कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विन्डोज सेभेनको अन्त्य

हेलो शुक्रबार

अत्यधिक मन पराइएको विन्डोजको भर्सन सेभेनको सपोर्ट माइक्रोसफ्टले बन्द गरेको छ  । प्रयोगकर्तालाई दुई वर्षयता विन्डोज टेनको प्रयोगका लागि आग्रह गर्दै आएको माइक्रोसफ्टले यो मंगलबारदेखि विन्डोज सेभेनलाई दिँदै आएको सपोर्ट बन्द गरेको हो  ।

यससँगै विन्डोज सेभेनका प्रयोगकर्ताले यो भर्सन प्रयोग गर्न पाइरहने भए पनि माइक्रोसफ्टबाट हुने कुनै पनि प्रकारको सहयोग पाउने छैनन् । अर्थात्, कम्पनीले आफ्नो प्रयोगकर्तालाई सुरक्षाका लागि दिने सेक्युरिटी अपडेट अब पूर्णतः बन्द हुनेछ । विन्डोज सेभेन विन्डोज अपरेटिङ सिस्टम प्रयोगकर्ताको सबैभन्दा प्रिय संस्करण हो ।
अनलाइनसम्बन्धी तथ्यांक राख्ने ‘स्ट्याट काउन्टर’ का अनुसार हालसम्म पनि विन्डोज सेभेनका प्रयोगकर्ता करिब एक चौथाइ छन् । कुल विन्डोज प्रयोगकर्ताको तुलनामा करिब २७ प्रतिशत प्रयोगकर्ताले हालसम्म पनि विन्डोज सेभेन प्रयोग गरिरहेका छन् जबकि विन्डोज सेभेनपछि आएका विन्डोज एट र एट पोइन्ट वान भर्सनका प्रयोगकर्ता क्रमशः १ प्रतिशत र ५ प्रतिशत मात्रै छन् । विन्डोजका ६५ प्रतिशतभन्दा बढी प्रयोगकर्ताले विन्डोज टेन प्रयोग गरिरहेका छन् ।
सुरक्षा विज्ञहरू भने माइक्रोसफ्टले सपोर्ट बन्द गर्ने निर्णय गरे पनि विन्डोज सेभेनका यति धेरै प्रयोगकर्ता हुनुलाई जोखिमपूर्ण मान्छन् । धेरै विज्ञहरूको चासो छ कि माइक्रोसफ्टले सपोर्ट बन्द गर्नेबित्तिकै ढिलो–चाँडो यी प्रयोगकर्ताको डिभाइस जोखिममा पर्नेछ । माइक्रोसफ्टले विन्डोज सेभेनलाई सपोर्ट बन्द गर्नुको अर्थ ह्याकरबाट यसका प्रयोगकर्तालाई जोगाउन कम्पनीले गर्ने लगानी पनि बन्द हुनु हो । जसका कारण ह्याकरलाई विन्डोज सेभेनका कमजोरी पत्ता लगाएर प्रयोगकर्ताको डिभाइससम्म पहुँच पाउनका लागि सहज हुनेछ ।
माइक्रोसफ्टले सूचना प्रकाशित गर्दै आफ्ना प्रयोगकर्तालाई विन्डोज सेभेन प्रयोग नगर्न भनेको छ । ‘हाम्रो सपोर्टबिना पनि विन्डोज सेभेन प्रयोग गर्नु भाइरसको जोखिममा हुनु हो,’ कम्पनीले आफ्नो वेबसाइटमा प्रकाशित गरेको सूचनामा भनिएको छ ।
माइक्रोसफ्टले सपोर्ट बन्द गरेपछि विन्डोज सेभेन प्रयोग भएको कम्प्युटरको तथ्यांक चोरी हुने, प्रयोगकर्तालाई थाहै नपाए पनि ह्याकरले उनीहरूको गतिविधि निगरानी गर्न सक्ने जोखिम हुन्छ । तर, विन्डोज सेभेन प्रयोग भएको डिभाइस अनलाइनमा जोडिँदा यस्तो जोखिम हुने भए पनि सधैं अफलाइन हुने डिभाइसमा भने ह्याकरबाट जोखिम कम हुने विज्ञहरू बताउँछन् ।
व्यक्तिगत प्रयोगजनका लागि प्रयोग हुने कम्प्युटर र कहिल्यै अनलाइनमा नजोडिने हो भने प्रयोगकर्ताले अझैं विन्डोज सेभेन प्रयोग गर्न सक्छन् । तर बैंक तथा महत्त्वपूर्ण जानकारी रहने कम्प्युटर हो भने विन्डोज सेभेनको प्रयोग नगर्न विज्ञहरूले सुझाव दिएका छन् । बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टरले मंगलबारदेखि विन्डोज सेभेन प्रयोग भएको डिभाइसबाट इन्टरनेट बैंकिङ सेवा प्रयोग नगर्न तथा इमेलहरू आदानप्रदान नगर्न आफ्ना नागरिकहरूलाई सूचित गरेको छ ।
माइक्रोसफ्टले अवैध सफ्टवेयरको प्रयोगलाई रोक लगाउने, हरेक डिभाइसमा एकै खालको अपरेटिङ सिस्टम प्रयोग गर्ने र त्यसलाई प्रयोगकर्तामैत्री बनाउने भन्दै विन्डोज टेन सार्वजनिक गरेको थियो ।
विन्डोज टेन प्रयोग गर्न प्रयोगकर्ताले १ सय डलर बढी मूल्यमा अपरेटिङ सिस्टम किन्नुपर्ने हुन्छ ।
विन्डोज टेन प्रयोगका लागि कम्प्युटरमा कम्तीमा पनि १ गिगाहर्जको प्रोसेसर, १६ जीबीको हार्ड ड्राइभ र १ जीबी र्‍याम मेमोरी हुनुपर्छ । माइक्रोसफ्टका अनुसार विन्डोज सेभेनमा सपोर्ट बन्द भएपछि केही संस्थाहरूले चासो व्यक्त गरेका छन् । उनीहरूले विन्डोज सेभेनमा मात्रै चल्ने गरी आफ्नै विशिष्ट खालको सफ्टवेयरहरू प्रयोग गरेकाले अरू अपरेटिङ सिस्टम प्रयोगकर्ताले त्यस्ता
सफ्टवेयर नचल्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । त्यस्ता निकायहरूका लागि प्रतिकम्प्युटर वार्षिक २५ डलरदेखि २ सय डलरसम्म सेवा शुल्क लिएर छुट्टै सपोर्ट गर्ने माइक्रोसफ्टले जनाएको छ ।

–एजेन्सीको सहयोगमा

प्रकाशित : माघ ३, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?