सप्तरीकै पहिलो शिक्षिका बच्ची मिश्रालाई मैथिली स्मृति पुरस्कार

राजविराज — सप्तरी जिल्लाकै पहिलो शिक्षिका बच्ची मिश्रालाई शोभादेव मैथिली स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ । मैथिली साहित्य परिषद्ले कवि कोकिल विद्यापतिको स्मृतिमा आयोजित तीनदिने कार्यक्रमको अन्तिम दिन आइतबार जिल्लाको पहिलो महिला शिक्षिका बच्ची मिश्रालगायत अन्यलाई सम्मानित गरेको हो ।

उनी २०२२ साल देखि ४० वर्षभन्दा लामो समयसम्म सप्तरी जिल्लाको महिला शिक्षा क्षेत्रलगायत मैथिली साहित्यसहित विविध क्षेत्रमा निरन्तर सेवा गर्दै आएकी छन् ।
उक्त अवसरमा यसपटकको शिवदत्त मिश्र स्मृति पुरस्कारबाट प्रसिद्ध गायक गुरुदेव कामत, विजेन्द्र बिनोद स्मृति कला पुरस्कारबाट देवेन्द्र साह सोनीलाई सम्मानित गरिएको छ ।
तीनदिने कार्यक्रमअन्तर्गत मैथिली साहित्य परिषद्ले शुक्रबार साहित्यिक गोष्ठी र शनिबार 'मैथिली भाषाको विकासप्रति प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको अवधारणा' विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए ।
प्रकाशित : कार्तिक २०, २०७९ २०:२३