दिउँसै मैनबत्ती बालेर उपकुलपछि खोज्दै नेविसंघ

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा सुधारको माग गर्दै आएको नेपाल विद्यार्थी संघले मंगलबार उपकुलपति खोज्न दिउँसै मैनबत्ती बालेर प्रदर्शन गरेको छ । परीक्षा प्रणालीमा सुधार, त्रिवि भित्रको बेथितिमाथि भएको छानविन प्रतिवेदन सार्वजनिक र प्रश्नपत्र दोहोरिएकोबारे छानविन गर्नुपर्ने माग गर्दै नेविसंघले करिब तीन महिनादेखि निरन्तर आन्दोलन गर्दै आएको छ ।

दिउँसै मैनबत्ती बालेर उपकुलपछि खोज्दै नेविसंघ

आन्दोलनकै कार्यक्रमअन्तर्गत मंगलबार उपकुलपति खोज्न मैनबत्ती बालेर प्रदर्शन गरको हो । ‘त्रिविमा यति धेरै बेथितिहरू मौलाएका छन्, हामी सुधारका लागि शान्तिपूर्णरुपमा आन्दोलन गरिरहेका छौँ,’ विद्यार्थी नेता श्यामराज ओझाले भने, ‘सुधारको पहल गर्नुपर्ने जिम्मेवारी बोकेका त्रिविका उपकुलपति कार्यालयमा हुनुहुन्नँ । हामीले उहाँलाई खोज्न मैनबत्ती बालेका छौँ ।’

उनले विश्वविद्यालयमा सीमित व्यक्ति र समूहको स्वार्थ हाबी हुँदा समग्र विद्यार्थीहरू आफ्नो अधिकारबाट बञ्चित हुने अवस्था आएको बताए ।

‘परीक्षा प्रणाली असीमित बेथिति देखिएका छन् । नतिजा बेलामा सार्वजनिक गर्न सकेको छैन । विश्वविद्यालयको विश्वासनीयतामाथि नै प्रश्न उठेको छ,’ उनले भने, ‘एम.ए. तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र पहिलो सेमेष्टरको इन्टरनेशनल पोलिटिक्स विषयका प्रश्नपत्र हुबहु दोहोरिए, कतै निजी कलेजले सोधेका प्रश्नपत्र जस्ताको त्यस्तै ल्याएर सोधिएको छ, यस्ता त्रुटिहरू दोहोरिदा पनि नेतृत्वले चासो नदिनु दुःखद छ ।’


प्रकाशित : भाद्र २१, २०७९ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?