कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुपरम्यान उडान

साहसिक मानिने ‘जिप लाइन’ फलामको डोरीमा घिर्नीको सहायताले विशेष प्रकारको फित्तामा झुन्डिएर अघि बढ्ने वा उड्ने गरिन्छ  । यही जिप लाइनको डोरीमा सरर उड्ने रहर पूरा गर्न काठमाडौंबाट ३५ किमि टाढा धुलिखेल पुगियो  ।

सुपरम्यान उडान

धुलिखेलको थाक्लेडाँडास्थित जिपलाइनको टेकअफ स्टेसन छ । पारीपट्टि आँखैमा टाँसिएलान् जस्तो देखिने लाङटाङ, दोर्जेलाक्पा, फुर्बीच्याचुलगायत हिमशृंखला सेताम्मे टल्किएका थिए । यता जिपलाइन गर्ने फलामको लट्ठा धागोजत्रै देखिन्थ्यो । ११ सय मिटर लामो डोरो टेकअफ स्टेसनबाट आधाजति मात्रै देखिन्थ्यो । बाँकी भाग हेर्दाहेर्दै बिलाउँथ्यो । यो डोरीले ज्यान थाम्ला त ? मनमा डर मिश्रित प्रश्न उठ्यो । बीचैमा, मेरै पालामा डोरी चुडियो भने ? हिमशृंखला हेर्दा पुलकित मन एकैछिनमा चिसो भयो ।
टेकअफ स्टेसन र ल्यान्डिङ स्टेसनमा ‘जिप लाइन’ मास्टरहरूले आवश्यक सुरक्षा तयारी मिलाइसकेका थिए । मास्टरले मेरो शरीरमा ‘सेफ्टी’ बाँध्न थाले । हार्नेस् बाँधियो । मन पनि अलिक बाँधियो । जे पर्ला पर्ला । डर अलि कम भयो । मास्टरले जिपलाइन गर्दा पालना गर्नुपर्ने नियम बताए । मैले सुपरम्यान उडान गर्ने भएकाले अग्लो टेबलमाथि घोप्टो पर्न लगाए । जिपलाइनको डोरीमा क्यारोबिनको सहाराले मलाई झुन्ड्याइदिए र अगाडिपट्टि देखाउँदै धेरैभन्दा धेरै मजा कसरी लिने सिकाउन थाले । देब्रे हातमा गोप्रो दिइयो । मास्टरले घोप्टो परेको मेरो ज्यानलाई ओरालो पारेर अघि बढाउन थाले । मुटु ढक्क फुल्यो । अनुहारको चमक नै हरायो ।
जब मास्टरले एक, दुई, तीन भन्दै जिपलाइनको डोरीमा घोप्टो परेर झुन्डिएको मेरो ज्यानलाई घचेटेर टेकअफ स्टेसनको बार कटाए । म जोडले हुर्रिएँ । डरले टक्क सास रोकियो । सुरुको पाँच सेकेन्ड निकै डराएको थिए । त्यसपछि डर विस्तारै कम हुँदै, मजा बढ्दै गयो । डोरीमा मेरो ज्यान हावाको वेगसँगै स्वतन्त्र रूपले अघि बढिरहेको थियो । दुई सय ४० फिटको झुकावमा हावाको औसत गति ७० किमि प्रतिघण्टा थियो ।
गोप्रोमा अनुकूलका भिडियो लिएँ । तल्तिर हरियाली जंगल र गाउँ, पारिपट्टिका डाँडाकाँडा र सेताम्मे हिमशृंखला । उड्दै दृश्यपान गर्दाको मजा बेग्लै थियो । डर र आनन्दको दुवै अनुभूति भइरहेको थियो । सायद त्यसैले जिपलाइनलाई साहसिक भनिएको होला ।
टेकअफ स्टेसन थाक्ले डाँडादेखि ल्यान्डिङ स्टेसन पाँचखालको खावासम्मको ११ सय मिटर दूरी पार गर्न १ मिनेट २० सेकेन्ड कति चाँडै बितेछ, पत्तै भएन । धित मरुन्जेल उडिरहुँ, दृश्यपान गरिरहुँ भन्दाभन्दै खावामा ल्यान्ड भएछु । जिपलाइन मास्टरहरूले डोरीबाट छुटाइदिए ।
स्टेसनमा ओर्लेपछि ट्री अप (रूखमाथि नै बसेर खान मिल्ने गरी बनाइएको रेस्टुराँ) मा उक्लिएँ । हरियाली जंगलभित्र करिब २० रोपनी क्षेत्रफलमा विभिन्न आठ वटा ‘एडभेन्चर कोर्स’ सहितको ‘एडभेन्चर पार्क’ अवलोकन गरें । काठमाडौं नजिकै गाउँले परिवेश र आधुनिक प्रविधियुक्त साहसिक यात्राको संयोजन गज्जब लाग्यो ।
नेपालमा जिप लाइन अनुभव पोखरा र धुलिखेलमा गर्न सकिन्छ । धुलिखेलमा समुद्र सतहको १३ सय मिटर उचाइमा टेक अफ भएर १२ सय मिटरमा ल्यान्डिङ हुन्छ । धुलिखेलको जिप लाइनमा साधारण, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गराइन्छ । साधारणमा बसेर यात्रा गरिन्छ । सुपरम्यान जिप लाइन गर्दा कम्मरमा विशेष प्रकारको डोरीसहितको ‘फुलबडी हार्नेस’ लगाइएको हुन्छ । हार्नेसमा घोप्टो सुतेर दुवै हात फिँजाएर सुपरम्यान अघि बढ्छ, त्यसैको अनुभव गरियो ।

प्रकाशित : माघ ३, २०७६ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?