१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शक्ति मोह

नेपालका लागि झन्डै दुई दशक क्रिकेट खेलेका शक्ति गौचन गत वर्ष खेलाडी जीवनबाट संन्यास लिएपछि रूपन्देहीस्थित घरमै बस्छन्  । खेल्न छाडे पनि क्रिकेटमा उनको व्यस्तता घटेको छैन  ।

शक्ति मोह

नेपालका लागि झन्डै दुई दशक क्रिकेट खेलेका शक्ति गौचन गत वर्ष खेलाडी जीवनबाट संन्यास लिएपछि रूपन्देहीस्थित घरमै बस्छन् । खेल्न छाडे पनि क्रिकेटमा उनको व्यस्तता घटेको छैन । उनको दैनिकीबारे सन्जु पौडेल लेख्छिन् :


प्रत्येक दिन कार्यक्रममा सहभागिताका लागि निम्तो आउँछ । सहरमा नयाँ क्याफे, रेस्टुराँमा अतिथि बनिरहेका छन् । पुराना क्याफे, रेस्टुराँमा पनि निमन्त्रणा उत्तिकै आउँछ । सामाजिक काममा सक्रिय छन् नै । धेरै ठाउँबाट निम्तो आउने भएकाले जानैपर्ने कार्यक्रमलाई रोज्छन् । रूपन्देहीमा प्रायः युवाले लगानी गरेका व्यावसायिक प्रतिष्ठानमा उपस्थित नभई हुँदैन । बुटवल, तिलोत्तमा, सैनामैना, देवदह र यस आसपासका क्षेत्रका कार्यक्रममा यस्तो आकर्षण बनेका छन्, क्रिकेट लिजेन्ड शक्ति गौचन ।
जिल्लामा धेरै क्षेत्रमा उनी चिरपरिचित हुन् । त्यसैले उनलाई कार्यक्रममा पाहुना बनेर सहभागी हुँदा भ्याइनभ्याई नै छ । साथीभाइले निम्त्याउँदा नकार्न सक्दैनन् । अपरिचितले पनि कार्यक्रममा सहभागी भइदिन अनुरोध गर्छन् । गृह जिल्लामा सञ्चालन हुने क्रिकेटका लिगलगायत प्रतियोगिताहरूमा उनको उपस्थिति छुट्दैन । खेल गतिविधिलाई छुटाउन चाहन्नन् । यसका साथै धेरै युवाका संघर्षका लागि प्रेरणा भएकाले विभिन्न व्यापारिक प्रतिष्ठानको उद्घाटनमा पाहुनाका लागि उनी प्राथमिकतामा पर्छन् ।
सरल स्वभावका उनी कसैको चित्त दुखाउन चाहँदैनन् । यहाँ सञ्चालन हुने क्रिकेट लिगमा आफैं उपस्थित हुन्छन् नै, सँगै आफ्ना चेलाहरूलाई मैदानमा उतार्छन् पनि । कुनै खेलमा त उनी प्रशिक्षकको भूमिकामा नै देखिन्छन् ।
‘सामाजिक योगदान दिने संस्थाका कार्यक्रममा जान्छु,’ आफ्नो प्राथमिकताबारे शक्तिले भने, ‘खेल गतिविधि छुटाउँदिनँ ।’ उनी संस्थाको पृष्ठभूमि बुझेरमात्र कार्यक्रममा सहभागी हुने गरेका छन् । आयोजक संस्थाको सामाजिक योगदानलाई उनी विशेष रूपमा हेर्ने गर्छन् । रूपन्देहीस्थित पडसरीका बासिन्दा शक्तिको खेल जीवनबाट संन्यासपछि पनि दिनचर्या निकै व्यस्त भएरै बितिरहेको छ । सामाजिक संस्था, व्यापारिक प्रतिष्ठानबाहेक उनको रुचि बाल आश्रम, वृद्धाश्रममा गएर सेवा गर्ने रहेको छ । त्यस्ता आश्रममा रोटरी, लायन्स, जेसिसलगायत संस्थाले गर्ने कार्यक्रममा समेत उनको उपस्थिति हुन्छ ।
झन्डै दुई दशक लामो करियरमा शक्ति प्रायः क्रिकेट खेल्न घरबाहिरै रहन्थे । भन्छन्, ‘अहिले परिवारलाई समय दिन सकेकामा खुसी छु ।’ क्रिकेट खेल्दाका साथी र ड्रेसिङ रुमको रमाइला क्षणहरूले उनलाई अहिले पनि मोहित पार्छ ।
खेलाडीका रूपमा एक वर्षअघि संन्यास घोषणा गरेका उनको अचेल अधिकांश समय क्रिकेट सिकाउँदै बित्ने गरेको छ । उनी न्यु होराइजन माविका क्रिकेट प्रशिक्षक हुन् । त्यसैले उनी स्थानीय क्लब, न्यु होराइजन र ज्ञानकुञ्ज माविका विद्यार्थी र लिगका खेलाडीलाई प्रशिक्षण दिन्छन् । गत वैशाखबाट उनले सुरु गरेको क्रिकेट होस्टलमा विभिन्न जिल्लाका १० विद्यार्थी छन् । विद्यालयबाट फर्केपछि उनीहरू एकेडेमीमा क्रिकेट सिक्नै व्यस्त हुन्छन् । शक्ति आफैं दिल्लीको क्रिकेट सामग्री उत्पादन कम्पनी एसएमको ब्रान्ड एम्बासडर पनि हुन् । उनी एसएमकै ब्याट प्रयोग गर्छन् ।
उनी आफैंले स्टार एकेडेमी सञ्चालन गरिरहेका छन्, जहाँ करिब ७० जनाले बल र ब्याटको कौशल सिकिरहेका छन् । केही प्रशिक्षार्थीले १ हजार रुपैयाँ तिर्छन् भने केहीले निःशुल्क सिक्ने अवसर पाइरहेका छन् । शुल्क तिर्न नसक्नेले राम्रो प्रदर्शन र खेलमा सुधार भने गर्नुपर्छ । ‘कतिपय आर्थिक स्थिति कमजोर भएका पनि आउँछन्,’ शक्तिले भने, ‘राम्रो खेल्ने सम्भावना देखिएकालाई सित्तैमा सिकाउँछु ।’ नेपाली टिमबाट अहिले उत्कृष्ट प्रदर्शन गरिरहेका सुशान्त भारी र कुशल मल्ल स्टार एकेडेमीकै उत्पादन हुन् । उनी यसमा गर्व गर्छन् । ‘सबैले गुरुका रूपमा सम्मान गर्दा खुसी मिल्छ,’ हाँस्दै शक्तिले भने ।



उनको चाहना एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल्ने थियो । नेपालले सन् २०१८ मा भएको विश्वकप छनोटबाट ओडीआई मान्यता पनि पायो । पहिलो ओडीआई सिरिजका रूपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध अगस्ट, २०१८ मा खेल्यो । आम्सटेल्भिनमा भएको त्यो खेलमा शक्तिले विकेट नलिए पनि ४ ओभर बलिङ गरेका थिए । नौ रन पनि जोडेका थिए । त्यो नै उनको राष्ट्रिय टिमबाट अन्तिम खेल बन्यो । उनले २०७५ मंसिर २९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाडी जीवनबाट संन्यास घोषणा गरेका थिए ।
कोलकातामा जन्मिएका उनका पिता भारतीय सेनामा रहेका थिए । बुबा रिटायर्ड भएपछि मुम्बईमा रहँदा उनको क्रिकेट कलाले मौलाउने अवसर पायो । बिरामी आमाको हेरचाह गर्न २१ वर्षअघि स्वदेश फर्केपछि उनको जीवनले नयाँ मोड लियो । उनी यतै खेल्न थाले । उमेर समूह हुँदै राष्ट्रिय टिममै पुगे । त्यसै बेला क्रिकेटबाट कमाएको ७० हजार रुपैयाँ घरसँगै रहेको जग्गामा प्रशिक्षणका लागि इन्डोर ट्रेनिङ सेन्टर बनाएका थिए । उनी त्यहाँ छिमेकीलाई चिया, बिस्कुट खुवाएर अभ्यासमा सहभागी गराउँदै आफू खेल्थे । त्यसको कारण बताए, ‘रंगशालामा मेला लाग्थ्यो, बाँस गाड्दा र निकाल्दा ३ महिनै लाइदिन्थ्यो, त्यो अवधि त्यसै बस्न त भएन नि !’ त्यही स्थानलाई उनले पछि एकेडेमीका रूपमा विस्तार गरेका हुन् ।
सन् २०१० तिर राष्ट्रिय टिमबाट बाहिरिँदा शक्ति निकै चिन्तित भएका थिए । ‘त्योभन्दा धेरै पीडा कहिल्यै भएन,’ उनले भने, ‘त्यसले क्रिकेट छोड्ने सोच आएको थियो । परिवारले विदेश जाने सल्लाह पनि दिए । तर, कविता (पत्नी) साथमा उभिइन् । अन्तिमपटक प्रयास गर्नुस् भनेर ढाडस दिएपछि पुनरागमन सम्भव भयो ।’ नेपालले पहिलो र हालसम्मको एकमात्र क्रिकेट विश्वकपका रूपमा ‘२०१४ टी–२० वर्ल्डकप’ खेल्यो । यसैबाट नेपालले विश्व क्रिकेटमा पाइला टेकेको हो । त्यो टिमका महत्त्वपूर्ण खेलाडी हुन्, शक्ति । विश्वकपका ३ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका उनी हङकङविरुद्ध म्यान अफ द म्याच चुनिएका थिए ।


संन्यासपछि उनको दैनिकीमा परिवारको जिम्मेवारीले बढी स्थान लिन थाल्यो । बिरामी आमा, २ छोरी र श्रीमतीको रेखदेख गर्ने जिम्मेवारीका कारण सक्रिय खेल जीवनलाई पूर्णविराम लगाउने निर्णयमा पुगेको उनले बताए । उनको ६ वर्षीया ठूली छोरी सदीक्षा पनि क्रिकेटमा रुचि राख्छिन्, कहिलेकाहीँ खेल्छिन् पनि । उनको ५ महिनाका छोरा रिहान पनि छन् । छोरालाई भविष्यमा क्रिकेट खेलाडी भइदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ । श्रीमती कविता होस्टल र एकेडेमीको काममा सघाउँछिन् । उनले क्रिकेट विकास र खेलाडी उत्पादनका निम्ति आफैं खेलिरहेकै बेला एकेडेमी सञ्चालनमा ल्याएका थिए । गत वर्षबाट दिवंगत पिताको स्मृतिमा खड्कप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिता सुरु गरेका छन् ।
‘प्रत्येक वर्ष माघ १४ गते बुबाको पुण्यतिथिमा प्रतियोगिता हुन्छ,’ शक्तिले भने, ‘यहाँका स्थानीय खेलाडीको विकास र प्रवर्द्धनको पाटोलाई अघि बढाउँदै छु ।’ बाल्यकालमा भारतमा रहँदा बल र ब्याटसँग अभ्यस्त हुँदै क्रिकेटमा लागेका उनले आफ्नै जग्गामा एकेडेमी स्थापना गरेका हुन् । उनले खेलको लगभग सबै आम्दानीलाई एकेडेमीमा लगानी गरेका छन् । हालै ६० लाख रुपैयाँ खर्च गरेर नयाँ इन्डोर हल बनाएका छन् । सामान्य मौसममा खुला मैदानमै सिकाउँछन् भने पानी परेको र जाडो मौसममा अभ्यासका लागि इन्डोर ट्रेनिङ सेन्टर उपयोग गर्छन् ।

प्रकाशित : माघ ३, २०७६ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?