नेपाल बैंकको १० प्रतिशत लाभांश- अन्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल बैंकको १० प्रतिशत लाभांश

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । हल्चोकमा शुक्रबार सम्पन्न ६०औं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।

सभाबाट चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने ९८ करोड ११ लाख १४ हजार ८ सय नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पुँजीको १५ प्रतिशतका दरले १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले जानकारी दिए ।


सभाबाट आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन लगायत पारित गरिएको थियो । त्यस्तै बैंकको अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १५ अर्ब कायम गर्ने, जारी तथा चुक्ता पुँजी बढाएर ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय कायम गर्ने प्रस्तावहरु समेत पनि सर्वसम्मत पारित भएको थियो ।

प्रकाशित : पुस २६, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्

सोखबाट मोडिँदै छ घोडचढी

कुशल तिमल्सिना

काठमाडौँ — घोडचढी अन्तर्राष्ट्रिय रूपमा ओलम्पिक खेल हो । सन् १९०० मा पहिलोपल्ट समावेश यो खेल सन् १९१२ यता सबै ग्रीष्मकालीन ओलम्पिकमा समावेश छ । नेपालमा केही वर्षयता यो खेललाई व्यावसायिक बनाउने प्रयास हुँदै छ । घोडचढीमा सयौं वर्षको इतिहास बोकेको नेपालमा यसलाई खेलको रूपमा विकास गर्न सकिएको छैन । धेरैको बुझाइमा नेपालमा घोडचढी खेल होइन सोख भन्ने छ ।

नेपालमा घोडचढी व्यावसायिक बन्न नसक्नुका केही कारण छन् । मुख्यतः यो खेल सर्वसाधारणको सहज पहुँचमा छैन । अहिलेसम्म नेपाली सेनामात्र घोडचढी खेलको पर्याय हो । प्रतियोगितामा नेपाली सेनाकै घोडा र खेलाडीको मात्र प्रयोग हुने गर्छ । उन्नत जातको घोडा जुटाउने, उसको पालनपोषण र साहसिक खेल भएकाले सबैको पहुँचमा पुर्‍याउन सम्भव पनि देखिन्न । यसलाई गल्फभन्दा पनि महँगो खेलका रूपमा लिइन्छ । खेलस्थलको समस्या पनि उस्तै छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्राविधिक कठिनाइ त्यस्तै छ ।

६ वर्षअघि स्थापना भएको नेपाल घोडचढी संघले अहिलेसम्म अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । अन्तर्राष्ट्रिय घोडचढी फेडेरेसनबाट मान्यता नपाएका कारण नेपाल ओलम्पिक कमिटीले पनि यसलाई आधिकारिकता दिएको छैन । त्यसैले विदेशी प्रतियोगितामा निमन्त्रणा आए पनि खेल्न जान नपाएको गुनासो संघको छ ।

संघको कार्यक्रमका रूपमा वर्षमा दुई राष्ट्रिय प्रतियोगिता आयोजना हुन्छन् । काठमाडौंमा आयोजना हुने राष्ट्रिय च्याम्पियनसिपको छैटौं संस्करण शुक्रबार टुँडिखेलमा सकियो । स्थापनाको आधा दशक अवधिमा पनि घोडचढी खेलप्रतिको आम मान्यता परिवर्तन भएको छैन ।

नेपालको हकमा घोडचढी सोख हो कि खेल ? भन्ने प्रश्नमा संघका अध्यक्ष रवि राजकर्णिकार भन्छन्, ‘अहिलेसम्म यो सोख नै हो । यो परम्परागत खेल हो ।’ नेपालका हिमाली र उत्तरी क्षेत्रमा आयोजना हुने विभिन्न मेला र राजधानीमा मनाइने घोडेजात्राले यसको संरक्षण गरिरहेको छ । अध्यक्ष राजकर्णिकार यसलाई व्यावसायिक बनाउने प्रयासमा रहेको बताउँछन् । उनले भने, ‘अन्तर्राष्ट्रिय मान्यता पाउन सकेका छैनौं । सायद यो वर्ष हामी फेडेरेसनसँग आबद्ध हुन्छौं, त्यसले हामीलाई व्यावसायिक गर्न मार्ग प्रशस्त गर्नेछ ।’

सन् २०११ मा नेपालले पहिलो दक्षिण एसियाली बिच खेलकुद (श्रीलंका) मा घोडचढीमा १ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको थियो । यसले अन्तर्राष्ट्रिय रूपमा नेपाली खेलाडीको क्षमता प्रदर्शित गर्‍यो । त्यसै बेलादेखि हो घोडचढीलाई खेलका रूपमा विकास गर्नुपर्ने आवाज उठेको । त्यति बेला नेपाली सेनाले सहभागिता जनाएको थियो । त्यसयता राष्ट्रिय संघ गठन भयो र नियमित कम्तीमा एउटा राष्ट्रिय प्रतियोगिता आयोजना हुन थाल्यो ।


‘अन्तर्राष्ट्रिय मान्यता पाएको भए हामीले अन्तर्राष्ट्रिय नियमअनुसार प्रशिक्षण र निर्णायकहरू तयार गर्न सक्थ्यौं । अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउन पाउथ्यौं । सर्वसाधारणलाई सेनामातहत खेलाडीका रूपमा उत्पादन गर्न सकिन्थ्यौं,’ अध्यक्ष राजकर्णिकारले थपे । नेपाली सेनाका हुद्दा खिलध्वज खड्का घोडचढीमा लागेको १५ वर्ष भइसक्यो । उनले दक्षिण एसियाली बिच खेलकुदमा नेपालका लागि टिम स्पर्धामा रजत र व्यक्तिगततर्फ कांस्य जितेका थिए ।

पहिलो अन्तर्राष्ट्रिय सहभागिताअघिसम्म उनीसहितका अन्य खेलाडी घोडेजात्राको प्रदर्शनी र ब्यारेकभित्रको खेलकुदमा सीमित थिए । ‘अहिलेसम्म हामीले यस खेललाई व्यावसायिक रूपमा प्रयोग गरेका छैनौं । हामी अन्तर्राष्ट्रियस्तरमा धेरैभन्दा धेरै प्रतियोगितामा नेपाल सहभागी होस् भन्ने चाहन्छौं,’ शनिबार हाइजम्पतर्फ स्वर्ण जितेका उनले भने, ‘हामीले विदेशमा खेलेर पदक जित्ने क्षमता यसअघि नै देखाइसकेका छौं । अब अरु अवसरको प्रतीक्षामा छौं ।’

सर्वसाधारणलाई घोडचढीमा आकर्षित गर्न हालै व्यक्तिगत प्रयासमा काठमाडौं उपत्यकामा दुई राइडर स्कुल सञ्चालनमा आएका छन् । गोकर्णमा एउटा स्कुल छ । अर्को ललितपुरको धापाखेलमा । धापाखेलका स्कुल सञ्चालक हुन्, संघका सह–कोषाध्यक्ष तथा राष्ट्रिय निर्णायक मोहम्मद फाजिल । असनका व्यापारी फाजिल घोडचढीका सौखिन हुन् । उनीसँग आफ्नै घोडा वा खेलाडीको अनुभव छैन । सोखका रूपमा घोडचढीमा प्रवेश गरेका उनी संघमा लागेर यसलाई व्यावसायिक बनाउने प्रयासमा छन् । उनका अनुसार संघले यस खेलको विस्तारका लागि आफ्ना प्रयासहरू निरन्तर अघि बढाइरहेको छ ।

‘हामीले संघलाई विस्तार गरिरहेका छौं । कास्कीपछि हुम्ला, जुम्लामा शाखा स्थापना गर्दै छौं । हुम्ला, जुम्ला, मुस्ताङ, रसुवालगायतका जिल्लामा हुने परम्परागत घोडचढीलाई संघबाट मान्यता दिन सुरु गरेका छौं । यसबाट सबैले आफ्नो महसुस गर्नेछन्,’ उनले थपे, ‘नेपालको सन्दर्भमा यसलाई व्यावसायिक बनाउन केही कठिनाइ छन् । दक्ष प्राविधिक र जनशक्ति छैन । मुख्य कुरा अन्तर्राष्ट्रिय मान्यता छैन ।’

कीर्तिमानबाट चुके खिलध्वज
नेपाल घोडचढी संघले नेपाली सेनासँग मिलेर आयोजना गरेको राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत खिलध्वज खड्का हाइजम्पतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न चुकेका छन् । उनी सवार गणेश घोडाले ५ फिट ७ इन्च जम्प गर्दै स्वर्ण जितेको थियो । यस स्पर्धामा ५ फिट ९ इन्चको राष्ट्रिय कीर्तिमान छ । जुन अघिल्लो वर्ष पोखरामा नेपाल माउन्टेनरी स्पोर्ट्स फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा सेनाकै जमदार जगदीश घिसिङले कायम गरेका थिए । यसपल्ट मोटरसाइकल पुरस्कार राखिएको राष्ट्रिय कीर्तिमानका लागि खिलध्जवले प्रयास गरे, सफल भएनन् । हाइजम्पमा सम्मोहन घोडामा सवार रामबहादुर दाहाल र आकांक्षा घोडामा सवार सविनकुमार पोखरेलले क्रमशः रजत र कांस्य जिते ।

‘स्वर्ण जितिसकेपछि राष्ट्रिय कीर्तिमानको अवसर थियो । सुरुदेखि नै मेरो घोडा मानिरहेको थिएन । जबजस्त प्रयास गरेको थिएँ,’ कीर्तिमान कायम गर्न असफल भएपछि खिलध्वजले भने ।

अर्को विधा शो जम्पतर्फ देवकी घोडामा सवार योगबहादुर बस्नेतले स्वर्ण जिते । लमजुङ घोडामा सवार लालबहादुर कुँवरले रजत र सम्मोहन घोडामा सवार रामबहादुर दाहालले कांस्य जिते । टेन्ट पेगिङमा रुद्रबहादुर कार्की स्वर्णको हकदार बने । गोविन्दबहादुर खड्का रजत र लक्ष्मण रावल कांस्यमा सीमित भए । सबै विधामा स्वर्ण, रजत र कांस्य विजेताले जनही २०, १५ र १० हजार रुपैयाँ पुरस्कार पाए । प्रदर्शनी विधाको रूपमा ४ महिला खेलाडीसहित प्रतियोगितामा २६ राइडर सहभागी थिए । उनीहरू सबै सेनाका हुन् ।

अघिल्लो वर्ष जस्तै महिला राइडरले प्रदर्शनी विधाको रूपमा आफ्नो कौशल प्रदर्शन गरे । हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठले प्रोत्साहनस्वरुप जनही ५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित : पुस २६, २०७६ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×