चिसो मौसम र बालबालिका

प्रदीप मेन्याङ्बो

जाडो मौसममा पाँच वर्षमुनिका बालबालिकालाई अत्यधिक रूपमा रुघा, खोकी दम, निमोनिया, डाइरियाजस्ता रोगव्याधि लाग्ने गरेको छ ।

चिसोमा बालबालिकालाई बचाउन गाउ घर होस् वा सहरमा अभिभावकहरू अनेक उपाय अपनाउने गरेका छन् । बालरोग विषेशज्ञ चिकित्सकहरूको भनाई र मान्यतालाई आधार बनाउने हो भने चिसो मौसममा सवैभन्दा बढी संक्रमित कुपोषण ग्रस्त बालबालिका नै हुने गरेका छन् ।
आश्चार्यलाग्दो त हुने खानेका परिवारमा जन्मे हुर्केका बालबालिकामा समेत कुपोषणले चाप्ने गरेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ । गरिबीका कारण खान लाउन नपुर्‍याएर कुपोषित भई जाडो मौसममा लाग्ने रोग गरिब परिवारका बालबालिकालाई मात्र बढी हुन्छ भन्ने पुरानो मान्यतालाई बालरोग विषेशज्ञ चिकित्सकहरूले खारेज गरेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालरोग विभागमा लामो समयदेखि कार्यरत बालरोग विषेशज्ञ चिकित्सक प्राध्यापक डा. निशाकेसरी भट्ट र सहप्राध्यपाक डा. ज्योति अग्रवालले कुपोषणले कमजोर भएका बालबालिकालाई चिसो मौसममा विभिन्न संक्रमण हुन सक्ने बताए पनि बालबालिकको लालनपालनबारे समग्र सामाजिक र पारिवारिक चलन पनि त्यसको कारक तत्त्व भएकोमा जोड दिए ।
डा भट्ट भन्छिन्, 'चिसो मौसममा पाँच वर्षमुनिका बालबालिकालाई रुघा, खोकी दम, निमोनिया, डाइरिया सम्भावना प्रवल रहन्छ । यस्ता रोग व्याधिबाट बचाउन हाम्रो समाजमा चिकित्सा विज्ञानले बनाएको मानक आधारको ठीक विपरीत काम गरिन्छ । जस्तै चिसोबाट बच्चालाई बचाउन हामी आगोको कोइलाले सक्छौं । सामान्य रुघाखोकी, निमोनिया भएको बेला झन चिसो लाग्छ भनेर आफ्नै खेतबारीमा फलेको सुन्तला, केरा, गाई, भैंसीको ताजा दूध दही खानै दिंदैनौं । अझ पहाड र तराईका गाउँतिर धूवाँसरीको गुम्म परेको कोठामा बच्चालाई राख्छौं । यो सबै गलत चलन हो ।'
नेपाली समाजमा अधिकांश गाउँ घरमा मकै, कोदो, भटमास, कन्दमुल, -खकरखण्ड), फूलतरुल, सिमल तरुल, केरा, आलु हुन्छ । तर ती पौष्टिक खाद्यान्नलाई बजारमा सस्तोमा बेचेर महँगो पर्ने बजारिया चामल, कुरमुरे, चाउचाउ बिस्कुट, क्याटवरी, चकलेट, अनेक ब्रान्डका जुसजस्ता पेय पदार्थ किनेर बच्चालाई दिने गर्दा रोग प्रतिरोधात्मक क्षमता घटेर कुपोषित भई चिसोमा लाग्ने रोगले समात्ने बालरोग विषेशज्ञहरूको राय रहेको छ ।
घरमा जे फलफूल, खाद्यान्न उपलब्ध हुन्छ त्यसैको खाना बनाएर बालबालिकालाई दिने बानी गरेमा चिसो मौसममा लाग्न सक्ने रोग व्याधिबाट संक्रमित नहुनका लागि कुपोषण मुक्त बनाउन सकिने बालरोग विषेशज्ञ चिकित्सक डा अग्रवाल बताउँछिन् । उनी भन्छिन्, 'बालबालिकालाई मकै कोदो गहुँको खानेकुरा बनाएर दिने अभिभावक हाम्रो समाज र परिवारमा भेट्न मुस्किल छ । पत्रपत्रिका, टेलिभिजन, रेडियो र सहरका ठूला ठूला आकर्षक होडिङबोर्डमा लेखिएका विज्ञापनको भर परेर त्यसैको  आधारमा आजकलका बालबालिकालाई खाना-खाजा दिने गरिएकाले पनि सम्पन्न परिवारका बालबालिकामा पनि कुपोषण देखिएको छ ।'
 बालबालिकालाई खाना खुवाउने तरिका उचित छैन । खोकी लागेको छ भने दही महि, केरा फलफूलले चिसो लाग्छ भनेर अझै पनि बालबालिकालाई दिइन्न । गाउघरमा उपलब्ध हुने आलु पिँडालु, सखर खण्ड पनि खुवाउँदैनौं । ती पदार्थमा झन् बढी पौष्टिक पदार्थ हुन्छ । बजारमा किनेर ल्याएको खाद्य तथा पेय पदार्थ पोषणयुक्त नुहने बालरोग विषेशज्ञहरूले दाबी गर्दै साझा राय दिए, 'चिसो मौसममा कुपोषित बालबालिका बढी संक्रमित हुन सक्ने भएकाले उनीहरूलाई कुपोषणबाट जोगाउन सस्तो र सामान्य लाग्ने अन्न, खाद्य पदार्थ, फलफूल तरकारी बढीभन्दा बढी खानाको रूपमा बालबालिकालाई खानाको रूपमा खुवाउने गरेमा रोगव्याधि लाग्नबाट बचाउन सकिन्छ ।'
चिसोमा दम, एलर्जी र निमोनिया बढी लाग्न सक्ने भएकाले बालबालिकालाई बचाउन घरमा भएका न्यानो लुगा लगाइदने, आगो कोइलाले सेक्न नुहने, छ महिनासम्म आमाको दूधबाहेक अरू पेय पदार्थ दिन नहुने, छ महिना माथिकालाई दाल, फलफूल तरकारीको सुप खुवाए उचित हुने उनीहरूको राय छ ।