कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कीर्तिमानी आरोही तामाङको उपचारमा आर्थिक समस्या

काठमाडौँ — सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका क्यान्सरपीडित ६७ वर्षीय शम्भू तामाङको उपचारमा आर्थिक अभाव उत्पन्न भएको छ ।

कीर्तिमानी आरोही तामाङको उपचारमा आर्थिक समस्या

हड्डीको क्यान्सर र प्रोस्टेटको समस्याबाट पीडित तामाङ ललितपुरको क्यान्सर अस्पताल हरिसिद्धिमा उपचाररत छन् । राष्ट्रको नाम उँचो राख्न योगदान दिएका तामाङको उपचारमा आर्थिक समस्या भएपछि सोही समुदायका अगुवाहरुले राज्यले नै उपचार खर्च बेहोर्नु पर्ने र सम्मान गर्नुपर्ने भन्दै पहल थालेका छन् ।

वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ, तामाङ रिमठिम पर्यटन संजालका अध्यक्ष अम्बर बम्जन र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव सरिता लामालगायत प्रतिनिधिले आरोही तामाङको उपचार खर्चको व्यवस्थापन र राज्यबाट उचित सम्मानका लागि पहल गरिदिन राज्यका उच्च ओहदामा रहेका व्यक्ति साथै राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

यस क्रममा उनीहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई शनिबार भेटेर आरोही तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । साथै उनीहरूले नेता दाहालमार्फत स्वास्थ्योपचारका लागि सहयोग जुटाइदिन आग्रह गरेका थिए ।

आरोही तामाङले राष्ट्रप्रति पुर्‍याएको योगदानको कदर गर्दै उनको स्वास्थ्यमा आएको गम्भीर प्रतिकूलताको समयमा उपचारको सम्पूर्ण खर्च बेहोरी राज्यले विशिष्ट नागरिकप्रतिको जिम्मेवारी वहन गर्न विलम्ब गर्न नहुने भन्दै दाहाललाई पहल गरिदिन आग्रह गरेको अध्यक्ष बम्जनले जानकारी दिए । आफ्नै निवास खुमलटार ललितपुर पुगेको टोलीसँग अध्यक्ष दाहालले तामाङको उपचारको व्यवस्था सरकारले गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग पहल गर्ने आश्वासन दिएका थिए ।

सिन्धुपाल्चोकको लिसंखुपाखरमा जन्मिएका तामाङले २०३० वैशाख २३ गते १७ वर्ष ६ महिना १५ दिनको हुँदा सगरमाथाको सफल आरोहण गरेका थिए । तर उनले राखेको रेकर्ड पछि तोडिइसकेको छ ।

प्रकाशित : जेष्ठ २८, २०७९ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?