पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न 'सिएमआर जर्नालिज्म एकेडेमी' सुरू

काठमाडौँ — नेपाली पत्रकारहरूको डिजिटल र विषयगत क्षमता वृद्धि गर्ने उद्देश्यले 'सिएमआर नेपाल जर्नालिजम एकेडेमी' सुरु गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा एकेडेमी स्थापना गरेको हो ।

एकेडेमी उद्घाटन कार्यक्रममा एकेडेमीका प्रबन्ध निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले नेपाली पत्रकारका लागि आगामी माघ महिनादेखि मोवाइल जर्नालिज्म, पोडकाष्ट, डिजिटल सेक्युरिटी, फ्याक्ट चेक, मिडिया लिटरेसी,डेटा जर्नालिज्म लगायतमा तालिम दिने जानकारी दिए ।नेपाल पत्रकार महासंघका सचिव पवन आचार्यले नेपाली पत्रकारहरुमा क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताए ।
नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सले स्वतन्त्र पत्रकारिता नभएको ठाउँमा लोकतन्त्र नहुने बताए । उहाँले मिथ्या सूचना समाजका लागि नै घातक हुने बताउँदै त्यसलाई न्यूनीकरण गर्नेतर्फ पनि एकेडेमीको भूमिका हुनुपर्ने धारणा व्यक्त गरे ।
इन्टरलिङ्क एकेडेमीका प्रबन्ध निर्देशक भेर्नर एगर्टले एकेडेमीले दिने तालिमबाट नेपाली पत्रकारहरुको क्षमता बढ्नुका साथै पत्रकारिताको व्यवसायिकतामा सुधार हुने विश्वास व्यक्त गरे ।
सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष तृष्णा आचार्यले नेपाली मिडियाको अनुसन्धानमा सक्रिय हुँदै आएको सेन्टर फर मिडिया रिसर्च नेपालले एकेडेमी सञ्चालन गरेर नेपाली पत्रकारलाई प्राविधिक र व्यवहारिक रुपमा सक्षम बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । सेन्टर फर मिडिया रिसर्च नेपालले एकदशकदेखि मिडियाका विभिन्न विषयमा अनुसन्धान गर्दै आएको छ ।
प्रकाशित : मंसिर १६, २०७९ १८:१५