पाठशाला घर र नाट्यशालाको उद्घाटन

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको बानेश्वरमा अवस्थित पाठशाला नेपाल फाउन्डेसनले हालै आफ्नो नवनिर्मित भवन ‘पाठशाला घर’ को उद्घाटन गरेको छ । काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मा र द्वारिका होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले संयुक्त रुपमा शिलालेख अनावरण गरेर पाठशाला घरको उद्घाटन गरेका हुन् ।

यसैगरी पाठशाला घरमा निर्मित मदनकृष्ण नाट्यशालाको उद्घाटन वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले गरे ।

कार्यक्रममा उपकुलपति शर्माले नेपालमै अन्तर्राष्ट्रिय स्तरका विद्यालय निर्माण हुँदै गएकाले शिक्षाका लागि बाहिर जाने क्रम रोकिँदै जाने विचार व्यक्त गरे । त्यस्तै कलाकार मदनकृष्ण श्रेष्ठले पाठशाला विद्यार्थीको उचित गन्तव्य बन्नेमा विश्वास व्यक्त गरे ।

कवि अर्जुन पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, गायक आनन्द कार्की, कलाकार मनोज गजुरेललगायतले शुभकामना दिएका थिए ।

विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने र आफ्नो मूल्यमान्यतालाई जोगाउने नागरिक उत्पादन गर्न यो भौतिक संरचना आवश्यक भएको कुरा प्रबन्ध निर्देशक टङ्कराज आचार्यले बताए ।

प्रकाशित : जेष्ठ १७, २०७९ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्

फड्के पुल र गोरेटो पुरिएपछि गाउँमै थुनिए दिपु, तेगा र तेम्बाथान गाउँवासी

अनिश तिवारी

सिन्धुपाल्चोक — सोमबार बेलुकीको अविरल वर्षात्‌का कारण नेसमखोलामा बढेको पानीको सतहले जिल्लाको अझैसम्म सडक नजोडिएको जुगल गाउँपालिकाको अन्तिम गाउँ दिपु, तेगा र तेम्बाथान् जोड्ने एउटै काठको फड्के डुबेको छ । त्यस्तै यी तीन गाउँ पुग्ने गोरेटो बाटो जताततै खसेको पहिरोले पुरिएर पैदल यात्रा जोखिमपूर्ण भएकाले आउजाउ ठप्प भएयता स्थानीय गाउँमै थुनिएका हुन् । 


सडक, बिजुलीदेखि उच्च शिक्षाजस्ता विकासको पर्खाइमा वर्षौंदेखि कुरेर बसेका तीन गाउँभरका २ सय २० परिवार बजार क्षेत्रसँग जोड्ने पुल पनि बगाएपछि आत्तिएको जुगल गाउँपालिका ३ तेम्बाथान्का अगुवा साइला शेर्पाले बताए ।

‘फड्के पुल खोलामा डुब्यो; बाटो पूरै पुरिए; नेसमखोला यत्ति उर्लिएर बगिरहन्छ कि तर्ने कुरा सपना पनि सोच्न सकिँदैन; यस्तो हुँदा तीन गाउँको गुम्बाथान, कात्तिके इलाकाभेगसँग सम्पर्क पूर्ण रुपमा टुटेको छ,’ उनले भने ।

अघिल्लो वर्ष तीन गाउँ जोड्ने एउटै मात्र झोलुंगे नेशमखोला पुल खोलाले बगाएपछि स्थानीयले अस्थायी काठको फड्के हालेर आउजाउ गरिरहेका थिए । केही अगुवा र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले चन्दा संकलन गरेर हालेको तुइनको लठ्ठा चुँडिएपछि प्रयोगमा ल्याउन नमिल्ने भएको छ ।

दुई गाउँको छेउको भागलाई बढेको खोलाको सतहले कटानमा पारिरहेकाले दिपु र तेगाका दर्जनभन्दा बढी परिवार सुरक्षित स्थानमा सरेर बसिरहेका छन् । जुगल हिमालको काखमा रहेको दिपु, तेगा र तेम्बाथान गाउँ पुग्न आहिलेसम्म सडक सहज भएको जुगल गाउँपालिकाको गुम्बाथानबाट झन्डै दुई दिन लाग्छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ १२:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×