टोफल आईबीटी परीक्षा दुई घण्टाभन्दा कम समयको हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — टोफल आईबीटी परीक्षालाई निरन्तर रुपमा परिस्कृत गर्दै सहज र सुविधाजनक बनाउनका लागि ईटीएसले आगामी केही महिनाभित्र नै प्रणालीमा परिवर्तन गर्ने भएको छ । जुलाइबाट लागू हुने गरी टोफल आईबीटी परीक्षाको समयलाई छोट्याइएको छ । अब परीक्षा दुई घण्टाभन्दा कम समयमा नै सकिने ईटीएसले जनाएको छ ।

जबकि हाल परीक्षा दिन तीन घण्टा लाग्ने गर्दथ्यो । परीक्षा अवधिभर सुव्यवस्थित निर्देशन र वहाव कायम रहने, पठन खण्ड छोटो हुने र अंकभार नभएका सबै प्रश्नहरू पनि हटाइने भएको छ ।

जुलाईबाट परीक्षाका लागि रजिस्ट्रेसन प्रक्रिया पनि सरल हुनेछ । ‘परीक्षामा सामेल हुन चाहनेहरुले आफैं अकाउन्ट बनाएर टोफल आईबीटीका लागि इच्छाएको मितिमा पहिलाभन्दा सरल रुपमा रजिस्टर गर्न सक्नेछन्’ ईटीएसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । २६ जुलाइबाट परिक्षार्थीले प्राप्त गर्ने अंक पनि पारदर्शी हुने उसको दाबी छ । ईटीएसका सीईओ अमित सेवकले भने ‘यी परिवर्तनहरू हाम्रा ग्राहक र सरोकारवालाको आकांक्षा बमोजिम विकसित गरिएको हो, किनकि उनीहरूलाई सेवा प्रदान गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो ।’

टोफल आईबीटी परीक्षाका लागि पहिले नै दर्ता गराइसकेका परीक्षार्थीले पनि नयाँ परिवर्तनलाई अनुभव गर्न चाहेमा निशुल्क आफ्नो परीक्षा मिति परिवर्तन गर्न सक्ने वा लागू हुनु अगावै पनि परीक्षामा सामेल हुन सक्ने उनको भनाइ छ । नयाँ विकसित टोफल आईबीटी निशुल्क अभ्यास सामाग्रीको अद्यावधिक संस्करण टोफलको वेबसाइटमा उपलब्ध भइसकेका छन् । थप नि:शुल्क तथा स:शुल्क परीक्षा तयारी सामाग्री केही सातामा अद्यावधिक हुने ईटीएसले जनाएको छ ।


प्रकाशित : वैशाख १२, २०८० १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

कुसवाहको दाबी- 'गणना सकिँदा म निर्वाचित हुन्छु'

कान्तिपुर संवाददाता

बारा — बारा क्षेत्र नं २ को उपनिर्वाचन अन्तर्गत मतगणना भइरहँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुसवाहाले आफूले निर्वाचित जित्ने दाबी गरेका छन् ।

जसपा अध्यक्षसमेत रहेका उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरिरहेका कुसवाहाले धेरै मत गन्न बाँकी रहेकाले गणना सकिँदासम्म आफू निर्वाचित हुने दाबी गरेका हुन् । जवकि सोमबार साँझ ४ बजेसम्मको परिणाम अनुसार सत्ता गठबन्धनको समर्थन पाएका उपेन्द्र यादव कुसवाहभन्दा ५ हजार १३ मतले अगाडि छन् ।

४ बजेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार उपेन्द्र यादव १८ हजार ९६ मत ल्याउँदै अग्रता कायम गरेका छन् । कुसवाहले भने १३ हजार ८३ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललले हालसम्म ५ हजार ४ सय ५९ मत ल्याएका छन् ।

यससँगै तनहुँ र चितवनमा भएका उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र रवि लामिछाने निर्वाचित भइसकेका छन् ।

६९ हजार १ सय ७ मत खसेकोमा ४१ हजार ७६८ मत गणना भइसकेको छ । यस्तै ३० हजार २७ हजार ३३९ मत गणना गर्न बाँकी छ ।

उपेन्द्र यादवले भने अहिले प्रतिक्रया दिने बेला नभएको र बारा आएर अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : वैशाख १२, २०८० १७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×