२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

हाइकिङको बाटो चिटिक्क पार्दै

विद्या राई

सधैंजसो हाइकिङ र पिकनिक जानेहरूको हूलले भरिने चम्पादेवी पदमार्गमा गत शनिबार बेग्लै जमघट भयो  । ६५ युवायुवतीको हूलले हाइकिङमात्रै गरेन, पदमार्गलाई स्वच्छ राख्ने प्रयासमा सरसफाइ अभियान नै चलायो  ।

हाइकिङको बाटो चिटिक्क पार्दै

सधैंजसो हाइकिङ र पिकनिक जानेहरूको हूलले भरिने चम्पादेवी पदमार्गमा गत शनिबार बेग्लै जमघट भयो । ६५ युवायुवतीको हूलले हाइकिङमात्रै गरेन, पदमार्गलाई स्वच्छ राख्ने प्रयासमा सरसफाइ अभियान नै चलायो । नेतृत्व गरेका थिए, अल्ट्रा धावकहरू मीरा राई र भीम गुरुङले । साथमा थिइन्, १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता कराँते खेलाडी अनुपमा मगर । उनीहरूले हात्तीवन रिसोर्ट गेटदेखि चम्पादेवी मन्दिरसम्म (४ किमि) को फोहोर संकलन गरे । पदमार्गलाई चिटिक्क पारे । पदमार्गका ठाउँ–ठाउँमा उत्प्रेरक भनाइहरू लेखिएको साइनबोर्ड टाँसे । डोको डस्टविन राखे । उनीहरूको अभियानमा सहयोगीहरू पनि अघि बढे ।
‘मीरा राई इनिसिएटिभ’ ले ‘इको म्यारिन’ सँगको सहकार्यमा सरसफाइ, हाइकिङ र जनचेतना कार्यक्रम आयोजना गरेको थियो । चम्पादेवी पदमार्ग मीरालाई मनपर्ने पदमार्गहरूमध्येको एक हो । यहाँ दौडँदा उनको ध्यान दौडमा मात्रै हुँदैन । नजर पदयात्रीले प्रयोग गरेर जथाभावी फ्याँकेका प्लास्टिक, बोतल, सिसा, कागज, तारजालीका टुक्रामा पनि पुग्थ्यो । दौडँदा सिसाका टुक्राले घोच्ने सम्भावना हुन्थ्यो । जोगिएर दौडँदा लडेर घाइते हुने, दौडमा पछि पर्ने डर पनि उत्ति नै हुन्थ्यो ।
उनले फोहोर थप्नेहरू मात्रै देख्थिन् । सफा गर्नेहरू कहिल्यै देखिनन् । भनिन्, ‘यसरी फोहोर बढ्दै जाँदा यो रुट दौडका लागि एकदमै जोखिमपूर्ण बन्ने भयो, प्राकृतिक स्वरूप बिग्रिने भयो ।’ दौडको रुट जोगाउन र प्राकृतिक सुन्दरतालाई कायमै राख्न सफाइमा अघि सरेको उल्लेख गर्दै उनले भनिन्, ‘बिग्रियो भनेर चिन्ता लिएर कसले सुन्ने ? आफैंले गरेर देखाऔं भनेर सरसफाइ गर्न आएको हो ।’ चम्पादेवी पदमार्गजस्तै अन्य पदमार्गहरूको सरसफाइमा हातेमालो गर्दै जाने भीमले बताए । ‘मान्छेहरूमा सरसफाइ गर्ने चेतना बढाउनका लागि हामीले पदमार्गहरूका फोहोर उठाउन थालेका हौं,’ उनले भने, ‘यसले ‘टिम बिल्डिङ’ को नेतृत्व विकास गर्न पनि सिकाउँछ ।’
दौडने क्रममै घाइते भएर लामो समयदेखि आराम गरिरहेकी मीरा पछिल्लो समय पुनरागमनका लागि तालिममा व्यस्त छिन् । केही समयअघि थाइल्यान्ड गएकी थिइन् । उताबाट फर्केर व्यस्त समयकै बाबजुद सरसरफाइ र सचेतनाका लागि समय निकालेकी सुनाइन् । सरसफाइमा उनको टोलीमा धावकहरूको संख्या बढी थियो ।
मीरा र भीम प्लास्टिकको बोरा लिएर फोहोर टिप्न अघि–अघि बढ्थे । अरू धावक, शुभचिन्तक, साथीभाइले उत्साहित हुँदै उनीहरूलाई साथ दिए । हाइकिङ गर्ने, पिकनिक खाने र रमाइलो गर्नेहरू मीराले फोहोर टिपेको देख्दा अचम्म मान्दै हेर्थे । प्रशंसा गर्थे । धेरैले मीरासँग फोटो खिचाउने रहर गर्थे । उनी कुनै संकोच नमानी पोज दिन्थिन् । साहसी, मिजासिली मीराको स्वयंसेवी जोस देखेर हौसिन्थे । ‘मीरा दिदी जस्तोसुकै काम गर्न पनि अघि सर्नुहुन्छ, सधैं हँसिलो र सक्रिय देखिनुहुन्छ, उहाँको हौसला र मायाले मलाई पनि उत्साह भर्छ,’ भोजपुरकी धाविका प्रतिभा श्रेष्ठले बताइन् । उनी नेपालको अल्ट्रा दौडमा नयाँ अनुहार हुन् ।
टोली बिहान साढे ७ बजे ठमेलबाट बस चढेर दक्षिणकालीको भन्ज्याङ उत्रेको थियो । त्यहाँबाट पैदल यात्रा गर्दै हात्तीवन रिसोर्ट गेट उक्लियो । चना, अन्डा, ब्रेड र चियाको खाजा तयार भइसकेको थियो । खाजा खाएर सरसफाइमा जुट्यो । बिहान करिब साढे ९ बजे हात्तीवन रिसोर्ट गेटबाट सरसफाइ थालेका उनीहरू चम्पादेवी मन्दिरसम्म पुगेर फर्कंदा दिउँसोको साढे तीन बजेको थियो ।

उनीहरू फोहोरलाई टिप्दै बोरामा जम्मा गर्दै उक्लेका थिए । ओर्लंदा फोहोर भरिएका बोरा काँधमा बोकेर रिसोर्टको गेटसम्म ल्याए । करिब ८० बोरा फोहोर संकलन थियो, जसलाई टौदहबाट आएका युवाहरूले व्यवस्थापन गर्ने जिम्मा लिए ।

प्रकाशित : माघ ३, २०७६ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?