सन्तानै संगीतमा

गोपाल दाहाल

सृजन नेपाल, रोशन शर्मा र प्रशान्त शर्मा सहोदर दाजुभाइ हुन्  । उनीहरूको परिवार मात्र होइन, रुचिको क्षेत्र पनि एउटै हो, संगीत  ।

ZenTravel

सृजन राम्रा गायक, संगीतकार, गितारिस्ट, रेकर्डिस्ट र एरेन्जरका रूपमा परिचित छन् । रोशन नेपालमा मात्र होइन, विदेशमा पनि परिचय बनाइरहेका मोहन बिना वादक हुन् । उनका नेपाल, दुबई र पाकिस्तानमा ब्यान्डहरू छन् । प्रशान्त पूर्व क्षेत्रमा निकै सक्रिय रहेका धरानका गायक हुन् ।


उनीहरूको पारिवारिक माहोल नै संगीतमय थियो । उसबेला उनीहरूका बुबा कवि तथा गायक मञ्जुल र आमा कवि कुन्ता शर्मा, रामेश श्रेष्ठहरूसँगै साहित्य र संगीतमार्फत जनता जगाउन हिँड्थे । पारिवारिक झमेलाका कारण सृजन बुबा मञ्जुलसँगै काठमाडौं बस्न थाले । भाइहरू रोशन र प्रशान्त आमा कुन्तासँगै धरान बस्थे । दाजुभाइ टाढा भए पनि तीनै जनाको रुचिको विषय एउटै बन्यो– संगीत ।

Meroghar


सानैदेखि सांगीतिक कार्यक्रममा गाउन थालेका सृजनले २०४८ सालमै रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थिए । त्यसपछि रेडियो नेपालमा ‘म सानो झरी हुँ’ लगायत चार वटा गीत रेकर्ड गराए ।


नेपाल घुम्न आएका अमेरिकन नागरिक जोन डेनासँग गितार सिकेर निरन्तर अभ्यास गरेपछि सृजन स्टुडियोहरूमा कन्टेम्पोररी र रक शैलीका गीतमा गितार बजाउन थाले । उनले नवीन के भट्टराईको त्यसताका चर्चित बनेका गीत ‘यही हो त माया’, प्राश्ना शाक्यको ‘आवाज देऊ’ लगायत धेरै गीतमा गितार बजाएका छन् । उनी भन्छन्, ‘सुरुमा गाउने र बजाउने दुवै गर्थें तर बजाउँदा पैसा पाइने भएकाले यतातिर लागें ।’


सृजनले म्युजिक एरेन्जर र गितारिस्टको काम पनि गरे । सृजनसँगै ब्रुनो (जय मल्ल), डा. सुमनशमशेर थापा, डेनमार्कका नागरिक एक्सेल र पिटर अनि जापानिज योशी मिलेर ‘बाइपास’ ब्यान्ड स्थापना गरे । ब्यान्डमा सृजन भोकलिस्ट, गितारिस्ट र कम्पोजर थिए । ब्यान्डकै नाममा एल्बम पनि निकाले । सन् १९९६ मा देशभरका छानिएका १२ गायकहरूको स्वर समेटिएको एल्बम ‘स्टार सेन्सेसन’ निस्कियो । त्यसमा सृजनको स्वर पनि थियो । सृजन धरान फर्किएपछि धरानका गायकहरूको संयुक्त एल्बम ‘भ्वाइसेस धरान’ निस्कियो । त्यसमा सृजनले गाएका थिए भने उनका भाइ रोशनले कम्पोज गरेका थिए ।



उनी धरान फर्किएर ‘धरान रेकर्डिङ स्टुडियो’ पनि खोले । स्टुडियोमा करिब १५ सय गीत रेकर्ड भएका छन् । उनकै स्टुडियोमा कान्छा भाइ प्रशान्तको गीत ‘पन्छी...’ रेकर्ड भयो । सन् २००० मा पुरानो ब्यान्ड बाइपासका तीन नेपाली सदस्यहरू मिलेर ‘बाइपास २’ एल्बम पनि निकाले । उनले एकल गीतहरू पनि गाए । अहिले घरमै एरेन्ज गर्ने, गितार सिकाउने गर्दै आएका उनी भन्छन्, ‘जे जे गरे पनि फुलटाइम संगीत नै हो ।’


सृजनका माइला भाइ रोशनले सृजनसँगै गितार बजाउन सिके । उनी पनि एसएलसीपछि २०५१ सालदेखि ब्यान्ड बनाएर संगीतमै लागेका थिए । रोशनले शिव लामिछानेहरूसँग मिलेर स्थापना गरेको ब्यान्ड ‘द अर्थ’ थियो । त्यसमा उनी गितार बजाउँथे । भिकल्स ब्यान्डमा पनि उनको भूमिका गितारमै थियो । उनले स्थानीय रेस्टुराँहरूमा पनि बजाए । त्यसपछि काठमाडौं पुगेका रोशनले स्टुडियो म्युजिसियनका रूपमा लामो समय काम गरे । काठमाडौं ज्याज कन्जरभेटरी (केजेसी) मा पनि केही वर्ष गितार सिकाए । संगीतकै लागि ब्याडहरूसँग विदेश पनि पुगे ।

ग्रामी अवार्ड विजेता पण्डित विश्वमोहन भट्टसँग उनैले बनाएको बाजा मोहन बिना सिकेका ४१ वर्षीय रोशन अहिले यही बाजाबाट स्वदेशमा नाम कमाइरहेका छन् । नेपालमा व्यावसायिक रूपमा मोहन बिना बजाउने रोशन एक्ला हुन् । अहिले उनले धेरैलाई यो बाजा सिकाइरहेका छन् । रजिना रिमाल र मनोज राजले गाएको गीत ‘पानीको फोका’, सुरज थापाको गीत ‘बहुला’ लगायत धेरै गीतमा मोहन बिनाको धुन सुन्न सकिन्छ ।


रोशन नेपालमा ‘ऊर्जा नेपाल’ ब्यान्डमा आबद्ध छन् भने दुबईमा नेपाली र भारतीयसँग मिलेर ‘काव्या’ का लागि बजाउँछन् । उनले पाकिस्तानको चर्चित ब्यान्ड ‘स्केचेस’ मा पनि आबद्ध भएर काम गरिरहेका छन् । उनीहरूको यो ब्यान्डले पाकिस्तानी फिल्म ‘केक’ मा दिएको संगीत ओस्कार अवार्डको मनोनयनमा परेको थियो । अहिले उनी विदेशमा रहेका ब्यान्डहरूका कतिपय काम घरमै बसेर गर्छन् । आवश्यक पर्दा बजाउन विदेश पुग्छन् । पछिल्लो समय धरानमै बसेर साधनारत रोशन भन्छन्, ‘काठमाडौंमा कमाइ राम्रो थियो तर मलाई कमाइभन्दा पनि मैले राम्रो बजाएँ कि बजाइनँ भन्नेमा चिन्ता लाग्न थाल्यो । आत्मसन्तुष्टि भएन, त्यसपछि धरान फर्किएँ ।’


३७ वर्षीय कान्छा प्रशान्त मामा घर पुग्दा किशोरकुमारका गीतहरू खुब सुन्थे । ४५ वर्षीय सृजन धरान आएपछि प्रशान्तले उनीबाटै विभिन्न गायकका गीतहरू सुने । उनलाई पनि गितार बजाउन मन लाग्यो । पछि दुवै दाजुहरूसँग अलिअलि गर्दै बजाउन सिके । एसएलसीपछि उनी काठमाडौं गए । अनामनगरमा उनको सांगीतिक सर्कल बन्यो । त्यहीँका साथीहरूसँग मिलेर भूमि ब्यान्ड स्थापना गरे । २०५६–५७ सालतिर उनले त्यही ब्यान्डमार्फत ‘तिम्रो मायाको सागरमा’ गीत पनि रेकर्ड गराए । ब्यान्ड लोकप्रिय बनिरहेको थियो । उनी लागूऔषधमा फसे ।


लागूऔषधबाट बाहिर निस्किन प्रशान्तलाई निकै समय लाग्यो । लागूऔषधमुक्त बनेपछि उनी पुनः संगीतमै फर्किए । उनले डिसेवल, जंगे लगायत विभिन्न ब्यान्डसँग मिलेर काम गरे । २०७० सालदेखि उनी धरानकै द आउटसाइडर ब्यान्डमा आबद्ध भए । उनले पहिला गाएको गीत ‘पन्छी’ ब्यान्डकै गीत बनाएर गाए । चार वर्षपछि ब्यान्ड छाडेका उनले आफ्नै माइला दाजु रोशनसँग
मिलेर ऊर्जा नेपाल ब्यान्डसँग पनि काम गरिरहेका छन् । उनी गिरीश खतिवडा, गंगा वरदान लगायतसँग मिलेर पनि गीतहरू गरिरहेका छन् ।


तीनै जना दाजुभाइ संगीत क्षेत्रमा हुँदा आफूलाई धेरै सजिलो भएको बताउँछन् प्रशान्त । उनी सन्तानै संगीतमा लाग्नुलाई आमाको महत्त्वपूर्ण देन मान्छन् । ‘आमा क्लासिकल गीतहरू अहिले पनि रातभर सुन्नु हुन्छ,’ उनी भन्छन्, ‘सानोमा हामीले बरु खान राम्रो पाइनौं होला तर आमाले दाजुहरूलाई महँगो गितार किनिदिनुहुन्थ्यो । अहिले पनि भिडियो गर्न आमाले सहयोग गर्नु हुन्छ ।’
धरानमै बसेर विभिन्न कार्यक्रम गर्दै र विदेशका कार्यक्रममा सहभागी हुँदै आएका प्रशान्त यहीँ बसेर आफ्नो पहिचान बनाउन लागिरहेका छन् । ‘पहिला पो मिडियादेखि स्टुडियोसम्म काठमाडौंमा केन्द्रीकृत थिएँ र जानुपर्ने बाध्यता थियो,’ उनी भन्छन्, ‘काठमाडौंमा बस्ने सबै कलाकार हिट भएका छैनन् । बाहिरै बस्नेले पनि राम्रो गरिरहेका छन् ।’

प्रकाशित : माघ १०, २०७६ १२:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

असहिष्णुताकी सिकार

आन्दोलनरत विद्यार्थीको पक्षमा उभिएकै कारण संसारको सबभन्दा ठूलो लोकतान्त्रिक भनिएको मुलुक भारतमा एउटी हिरोइनमाथि चौतर्फी हमला भइरहेको छ ।
गोकर्ण गौतम

 छपाक’ रिलिजको दुई दिन अगाडि दीपिका पादुकोण दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) पुगिन्  । खतराको घन्टी त्यतिबेलै बज्न थालिसकेको थियो  ।

जेएनयू पुगेर भाषण गरिनन्, सिर्फ घाइते विद्यार्थी नेता आयशी घोषलाई भेटिन्, उनको स्वास्थ्यबारे सोधखोज गर्दै ढाडस दिइन्, केही मिनेट विद्यार्थीहरूको विरोधसभामा सहभागी भइन् र चुपचाप फर्किन् । तर उनीविरुद्ध निसाना साध्न सत्तासीन दल भारतीय जनता पार्टी (भाजपा) का भक्तलाई यत्ति नै काफी भयो ।


दीपिका जेएनयूबाट निस्किनासाथ सामाजिक सञ्जालमा ‘बाइकट छपाक’ अभियान नै सुरु भयो, बुकिङ टिकट धमाधम क्यान्सिल गरियो, पैसा तिरेर किनिसकेको टिकटसमेत च्यातेर फेसबुकतिर ‘भाइरल’ बनाइयो । अनि च्याप्न थालियो, ‘छपाक’ सँगै रिलिज भएको ‘तानाजी’ लाई ।


हिन्दु राजा छत्रपति शिवाजी र मराठ राज्य जोगाउन बलिदानी दिएका योद्धा तानाजीको महिमा गाइएको फिल्म भाजपाका समर्थकलाई मनपर्ने भइहाल्यो । तर आन्दोलनरत विद्यार्थीको पक्षमा उभिएकै भरमा दीपिकाप्रति प्रतिशोध लिएर संसारको सबभन्दा ठूलो लोकतान्त्रिक भनिएको मुलुकमा असहिष्णुताको हद कुन विन्दुसम्म पुगेको छ भन्ने प्रस्टै देखियो । दीपिका यो प्रवृत्तिको सिकार भएकी पछिल्लो पात्रमात्र हुन् ।

जबकि ‘छपाक’ मा भारतीय समाजको अँध्यारो तर यथार्थ नियतिलाई उजागर गरिएको छ । त्यो हो, युवतीमाथि हुने एसिड प्रहार । सन् २००५ मा दिल्लीमा लक्ष्मी अग्रवाल एसिड आक्रमणमा परेकी थिइन् । त्यति बेला उनी १६ वर्षकी मात्र थिइन् तर पनि हरेस खाइनन्, अपराधीलाई सजाय दिलाउन र एसिड नियमन गर्न कानुनी लडाइँ लडिरहिन् । आज भारतमात्र होइन, संसारभर लक्ष्मी प्रेरणाकी पात्र भएकी छन् । ‘छपाक’ उनै साहसी लक्ष्मीको कथा हो । लक्ष्मी बनेकी छन्, दीपिका । यसरी दीपिकाको चरित्र संवेदनशील छ नै, अभिनय पनि जीवन्त छ । तर ‘छपाक’ बक्सअफिसमा फ्लप भयो ।

७२औं कान्स फिल्म फेस्टिभलका अवसरमा फोटोग्राफरसामु तस्बिर खिचाउँदै दीपिका पादुकोण तस्बिर : रोयटर्स

कोइमोई डटकमका अनुसार ‘छपाक’ को घरेलु बजारको कलेक्सन रिलिजको पहिलो साता भारु २८ करोडमा सीमित भयो । यही अवधिमा ‘तानाजी’ ले भारु १ सय २८ करोडको व्यापार गर्‍यो । दोस्रो साताको कमाइमा पनि ‘तानाजी’ नै अगाडि छ ।


महिला सशक्तीकरणको अभियान हो, ‘छपाक’ । राज्य संरचना, प्रहरी प्रशासन र समाजका अन्य तप्का हिंसापीडित महिलाप्रति कति अनुदार छ भन्ने दृष्टान्त हो, ‘छपाक’ । अनेक शारीरिक र मानसिक सास्ती सामना गरेर आफूमाथिको अत्याचारविरुद्ध आवाज उठाउने युवतीको आत्मविश्वासको प्रतिबिम्ब हो, ‘छपाक’ । निःसन्देह यसले कर छुटलगायत अन्य सरकारी सुविधाको हक राख्छ तर केन्द्र सरकारकै अघोषित निषेध र बहिष्कार बेहोर्नुपर्‍यो । कांग्रेसको सरकार भएका दुई राज्य मध्यप्रदेश र राजस्थानमा मात्र कर छुट भयो ।


भाजपाले शासन गरिरहेको हरियाणा र उत्तर प्रदेशमा चाहिँ ‘तानाजी’ को कर छुटको घोषणा गरियो, जबकि यी सबै राज्य महिला हिंसाको रेकर्डमा अगाडि आउँछन् । बक्सअफिसमा असफल बनाउन त ‘छपाक’ र दीपिकामाथि आक्रमण भयो नै । व्यावसायिक उत्पादनको विज्ञापनबाट समेत उनलाई किनाराकृत गर्न थालिएको छ । असहिष्णुताबारे बोलेपछि कुनै समय शाहरुख खान र आमिर खान यसरी पिल्सिनुपरेको थियो । कतिसम्म भने, इन्टरनेट मुभी डाटाबेस (आईएमडीबी) मा ‘छपाक’ को रेटिङ घटाउनसमेत भाजपाभक्तहरू लागिपरे । कति दूषित हर्कत !


‘छपाक’ की हिरोइनमात्र होइनन्, दीपिका । निर्माता पनि हुन्, त्यसैले फ्लप हुँदा दोहोरो मारमा परेकी छन् । उनीमाथि यस्तो अन्याय पर्दासमेत बलिउडका ठूला नामहरू कोही बोलेनन्, न त दीपिका स्वयंले कुनै प्रतिक्रिया दिएकी छन् । ‘पद्मावत’ खेलेपछि पनि हिन्दु अतिवादीबाट हमला सहनुपरेको थियो उनले । तर ‘छपाक’ ले आमदर्शकमा भने उनको साख वृद्धिमा भूमिका खेलेको छ । यति संवेदनशील विषयमा आफ्नै लगानीमा फिल्म बनाएर आफैं खेल्नु चानचुने आँट हो र ?

प्रकाशित : माघ १०, २०७६ १२:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×