कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

म्ह पूजा देहप्रतिको आदरभाव

म्हः पूजाबाट शारीरिक, मानसिक र बौद्धिक शक्ति वृद्धि हुने र सत्कर्ममा चित्त लाग्ने विश्वास गरिन्छ ।
तुला तिमिल्सिना

नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहारसँगै नेवार समूदायको मौलिक पहिचानको पर्व म्हः पूजा आउने गर्छ । कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि (कछलाथ्व पारु) अर्थात् हलि तिहारको दिन यो पर्व मनाउने गरिन्छ । यसबेला आफ्नै शरीरको पूजा गर्दै आत्माशुद्धि पारिन्छ । यसले शरीरमा शान्ति प्रदान गर्छ । शरीरमा शान्ति भए मात्रै परिवार र समाजमा शान्ति छाउँछ ।

म्ह पूजा देहप्रतिको आदरभाव

नेवारी भाषामा म्हः शब्दले देह वा शरीर भन्ने बुझाउँछ । त्यसैले म्हः पूजामा आत्मतत्त्व रहेको, परमात्माको बास भएको चेतनादायक आफ्नै शरीरको पूजा गरिन्छ । यसबाट आत्मतत्त्वको बोध र स्वतत्वको उजागर हुने मान्यता छ । म्हः पूजाले सकारात्मक र जनउपयोगी काम गरे देवताझैं पूजनीय बन्न सकिन्छ भन्ने भाव दिन्छ ।

मानव शरीर जल, स्थल, वायु, आकाश र तेज जस्ता ५ प्राकृतिक तत्त्वहरुबाट बनेको हुन्छ । शरीरमा भएको रगतलाई जल, मासुलाई स्थल, श्वास प्रक्रियालाई वायु, शरीरभित्रको खाली भागलाई आकाश र पाचन शक्तिलाई तेज तत्त्वको रुपमा मानिन्छ । पूजामा दिने विभिन्न सगुन जस्तो कि माछाले जल, मासुले स्थल, बाराले वायु, अण्डाले आकाश र रक्सीले तेजतत्त्वको प्रतिनिधित्त्व गरेको हुन्छ । स्वस्थ शरीरमा पाँचै तत्त्वहरुले काम गरिरहेका हुन्छन् । कुनै एकले काम गरेन भने शरीर परिपूर्ण हुँदैन । त्यति मात्रै होइन, शरीर भित्रका तत्त्वहरु बाहिरका पञ्चतत्त्वसँग संयोजन हुनुपर्छ । यही दर्शनलाई आधार मान्दै म्हः पूजामा ५ चिजलाई महत्त्व दिइएको पाइन्छ । यस बेलामा मण्डपहरु पनि ५ ओटै बनाइन्छन् ।

नेपालका आदिवासीहरु निश्चित स्थानमा बसोबास गर्दै आएका छन् । त्यसैगरी नेवार समुदायको बसोबास पाल्पा, दोलखा, चित्लाङ, बनेपा, धुलिखेल लगायत विशेषगरी काठमाडौं उपत्यकामा रहेको छ । इतिहासअनुसार काठमाडौं उपत्यका तालको रुपमा थियो । महाचीनबाट आएका मञ्जुश्रीले यहाँको पानी चोभारबाट बगाएका थिए । त्यसपछि यो बसोबासयोग्य जमिन बन्यो । यहाँ नेवारी समुदायको बसोबाससँगै उनीहरुकै सभ्यता पनि सुरु भएको मानिन्छ । उनीहरुले नै मठ, मन्दिर, पाटी पौवाको निर्माण गरे । आफ्ना संस्कार र संस्कृतिका कला, जात्रा र चाडपर्वको थालनी गरे । म्हः पूजा पनि मनाउन आरम्भ भयो । यो पर्व कहिलेदेखि सुरु भएको यकिन नभएपनि लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ । बौद्धविद्वानहरुका अनुसार भने म्हः पूजा भगवती लक्ष्मीकरा (ई.७२९) बाट सुरु भएको हो । किंवदन्ती अनुसार परापूर्वकालमा ठूलो दैविक आपत्ति आइलागेको थियो । धेरै धन र जनको नोक्सान भयो । त्यसबाट जीवित रहेका नेवारी समुदायले आत्मसुरक्षाका लागि शरीरको पूजा (म्हःपूजा) गर्ने चलन चलाए भन्ने पनि विश्वास गरिन्छ ।

लक्ष्मीपूजाको भोलिपल्ट पर्ने म्हः पूजाका दिन नेपाल सम्वत् परिवर्तन हुने गर्छ । यस दिन नेवार समुदायमा न्हू दँया भिन्तुना (नयाँ बर्षको शुभकामना) आदनप्रदान गरिन्छ । नेपाल सम्वत्‌का प्रवर्तक शंखधर साख्वा हुन् । उनले जनताको ऋण तिरिदिएर ऋणमुक्त गरिदिएका थिए । यस खुशियालीमा भक्तपुरका तत्कालीन राजा राघवदेवले वि.सं. ९३७ मा नेपाल सम्वत् सुरु गरेको इतिहास छ । त्यसैले विक्रम सम्वत् नेपाल सम्वत् ९३७ वर्ष पछि छ । यो सम्बत् राणा प्रधानमन्त्री चन्द्रशमसेरको पालासम्म सरकारी कामकाजमा चलेको थियो ।

यसैदिन हलि तिहार पर्छ । कृषि कार्यमा प्रयोग गरिने कुटो, कोदालो, कोदाली र हलोको पूजा हुन्छ । कृषिप्रधान हाम्रो देशमा खेतबारी जोत्ने गोरुको पनि पूजा गरिन्छ । त्यसैले यस दिनलाई गोरु तिहार पनि भनिन्छ । लक्ष्मीपूजाको दिन दिदीबहिनीले भैलिनी खेल्छन् भने यसदिन दाजुभाइले देउसी खेल्ने चलन छ । देउसी भैलोले रमाइलो गर्नुको साथै टोल र छरछिमेकमा द्वेष हटाउन र सद्भाव बढाउन सहयोेगी बनेको छ ।

त्यसैगरी द्वापरयुगमा श्रीकृष्णले गोबर्धन पर्वत उचालेर वृजबासीलाई जोगाएकोे स्मरणमा गोबर्धन पूजासमेत गरिन्छ । शास्त्रानुसार इन्द्रले भारी पानी वर्षाएर वृजबासीलाई आकुलव्याकुल बनाएको बेलामा श्रीकृष्णले आफ्नो कान्छी औंलाले पर्वत नै उचालेर ओत दिएका थिए । यसबाट इन्द्रको शेखी झरेको थियो । त्यसैले नेवारी समुदायको म्हः पूजाले पनि गोबर्धन पूजाकोझैं आफ्नो क्षमता प्रदर्शन गर्ने भाव देखाउँछ ।

म्हः पूजाका दिन बिहानै घर कोठाचोटा र वरिपरि सफा गरिन्छ । नुवाइधुवाई गरेर शरीर शुद्ध बनाइन्छ । परिवार मिलेर विभिन्न खाद्य परिकारहरु तयार पारिन्छन् । रातो माटोले पोतेर मण्डप बनाउने ठाउँमा सफा सुग्घर गरिन्छ । कमलको पात आकृतिको आठपाते मण्डपमा जल, पोताय् (सेतो रङ) र तेलका ३ वटा मण्डपहरु बनाइन्छ । त्यसलाई चामलको पिठो, कालो भटमास, चामल, लावा, मासको दाल र धानले सजाइन्छ । केरा, स्याउ, मौसम, बिमिरो, भोगटे, सुन्तला बयरलगायत फलफूलहरु पनि चढाइन्छ । नयाँ कुचो, नाङलो, कलश, सुकुन्डा, लोहोरोलाई देवताको प्रतिकको रुपमा राखिन्छ । फूलको माला र धुप बत्तीले मण्डप सजिसजाऊ पारिन्छ ।

म्हः पूजा साँझमा सुरु हुन्छ । मण्डलालाई अगाडि पारेर जेष्ठताको क्रमसँगै परिवारका सदस्यहरु लस्करै बस्छन् । बस्दा पूर्व वा पश्चितिर फर्कनु पर्छ । यो पूजा नकीं (घरकी मूल महिला) ले गर्ने परम्परा छ । चामलको पिठोबाट बनाइएको गणेशबाट आरम्भ गरी आफ्नो शरीरलाई विशेष पूजा गरिन्छ । यसबेला पुरुषको दायाँ र महिलाको बायाँ कञ्चटमा टीका लगाउने चलन छ । त्यसपछि सगुन र भोज खाने गरिन्छ । म्हः पूजाबाट शारीरिक, मानसिक र बौद्धिक शक्ति बृद्धि हुने र सत्कर्ममा चित्त लाग्ने विश्वास गरिन्छ ।

प्रकाशित : कार्तिक ९, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?