रसायन तथा मेडिकल आपूर्ति संघको अध्यक्षमा हमाल- अन्य - कान्तिपुर समाचार

रसायन तथा मेडिकल आपूर्ति संघको अध्यक्षमा हमाल

कान्तिपुर संवाददाता

काठमाडौँ — रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्षमा भक्तबहादुर हमाल सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौंमा आइतबार भएको १६ औं वार्षिक साधारणसभाबाट हमालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसिमिति निर्विरोध निर्वाचित भएको हो ।

निर्वाचन संयोजक धिरज थपलियाका अनुसार अध्यक्षमा हमाल, प्रथम उपाध्यक्षमा उमेशप्रसाद लामिछाने, महासचिवमा विनोदकुमार मानन्धर, सचिव पदमा समिर मरहठ्ठा र कोषाध्यक्षमा गणेशप्रसाद सापकोटा र्निवाचित भएका छन् ।

केन्द्रीय सदस्यहरुमा रेमन्त भट्ट, विजय खनाल अर्जुन रानाभाट र खडानन्द पाण्डे रहेका छन् ।

यस्तै, कार्यसमितिको आइतबार नै बसेको पहिलो बैठकले विधानबमोजिम द्वितीय उपाध्यक्षमा अर्जुनकुमार रायमाझी, केन्द्रीय सदस्यमा दिपक शर्मा र विनयराज सिग्देललाई मनोनीत गरेको संघले जनाएको छ । कार्यसमितिको कार्यकाल तीन वर्षको रहने व्यवस्था छ ।

प्रकाशित : श्रावण ८, २०७९ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्

बालिका बलात्कारपछि हत्या आरोपमा बालकसहित तीन जना पक्राउ

भूषण यादव

वीरगन्ज — चार वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले वीरगन्जबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । शनिबार बिहान ७ बजे वीरगन्ज महानगरपालिका– २ छपकैयास्थित खाली जमिनको झाडीमा ४ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन् ।

ती बालिका साउन ५ गते बेलुका ७ बजेदेखि हराएको भन्दै उनका हजुरबुवाले प्रहरीमा उजुरी दिएका थिए । प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीका अनुसार बालिकाको शव फेला परेपछि अनुसन्धानको क्रममा एक १२ वर्षीय बालकको संलग्नता खुलेको थियो ।

ती १२ वर्षीय बालकसँगको सोधपुछका क्रममा अन्य तीन जनाको पनि संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिकालाई सामूहिक रुपमा जबरजस्ती करणीपछि कर्तव्य गरी मारेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासमेत रहेका डीएसपी कार्कीले बताए ।

जबर्जस्ती करणी तथा हत्यामा संलग्न रहेको अभियोगमा १२ वर्षीय बालक, वीरगन्ज महानगरपालिका– २ छपकैया बस्ने १९ वर्षीय जफ्रुदीन र वीरगन्ज– १६ नगवा निवासी सलमान खानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका व्यक्तिको पनि पहिचान खुलिसकेकाले प्रहरीले खोजतलास गरिरहेको डीएसपी कार्कीले जनाए ।

बालिकाको शव पोस्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको डीएसपी कार्कीले जनाए । पक्राउ परेका आरोपितहरू विरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी कसूरमा आइतबार पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान थालिएको डीएसपी कार्कीले बताए।

प्रकाशित : श्रावण ८, २०७९ २०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×