कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

पत्रकार महिलाको दक्षता बढाउन प्रदेशस्तरीय तालिम

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता वृद्धिका लागि प्रदेशस्तरीय तालिम सञ्चालन गर्ने भएको छ । तालिम सञ्चालन गर्ने सन्दर्भमा आइतबार काउन्सिलमा भएको छलफलमा सहभागी सरोकारवालाले प्रविधिमैत्री पत्रकारिताका लागि महिलालाई अभ्यस्त गराउन सुझाव दिएका छन् ।

पत्रकार महिलाको दक्षता बढाउन प्रदेशस्तरीय तालिम

कार्यपत्र प्रस्तुत गर्दै सञ्चारिका समूहकी महासचिव बसन्ती बास्तोलाले पत्रकार महिलालाई बिट पत्रकारितामा, नेतृत्व तहमा र पारिश्रमिकमा समेत विभेद हुने गरेको बताइन । पत्रकार महिलालाई स्रोतमा पहुँच नभएको, समय दिन नसक्ने लगायत बहानामा अवसरबाट बञ्चित गरिएको उल्लेख गर्दै प्रेस काउन्सिल लगायत सम्बद्ध निकायले यससम्बन्धमा योजनागत रुपमा काम गर्नुपर्ने सुझाव दिइन् ।

पत्रकार निर्मला शर्माले पत्रकार महिलालाई सूचनाका लागि स्रोतसँग सम्बन्ध तथा तथ्यांक विश्लेषण जस्ता कुरामा दक्ष बनाउन जरुरी रहेको बताइन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले एकै व्यक्तिले सबैखाले तालिम पाउने वातावरणको अन्त्य गरी आवश्यकताका आधारमा तालिम दिन आवश्यक रहेको उल्लेख गरिन् ।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले कुनै न कुनै सञ्चार माध्यममा जोडिएर पत्रकारितामा रहेका महिलालाई टिकाउन चुनौतीपूर्ण रहेको उल्लेख बताइन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता सम्बन्धी कानुन, गतिविधि र कार्यक्रम सबै महिलामैत्री हुन जरुरी रहेको औँल्याए । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलाका विषयमा साढे ३ दशकदेखि एउटै बहस चलिरहेको उल्लेख गर्दै जुनसुकै क्षेत्रमा महिलाको स्थायीत्वका लागि उत्प्रेरणामूलक वातावरण सिर्जना गर्न जरुरी रहेको बताईन् ।

कार्यक्रमका सहभागीलाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नयाँ पत्रकारको आकर्षण र पत्रकारिताका समस्या समाधानका लागि काउन्सिलले विभिन्न रचनात्मक काम गर्दै आएको जानकारी दिए ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सञ्चार तथा सूचना मन्त्रालयसँग समन्वय गरी काउन्सिलले प्रदेशस्तरमा पत्रकार महिलाको सशक्तिकरणको लागि तालिम सञ्चालन गर्न लागेको जानकारी दिए ।

प्रकाशित : आश्विन १५, २०८० ०६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?