१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना संक्रमण रोक्न पूजा

गोरखा — विश्वभर फैलिरहेको नोवल कोरोना (कोभिड–१९) को रोकथामका लागि विशेष पूजा गरिएको छ । गोरखा नगरपालिका–६ छहरेमा रहेको गोरक्षनाथ वैदिक गुरुकुलका वटुकले विश्व शान्तिको कामना गर्दै ५ दिनयता हनुमान चालिसा पाठ सुरु गरेका हुन् ।

कोरोना संक्रमण रोक्न पूजा

कोभिड–१९ वायुबाट फैलने भएकाले वायुपुत्र हनुमानलाई खुसी पार्न दैनिक हनुमान चालिसा पाठ सुरु गरिएको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद उपाध्यायले बताए । संक्रमण नफैलियोस् भन्ने कामनासहित शनिबार विशेष हवन गरिएको उनले जनाए । ‘यो वायुबाट फैलने संक्रमण हो,’ उपाध्यायले भने, ‘वेदको चरक संहितामा पनि वायुपुत्र हनुमानलाई खुसी राख्दा यस्ता रोगले दुःख दिँदैन भनिएको छ ।’ उनका अनुसार नित्य पूजाको अलावा कोभिड–१९ संक्रमण नफैलिनका लागि यसरी पूजा सुरु गरिएको हो ।

दैनिक ११ वटुकले हनुमान चालिसा पाठ गर्नुअघि राष्ट्र शान्ति र विश्व शान्तिको कामना गर्ने उनले बताए । गुरुकुलमा अध्ययनरत नृपराज पाण्डेलाई कर्ता बनाएर पूजा गरिँदै आएको छ । ‘कोरोना महामारी भय, शान्त्यार्थम् हनुमान चालिसा पाठावयम् करिसेँ’ भन्दै संकल्प गरिने उपाध्यायले बताए । ‘संकल्प गर्दा रोग निवारणको कामना गरेर पाठ सुरु गर्छौं, कोरोनाको रोकथाम नहुन्जेलसम्म हनुमान चालिसालाई निरन्तरता दिन्छौं, हवन भने शनिबारमात्र गरिएको हो,’ उनले भने, ‘यो भाइरस विश्वमा जसरी फैलिरहेको छ त्यो शीघ्र शान्ति होस् भन्ने कामना हो ।’

हवनको विधि विधान धेरै भएकाले शनिबारमात्र गरिएको उनले बताए । विपत्ति, अनिकालको भय भएका बेला पनि यसरी पूजा गर्ने प्रचलन परम्परादेखि रहँदै आएको उनले बताए । बिहान पौने नौ र साँझ साढे पाँच बजे आधा घण्टा यसरी प्रार्थना गरिने विद्यालयका ध्यान शिक्षक युवराज दाहालले बताए । ‘यस्तो रोगको निवारण हुन्छ भन्ने शास्त्रीय कथन छ,’ उनले भने । कोभिड–१९ को निवारणको कामना गर्दै आगामी १२ गतेबाट नवरात्र अवधिभर पनि पुटिक (चण्डी पाठ) गर्ने उनले बताए ।


प्रकाशित : चैत्र ९, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?