असहिष्णुताकी सिकार
छपाक’ रिलिजको दुई दिन अगाडि दीपिका पादुकोण दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) पुगिन् । खतराको घन्टी त्यतिबेलै बज्न थालिसकेको थियो ।
जेएनयू पुगेर भाषण गरिनन्, सिर्फ घाइते विद्यार्थी नेता आयशी घोषलाई भेटिन्, उनको स्वास्थ्यबारे सोधखोज गर्दै ढाडस दिइन्, केही मिनेट विद्यार्थीहरूको विरोधसभामा सहभागी भइन् र चुपचाप फर्किन् । तर उनीविरुद्ध निसाना साध्न सत्तासीन दल भारतीय जनता पार्टी (भाजपा) का भक्तलाई यत्ति नै काफी भयो ।
दीपिका जेएनयूबाट निस्किनासाथ सामाजिक सञ्जालमा ‘बाइकट छपाक’ अभियान नै सुरु भयो, बुकिङ टिकट धमाधम क्यान्सिल गरियो, पैसा तिरेर किनिसकेको टिकटसमेत च्यातेर फेसबुकतिर ‘भाइरल’ बनाइयो । अनि च्याप्न थालियो, ‘छपाक’ सँगै रिलिज भएको ‘तानाजी’ लाई ।
हिन्दु राजा छत्रपति शिवाजी र मराठ राज्य जोगाउन बलिदानी दिएका योद्धा तानाजीको महिमा गाइएको फिल्म भाजपाका समर्थकलाई मनपर्ने भइहाल्यो । तर आन्दोलनरत विद्यार्थीको पक्षमा उभिएकै भरमा दीपिकाप्रति प्रतिशोध लिएर संसारको सबभन्दा ठूलो लोकतान्त्रिक भनिएको मुलुकमा असहिष्णुताको हद कुन विन्दुसम्म पुगेको छ भन्ने प्रस्टै देखियो । दीपिका यो प्रवृत्तिको सिकार भएकी पछिल्लो पात्रमात्र हुन् ।
जबकि ‘छपाक’ मा भारतीय समाजको अँध्यारो तर यथार्थ नियतिलाई उजागर गरिएको छ । त्यो हो, युवतीमाथि हुने एसिड प्रहार । सन् २००५ मा दिल्लीमा लक्ष्मी अग्रवाल एसिड आक्रमणमा परेकी थिइन् । त्यति बेला उनी १६ वर्षकी मात्र थिइन् तर पनि हरेस खाइनन्, अपराधीलाई सजाय दिलाउन र एसिड नियमन गर्न कानुनी लडाइँ लडिरहिन् । आज भारतमात्र होइन, संसारभर लक्ष्मी प्रेरणाकी पात्र भएकी छन् । ‘छपाक’ उनै साहसी लक्ष्मीको कथा हो । लक्ष्मी बनेकी छन्, दीपिका । यसरी दीपिकाको चरित्र संवेदनशील छ नै, अभिनय पनि जीवन्त छ । तर ‘छपाक’ बक्सअफिसमा फ्लप भयो ।
७२औं कान्स फिल्म फेस्टिभलका अवसरमा फोटोग्राफरसामु तस्बिर खिचाउँदै दीपिका पादुकोण तस्बिर : रोयटर्स
कोइमोई डटकमका अनुसार ‘छपाक’ को घरेलु बजारको कलेक्सन रिलिजको पहिलो साता भारु २८ करोडमा सीमित भयो । यही अवधिमा ‘तानाजी’ ले भारु १ सय २८ करोडको व्यापार गर्यो । दोस्रो साताको कमाइमा पनि ‘तानाजी’ नै अगाडि छ ।
महिला सशक्तीकरणको अभियान हो, ‘छपाक’ । राज्य संरचना, प्रहरी प्रशासन र समाजका अन्य तप्का हिंसापीडित महिलाप्रति कति अनुदार छ भन्ने दृष्टान्त हो, ‘छपाक’ । अनेक शारीरिक र मानसिक सास्ती सामना गरेर आफूमाथिको अत्याचारविरुद्ध आवाज उठाउने युवतीको आत्मविश्वासको प्रतिबिम्ब हो, ‘छपाक’ । निःसन्देह यसले कर छुटलगायत अन्य सरकारी सुविधाको हक राख्छ तर केन्द्र सरकारकै अघोषित निषेध र बहिष्कार बेहोर्नुपर्यो । कांग्रेसको सरकार भएका दुई राज्य मध्यप्रदेश र राजस्थानमा मात्र कर छुट भयो ।
भाजपाले शासन गरिरहेको हरियाणा र उत्तर प्रदेशमा चाहिँ ‘तानाजी’ को कर छुटको घोषणा गरियो, जबकि यी सबै राज्य महिला हिंसाको रेकर्डमा अगाडि आउँछन् । बक्सअफिसमा असफल बनाउन त ‘छपाक’ र दीपिकामाथि आक्रमण भयो नै । व्यावसायिक उत्पादनको विज्ञापनबाट समेत उनलाई किनाराकृत गर्न थालिएको छ । असहिष्णुताबारे बोलेपछि कुनै समय शाहरुख खान र आमिर खान यसरी पिल्सिनुपरेको थियो । कतिसम्म भने, इन्टरनेट मुभी डाटाबेस (आईएमडीबी) मा ‘छपाक’ को रेटिङ घटाउनसमेत भाजपाभक्तहरू लागिपरे । कति दूषित हर्कत !
‘छपाक’ की हिरोइनमात्र होइनन्, दीपिका । निर्माता पनि हुन्, त्यसैले फ्लप हुँदा दोहोरो मारमा परेकी छन् । उनीमाथि यस्तो अन्याय पर्दासमेत बलिउडका ठूला नामहरू कोही बोलेनन्, न त दीपिका स्वयंले कुनै प्रतिक्रिया दिएकी छन् । ‘पद्मावत’ खेलेपछि पनि हिन्दु अतिवादीबाट हमला सहनुपरेको थियो उनले । तर ‘छपाक’ ले आमदर्शकमा भने उनको साख वृद्धिमा भूमिका खेलेको छ । यति संवेदनशील विषयमा आफ्नै लगानीमा फिल्म बनाएर आफैं खेल्नु चानचुने आँट हो र ?