कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दबंग शैली

आफ्नो चरित्रमा यु–टर्न मार्न सफल सलमान खानले पछिल्लो दशक पात्रको चरित्रमा भने दबंग शैली समातेका छन् । पर्दामा गुन्डावाला पुलिसको दादागिरी देखाउनमा बढी रमाएका छन् ।
सुशील पौडेल

डेढ दशक अघिसम्मका सलमान खान आजका जस्ता थिएनन्  । अभिनेत्री ऐश्वर्या रायसँगको प्रेम सम्बन्धले वियोगान्तको मोड लिएपछि उनी उग्र बने  ।

दबंग शैली

ऐशलाई सुटिङ सेटमा नै आएर हातपात गर्नेदेखि पछि उनीसँग जोडिने अन्य प्रेमीको पनि दुहाई गरे । कतिका करिअर नै चौपट पार्न कम्मर कसेर लागे । त्यसताक सलमानलाई ‘ब्याड ब्वाई’ कै उपनाम पनि दिइन्थ्यो । तर फिल्म भने हम दिल चुके सनम, तेरे नाम, मुझ से सादी करोगे जस्ता प्रेमिल गर्थे । तीनै फिल्मबाट दर्शकको दिलमा राज पनि गरिरहेका थिए ।
तर समय बदलियो । सलमान सुध्रिए । हिट एन्ड रन केस होस् वा कालो हरिण मारेको अभियोगमा मुद्दाले टाउको खान थाल्यो, तब सलमानले विस्तारै आफ्नो छवि सुधार्नतर्फ लागे । यतिबेला सलमान बलिउडकर्मीका लागि देवदूत जस्तो बनेर हरपल सहयोगमा जुट्छन् । अझ महिला, युवतीका लागि त उनी जस्ता असल प्राणी विरलै कोही होलान् । यतिबेला उनी सबैका प्रिय अभिनेता बनिरहेका छन् ।
आफ्नो चरित्रमा यु–टर्न मार्न सफल सलमान पछिल्लो दशक पात्रको चरित्रमा भने दबंग शैली समातेका छन् । पर्दामा गुन्डावाला पुलिसको दादागिरी देखाउनमा बढी रमाएका छन् । आफ्नी प्रेमिकालाई अप्ठ्यारोमा पार्ने गुन्डालाई बर्दीमै भए पनि सुटआउट गरिदिन्छन् ।
शुक्रबारदेखि सलमान दबंग ३ मार्फत पुनः चुलबुल पाण्डे बनेर फर्किएका छन् । अविनाश कश्यपले नौ वर्षअघि ल्याएको दबंगले सलमानलाई वान्टेडपछि लगातार तीन फिल्मको फ्लप यात्रालाई तोडिदिएको थियो । दुई वर्षपछि अरबाज खानको निर्देशन यसको सिक्वेलमा आए । फिल्म ठीकठाक मात्रै थियो तर व्यावसायिक रूपमा सलमानले राम्रै छलाङ मारे ।
सलमान बलिउडका ठूला स्टार त हुन् तर उनलाई सधैं ढंगले नाच्न र अभिनय गर्न नजान्ने अभिनेताको आरोप लागिरहन्छ । अब त समीक्षकहरू उनका फिल्मको समीक्षा गर्नु नै बेकार हो भन्न थालिसकेका छन् । फेरि एकपटक सलमानले दबंग ३ ल्याएर समीक्षकलाई बेकारको काम थपिदिएका छन् । यसपटक दबंग ३ मा उनले खेलेका मात्रै छैनन्, कथादेखि पटकथासमेत आफैंले तयार पारिदिए । फिल्म निर्माणको तौर–तरिका हेर्दा लाग्छ, सलमानबाट दबंग ३ बाट राम्रो फिल्म बनाउनमा भन्दा पनि धेरै पैसा कमाउनमा उद्यत देखिन्छन् ।
सलमानका प्रायः फिल्ममा उनको उपस्थिति नै अह्म रहन्छ । भूमिका र चरित्रमा उनले खास ठूलो मिहिनेत नगर्दा पनि फिल्मले व्यावसायिक सफलता हात पारिरहेकै हुन्छन् । विषयवस्तु पनि त्यति उम्दा नहुँदा पनि चल्छ । सायद यही चुरो कुरो सलमानले पनि थाहा पाए होलान् र दबंग ३ मा आफैं पटकथा लेख्न कस्सिए । गीत र फाइट सिनका लागि परिस्थितिको जोरजाम गरेपछि त्यसलाई सूत्रबद्ध शैलीमा ढाल्न सन् १९८८ देखि फिल्म खेल्दै र भोग्दै आएका सलमानका लागि नौलो थिएन । उनले दबंग ३ लाई ८० र ९० को दशकदेखि चल्दै आएको बलिउड फर्मूलामा हल गरिदिए ।
तर अब बलिउड चेपुवामा परिसकेको छ । सूत्रबद्ध र फाइट दृश्यका फिल्मका लागि दर्शकले बलिउड फिल्मभन्दा दक्षिण भारतीय फिल्म रुचाउन थालिसके भने विषयपरक फिल्मको लहर बोकेर आयुष्मान खुराना, राजकुमार राव, नवाजुद्दिन सिद्दिकीदेखि महिलाप्रधान फिल्मबाट अभिनेत्रीहरू फ्रन्टलाइनमा उभिसके । अब यस्तोमा सलमान खान वा शाहरुख खान जस्ता ठूलो जमातका दर्शकको ढुकढुकी बनेर लामो वर्षदेखि जागिरहेका अभिनेताले दबंग ३ ल्याउनु अब समीक्षकको लागिमात्रै बेकार हैन, दर्शक पनि अघाउन थालिसके । पात्रको चरित्रमा पनि सलमानको यु–टर्न मात्र जरुरी छ । जीउ देखाएरै भिलेनसँग निहुँ खोजेकै भरमा अब टिकिरहन गाह्रो हुन सक्छ ।
दबंग ३ कै कुरा गर्दा पनि, फिल्ममा सलमान हिरो भए पनि चर्चा र वाहवाही भिलेनको चरित्रमा देखिएका सुदीप सन्दीप (किच्चा) ले बटुलेका छन् । कारण, सलमानभन्दा उनी बढी चरित्रमा आफूलाई फिट देखिएका छन् । फिल्ममै पनि आफ्नो चरित्रका कारणभन्दा सलमान नै देखिएर बढी दर्शक सिट्टी पाउने सलमानले दबंग ३ लाई चुलबुल पाण्डेको चरित्र निर्माणको घेराबाट देखाउन खोजेका छन् । उनकै फ्यान पनि चुलबुल पाण्डे कसरी दबंग बन्यो भन्ने हेर्नमा भन्दा सलमानले कसरी पर्दामा दबंग शैली पस्कन्छन् भन्ने हेर्न चाहन्छन् । उनीहरूकै लागि पनि दबंग ३ को लामा–लामा फ्ल्यासब्याकले नीरस बनाउन सक्छ ।

प्रकाशित : पुस ११, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?