपाल अंग्रेज युद्धको परिप्रेक्ष्यमा नेपाली वीरहरूको मूल्यांकन गर्दा उजिरसिंहको नाम उच्च स्थानमा आउने प्रस्ट छ ।
पाल्पाको सिमाना नजिकैको अंग्रेजको सैन्य गतिविधिलाई बुझाउँदा झिरही भन्ने ठाउँको उल्लेख पनि आएको छ । पत्रमा उक्त ठाउँ लोटन भन्ने ठाउँबाट नचरवलमा जाने बाटोमा छ भनेर स्पष्ट खुलाइएको छ ।
राजा अचलसिंहले सुवेदार भक्तवत्सल मल्लमार्फत तीनवटा पत्र लेखेका र त्यो पत्र काजी सुवेदारका मानिसले काजी जितमानसिंह बस्न्यातकहाँ पठाएछन् । जितमानसिंह बस्न्यातहरूले ती पत्र पाल्पामा उजिरसिंहकहाँ पठाएछन् । पत्रमा उल्लेखित यी विवरणहरूले तत्कालीन समयमा शासकहरूले सूचनाहरू कसरी पत्रमार्फत आदानप्रदान गर्थे भनेर प्रस्ट पारेको छ ।
भीमसेन थापा र रणध्वज थापाको नामको चिठी र धर्मराज खत्रीले लेखेको दुईवटा चिठी र अमरदल कम्पनीको मेजरको नाममा भएको लालमोहर पनि सँगै पठाइएको कुराबारे पनि पत्रमा उल्लेख गरिएको छ । त्यसपछि अरू कुराको लागि म शिक्षार्थी अर्थात् जान्न सुन्न र बुझ्न चाहने व्यक्तिलाई कृपा रहँदैरहे बढिया होला भनी आफ्नो नम्रता देखाउँदै पत्र टुंगाइएको छ ।
लामो इतिहास बोकेको नेपाली सेनाको संरचनागत स्वरूपमा अहिले पनि विभिन्न गण र गुल्महरूको उपस्थिति छ । सेनाभित्र यस्तो अभ्यासको परम्परा झन्डै दुई सय वर्षअघिदेखि चलिरहेको रहेछ भन्ने प्रमाण पनि यो पत्रले पेस गर्दछ । किनकि पत्रमा तत्कालीन समयका विभिन्न समूह अर्थात् कम्पनीहरू गुरुबक्स कम्पनी, धनुखी कम्पनी र अमरदल कम्पनीको नाम उल्लेख गरिएको छ ।पत्रको छेउमा गणपतिको वेदोक्त सयौं शुभाशीर्वाद भनी लेखिएको छ । यताबाट यो पत्र लेखक अर्थात् लेख्ने गणपती नामका व्राह्मण देखिन्छन् ।श्री दुर्गा सहाय
श्री ७ सालिग्रामी

श्री धर्म

स्वस्ति श्रीसर्वोपमायोग्त्यादि सकलगुरुगरिष्टराजभारोध्दणसामर्थ श्रीश्रीश्रीश्रीश्री जर्णेल बाबाज्यूका चरणतल तथा श्रीश्रीश्री काजी बाबा रणध्वजथापाकेषु इत श्री उजीरसिंहथापाकस्य कोटिसाष्टांगदंडवत्सेवाशतम्पूर्वकपत्रमिदंम् इत नीक ताहा चरण कुशलमंगल भया हाम्रो उद्धार प्रतिपाल होलां आगे इहांको हकिगत् भलो छ. श्रावणवदि ३ का दिन लेषनुभयाको कृपापत्र वदि ७ का दिन आईपुग्यो अर्थ शीर चहाञौं. उप्रान्त पश्चिमबाट भारा फौज डोटि आईपुग्याको षबर आउदा काजी ---- ले र रेवन्त कवर वलभद्र कवर भैरवसिंले दर्बार आउनुं रणजोर थापा र जसबाहु थापाले दैलेष बस्नु भन्न्या लालमोहर चिठी र कबिलाहरुलाई वोकन्या डोल्या भरियासमेत् गया भनी लेष्नुभयाका अर्थ बढिया गर्नुभयेछ, वेलाबषत्अन्सारको चाहीन्या सल्लाह र चांजो गर्नै हुन्याछ बाँकी पछि जान्या जयसूर थापा कुम्मेदान् र देवीभगत् लपटैन्समेत् पल्टन्को फयर र कंपुका २ पट्टी सल्याना थामि अघि जान्या कंपुका ५ पट्टि र गुरुबक्सकम्पनीलाइ ली पाल्पा आउन्या काम् गर भनी काजी वीरभंजन् पंडे लप्टैन् जयद्रथ अधिकारीलाई मोहर चीठी पठायाका हेरी गुंदं लगाई सोइ पाठसित तेरो चीठी लेषी पठा भनी लेष्नुभयाका अर्थ काजिभन्या दैवि इछाले परमधाम प्राप्त भयाको षबर सल्याना बस्न्या भारादारबाट लेषीआउंदा सो बिजिनिस्समेत चहृई पठायाको हो मालुम भयोहो आज्ञा आयाबमोजीम पछि जान्या पल्टन्को फयर र कम्पुका पट्टीलाई सल्ल्यानाथामी अघि जान्या कपुका ५ पट्टी र गुरुबक्स्लाई तांहांबाट आयाका  मोहर चीठीसमेत् हाम्रा चीठी लेषी झीकाईपठाञौं. आईपुग्यापछिको षबर बिन्ति गरीपठाउला बाकी एस्तरफको षबरका अर्थ ---- २ नेरा मदारीपर्वत्को दाउंन्या भन्याका गौंडामा राष्याको धनुषीकम्पनीको सुबेदार गर्जमनि रानाले लेष्याका चीठीमा नचरवलनेराका मैदानमा तम्बु षण गर्याको देषीयों झिरहिमा र भंवरैयामा पुल बांधन्या सराजाम गर्छ भन्न्याषबर मानिस्ले ल्याउंदा निस्तुक बुभ्न पठाईराष्यांछौं भनी लेष्याको रहेछ र निस्तुक बुझन पठायाको बढिया गरिछस् छलकारी वैरिछ् पर्वत्या सिपाहि नचरवलमा उस्ले राष्याको छ पाल्पालिहरु छेदि भेदिछन् सैचानी राषी जो भयाको षबर तुरंत लेष्न्यागर उस्ले आउन्या डवल् गर्यो भन्या बल् पठाउंला भनी प्रतिउत्तर लेषीपठाञौं.जो षबर आवला बिन्ति गरी पठाउंला हामिलाई सुबेदारले लेष्याको चिठी विजिनिस् चह्ई पठायाको छ.दाषील् होला झिरहिभन्याको लोटन् देषी नचरवल जान्या रस्तामा छ बांकी राजा अचल्सिंले सुबेदार भक्तवत्सल्ल मार्फत् ----३ पत्र लेषी दियाको रहेछ सुवेदारका मानिस्ले काजि जित्मान्सीं बस्न्यात्हरु छेउ पठायाछन् उन्हेरुले ञांहां पठायाका छन् तपाञीहरुका नाउंको चीठीसमेत् रहेछ सो दुवै थोक र धर्मराज षत्रीले लेष्याको चिठी २ अमरदल्कंपनीका मेजरका नाउंको मोहर १ चहाई पठायाको छ दाषील् होला बांकी सबै काम् कुरालाई सिक्षर्त्तिहरुपा रहृया बढीया होला किमधिकं विज्ञ चरणेेषु इति सम्बत् १८७२ साल श्रावणवदि १० रोज २ मुकाम पाल्पा श्रीनगर शुभं