१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कर्णाली कला केन्द्र र इक्वालिटी ल्याबलाई दर्नाल अवार्ड

काठमाडौँ — यस वर्षको अन्तर्राष्ट्रिय दर्नाल अवार्ड कर्णाली कला केन्द्र मुगु र इक्वालिटी ल्याब अमेरिकालाई संयुक्तरुपमा प्रदान गरिएको छ । यी दुई संस्थाले सामाजिक न्यायको क्षेत्रमा पुर्‍याएका योगदानलाई कदर गर्दै सरिता परियार ट्रष्टले 'सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड–२०२२' प्रदान गरेको हो । 

कर्णाली कला केन्द्र र इक्वालिटी ल्याबलाई दर्नाल अवार्ड

दलित अधिकार र विभेदरहित समाज स्थापनाका निम्ति संघर्ष गरेका सामाजिक अभियन्ता दिवंगत सुभाष दर्नालको स्मृतिमा स्थापना गरिएको पुरस्कारको राशि ५ लाख रुपैयाँ छ । ट्रष्टले यो पुरस्कार हरेक दुई वर्षमा प्रदान गर्दै आएको छ ।

पुरस्कृत कर्णाली कला केन्द्र मुगुले कर्णालीका गाउँ-गाउँमा नाटक प्रदर्शन गर्ने गरेको छ भने इक्वालिटी ल्याबले अमेरिकामा रहेका नेपालहरुमाझ दलित न्यायका लागि काम गर्दै आएको छ । त्यस्तै, ट्रस्टले यस वर्ष पत्रकार ध्रुवसत्य परियार र मानव बेचबिखनविरुद्वका अभियन्ता करुणा त्रिखतीलाई सम्मानसमेत गरेको छ ।

दर्नालको अमेरिकामा सडक दुर्घटनामा परी २०६८ साउन ३० गते निधन भएको थियो । उनको सम्झनामा श्रीमती सरिता नेतृत्वको ट्रष्टले ०७३ देखि दर्नाल अवार्ड वितरण गर्दै आएको छ ।

लेखक एवम् ट्रष्टकी संस्थापक परियारले दर्नाल अवार्ड आमसामाजिक न्यायप्रेमीहरुको सम्मान र आत्मसम्मानको अभियान भएको बताइन् । ‘यो सुभाष दर्नाललाई देवत्वकरण गर्न खोजिएको होइन । यो सबै दलित र सामाजिक न्याय चाहने व्यक्ति र संस्थाहरुको आत्मसम्मानको अभियान हो,’ उनले भनिन् ।

उनले नेपालदेखि अमेरिकासम्म जात व्यवस्थाका विरुद्व लडिरहेका व्यक्ति र संस्थाहरु दर्नाल अवार्डको अंग बन्न सक्ने बताइन् । ‘चाहे नेपाल होस् वा अमेरिका, जहाँसुकैका व्यक्ति र संस्थाले जात व्यवस्थाको विरोधी अभियानको अंग बन्नुहुन्छ भने हामी उहाँहरुसँग सहकार्य गर्न चाहन्छौँ,’ उनले भनिन् ।


प्रकाशित : जेष्ठ २५, २०७९ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?