कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सहर जोड्न साइकल

किरण पाण्डे

पुरातात्त्विक महत्त्व र सांस्कृतिक धरोहरको रूपमा काठमाडौं पहिलेदेखि नै चर्चित छ  । यहाँ पहिले साइकल चलाउनेको कुनै कमी थिएन  ।

सहर जोड्न साइकल

तर, बढ्दो सहरीकरण र वातावरणीय हिसाबले काठमाडौं अहिले जोखिममा छ । यस हिसाबले अब काठमाडौंलाई स्वास्थ्यमैत्री बनाउनु अपरिहार्य भइसकेको छ । यसको सबैभन्दा सहज विकल्प हो, सहरलाई साइकलमैत्री बनाउने ।
पछिल्लो समय साइकलको महत्त्व दर्साउन नसकेर हो कि, क्या हो ? सरकारमा नेतृत्व गर्नेले चासो नदेखाउँदा काठमाडौंमा साइकलमैत्री बाटो आजसम्म बन्न सकेको छैन ।
तर, युवापुस्ताले यसको महत्त्व बुझेका छन् । र, जसरी पनि यसको प्रवर्द्धन गर्नुपर्छ भनेर लागेका छन् । यसैको एउटा उदाहरण हो, ‘राइट थ्रु सिन्धुलीगढी–कनेक्टिङ मिथिला हेरिटेज’ । समृद्ध सिन्धुली अभियानअन्तर्गत यही मंसिर ६ देखि ९ सम्म चौथो साइकल र्‍यालीको आयोजना भएको थियो । यो अभियानअन्तर्गत काठमाडौंबाट साइकल यात्रा सुरु भएर जनकपुरमा समापन भएको थियो ।
यही र्‍याली २०७२ सालमा पहिलोपल्ट आयोजना गर्दा साइकल यात्राको गन्तव्य सिन्धुलीसम्म मात्र थियो । जसमा ८० जनाले भाग लिएका थिए । दोस्रो वर्ष १ सय २० हुँदै चौथो वर्षमा १ सय ७१ जनाले भाग लिए ।
हरेक वर्ष सहभागीको संख्या बढ्दो छ । यसपालि १ सय ७१ साइकलयात्रीले ३ दिन लगाएर २ सय ५० किमि यात्रा पूरा गरेका थिए । जसमा ९ वर्षको बालकदेखि ६६ वर्षका वृद्धसम्मको उपस्थिति थियो ।
पहाडबाट तराई, दुई प्रदेश र दुई सांस्कृतिक सहरलाई जोड्ने मुख्य उद्देश्यका साथ साइकल यात्राको आयोजना गरिएको आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलाराज घिमिरेले बताए ।
विश्व साइकलयात्री पुष्कर शाहले नेतृत्व गरेको यस साइकल यात्रामा कलाकार, डाक्टरदेखि विभिन्न पेसाका व्यक्ति सहभागी थिए । सहभागीमध्ये जेठा स्वनाम गुरुङ–६६ लाई त राजा वीरेन्द्रले नेपालकै पहिलो ‘माउन्टेन बाइकर्स’ को उपाधि नै दिएका थिए । उनले नेपालका प्रायः सबै ठाउँ र भारतका विभिन्न ठाउँको साइकल यात्रा गरिसकेका छन् ।
उनी नेपालको सबै र्‍यालीमा सहभागी हुन्छन् । उनले सन् १९८१ मा एउटा साइकल र्‍यालीको आयोजना गरेका थिए, जसमा ५–६ जना पनि जुटाउन उनलाई हम्मेहम्मे परेको थियो । अहिले सामान्य र्‍यालीमा पनि सयौंको हाराहारीमा साइकलयात्री उपस्थित भएको देख्दा उनी दंग पर्छन् ।
काठमाडौं असनका अर्का साइकलयात्री पुरुषोत्तम साहुखल, जो सानै उमेरदेखि शारीरिक रूपमा अशक्त थिए । उनले पनि यो र्‍यालीमा भाग लिए । उनी आमाको प्रेरणाले सानै उमेरदेखि साइकल र्‍यालीमा सहभागी हुँदै आइरहेका छन् । उनले नेपालमा आयोजना भएको प्रायः कुनै साइकल यात्रा छोडेका छैनन् । उनले ५० किमिदेखि सुरु हुने ‘साइकल कोरा’ मा मात्र ५ पल्ट भाग लिइसकेका छन् । उनी बडीबिल्डिङ र ट्रेकिङका पनि सोखिन हुन् । उनले धर्मश्रीजस्तो प्रतिष्ठित प्रतियोगितामा २०५७–५८ र ६६ सालमा ‘डेमो’ मा सहभागी भइसकेका छन् । साइकल चढ्दा उनको बैसाखी सधैं ढाँट पछाडि हुन्छ ।
र्‍यालीमा सहभागी भएका १० वर्षीय सुयोगमान सिंह बस्न्यात पनि ३–४ वर्षको उमेरदेखि नै साइकल चलाउँदै आइरहेका छन् । काठमाडौं वरिपरिका शिवपुरी, नागार्जुन, सुन्दरीजल, नाला, कीर्तिपुरलगायत सबै डाँडा चारिसकेका उनले ५० किमिको कोरामा ५ पल्ट भाग लिएका छन् ।
सानैदेखि साइकलको अर्को सोखिन हुन्, २९ वर्षीय साजल प्रधान । साइकलबाटै देश–विदेश भ्रमण गरिसकेकी उनी वातावरणप्रति अलि सचेत छिन् । उनले काठमाडौंबाट–नेपालगन्ज, काठमाडौं–दार्जिलिङसम्म साइकलयात्रा गरिसकेकी छन् । गत अक्टोबरमा तीन साता लगाएर उनले चर्चित गन्तब्य थोरङ्ला पासको यात्रा साइकलबाट तय गरेकी थिइन् ।

प्रकाशित : मंसिर १३, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?