फोर्ड भर्सेस फरारी

अन्तर्यमा दुई कम्पनीको प्रतिस्पर्धाजस्तो देखिए पनि खासमा भने यो फोर्ड कम्पनीको कथा हो ।फोर्ड मोटर कम्पनीका साहु हेनरी फोर्ड सेकेन्ड र उनका केही कर्मचारी मिलेर कसरी फरारीलाई २४ घण्टे रेसमा पराजित गरे भन्ने नै यो फिल्मको मूलकथा हो ।

संसारका दुई प्रसिद्ध गाडी कम्पनी  । फरारी इटलीको  ।

फोर्ड भर्सेस फरारी

गाडीको रूपरंगदेखि यसको स्पिडसम्मका लागि चर्चित । फिल्ममा एउटा संवादसमेत छ, रेसिङ कोर्समा फरारीलाई उतार्दा फिल्मको हिरोले टिप्पणी गर्छ, ‘यो गाडी हो कि सुन्दरी प्रतियोगितामा भाग लिन आएकी सुन्दरी ?’
फरारीको विशेषता डिजाइनको सुन्दरता मात्र होइन । समथर र चिल्ला (हाम्राजस्ता होइन) सडकमा यसले समात्ने गतिलाई पनि सितिमिति कसैले जित्न सक्दैन ।
उता, फोर्डको विशेषता अर्कै छ । अमेरिकी मोटर कम्पनी फोर्ड अमेरिकाको गौरवसँग जोडिएको छ । फोर्डका गाडीले विश्वयुद्ध लडेनन् कि अमेरिकी सेनालाई बोकेनन् ? तर, जब–जब स्पोर्टस कारको कुरा आउँथ्यो, फोर्ड फरारीका सामु नतमस्तक हुनुपर्थ्यो । २४ घण्टे ‘रेस’ ली मा यसको मुख्य कसरी हुन्थ्यो, जसमा फरारीको चुनौतीलाई पार गर्न फोर्डलाई फलामको च्युरा चपाउनुसरह हुन्थ्यो ।
‘फोर्ड भर्सेस फरारी’ यहीलाई प्रतिष्ठाको विषय बनाएर कसरी यी दुई मोटरकम्पनी जुधे भन्ने कथा हो । अन्तर्यमा दुई कम्पनीको प्रतिस्पर्धाजस्तो देखिए पनि खासमा भने यो फोर्ड कम्पनीको कथा हो । फोर्ड मोटर कम्पनीका साहु हेनरी फोर्ड सेकेन्ड र उनका केही कर्मचारी मिलेर कसरी फरारीलाई २४ घण्टे रेसमा पराजित गरे भन्ने नै यो फिल्मको मूलकथा हो ।
यही कथामा आउँछन्, हलिउडका दुई नामी स्टार— क्रिस्टियन बेल र मेट डेमन । क्यारोल स्याल्बी (डेमन) स्पोर्टस कार निर्माता हुन् । उनी फोर्डका लागि स्टाइलिस र पावरफूल गाडी निर्माण गर्छन् । उनी ली माका पूर्वविजेता ड्राइभर पनि हुन् । तर, अहिले उनी आफैं रेसमा सहभागी हुँदैनन् । जब आर्थिक रूपमा टाट पल्टिन लागेको फरारी किन्न भनेर फोर्ड अघि सर्छन्, फिल्मले रेसको कोर्स बदल्छ । फरारीलाई जसरी पनि रेसमा हराउनु नै फोर्डको एक मात्र उद्देश्य हुन जान्छ । र, यसको जिम्मा पाउँछन्— क्यारोल स्याल्बीले ।
यो काम फत्ते गर्न सक्ने एकै जना ड्राइभर छ— केन माइल्स (क्रिस्टियन बेल) । यो ब्रिटिस मोटर मेकानिक–इन्जिनियर तथा ड्राइभर अलि ठाडो स्वभावको छ । मनमौजी । यसलाई मनाएर, हेनरी फोर्डको समेत विश्वास जितेर स्याल्बीले कसरी उसलाई रेसमा उतार्छ भन्ने फिल्मको एउटा भाग हो । फिल्मको दोस्रो भागचाहिँ रेस फिल्डमै बित्छ । दुइटा ठूल्ठूला प्रतियोगितामा केनले कसरी फरारीलाई हारको अमिलो स्वाद चखाउँछ भन्ने फिल्मको दोस्रो भाग हो ।
यो फिल्मको विशेषता के हो भने यो भएकै कुराबाट प्रेरित छ । ली मा रेसमा फोर्डले फरारीलाई फिल्ममा देखाएजसरी नै हराएको थियो । र, यो काम क्यारोल स्याबी र केन माइल्सले नै गरेका थिए । फिल्ममा देखाएजस्तै तीनवटै फोर्ड गाडीलाई एकैपटक फिनिसिङ लाइन पार गराइएको पनि थियो । फिल्ममा देखाइएजस्तै त्यसबेला फोर्डको सट्टा फरारीले फियाटलाई भित्र्याएको पनि सत्य हो । तर, पनि केही कुरालाई फिल्मले फिक्सनलाइज गरेको छ । सत्य घटनामाथि बनेको भए पनि यो दुई मोटर कम्पनीको इतिहास बारेको डकुमेन्ट्री होइन । त्यसैले यसले केही लिबर्टी लिएको छ ।



सुपरहिरो फिल्म र रिमेकको बोझमा दबिएको हलिउडलाई ‘फोर्ड भर्सेस फरारी’ ले बनाउन जान्ने हो भने साधारण मानिसहरूका कथा पनि रोचक हुन्छन् भन्ने देखाइदिएको छ । फिल्मका धेरै पात्र छन् । एकातिर बाबुछोराको गहिरो सम्बन्ध छ भने अर्कातिर कर्पोरेट संसारका स्वार्थ । एकातिर अप्ठेरो समयबाट पार पाउन संघर्ष गरिरहेका दम्पती छन् भने अर्कातिर संसार जित्न हिँडेको साहुहरू । फिल्मका सबभन्दा सुन्दर दृश्यहरू केन माइल्सको परिवारका दृश्यहरू छन् ।
आफ्नो बाबुलाई हिरो मान्ने कशोरावस्थामा प्रवेश गरिरहेको छोरा र केन माइल्सबीचका संवादहरू साँच्चिकै सुन्दर छन् । खासगरी मुख्य रेसभन्दा पहिले केन माइल्सले आफ्नो छोरालाई क्षितिज देखाउँदै दिने ज्ञान । ऊ भन्छ, ‘मेसिनको एउटा सीमा हुन्छ । मानिसले त्यो सीमालाई बुझ्न सक्नुपर्छ ।’ जब त्यो छोराले आफ्नो बाबुले मेसिनको सीमा नाघेको देख्छ, तब फिल्मले आफ्नो अर्थ प्राप्त गर्छ । फिल्मका निर्देशक जेम्स म्यानगोल्डलाई थाहा छ— हरेक दिन जीवनका रेसहरूमा मानिसहरू आफैंसँग पराजित भइरहेका छन् ।
जेम्स म्यानगोल्ड हलिउडमा राम्रा स्टारहरू लिएर हिट फिल्म बनाउने निर्देशक मानिन्छन् । उनले यसअघि ह्युग ज्याकम्यानसँग ‘लोगान’, ज्याकिन फिनिक्ससँग ‘वाक द लाइन’, रसेल क्रो र क्रिस्टियन बेलसँग ‘३ः१० टु युमा’, सिल्भेस्टर स्टालोनसँग ‘कप ल्यान्ड’ तथा टम क्रुजसँग ‘डे एन्ड नाइट’ जस्ता फिल्म बनाएका छन् । ‘फोर्ड भेर्सेस फरारी’ यी सबै फिल्मभन्दा फरक छ । चर्चित पात्र र सबैलाई थाहा भएको कथा लिएर त्यसमाथि अथेन्टिक र रोचक फिल्म बनाउनु जोखिमको कुरा हो । निर्देशक जेम्स त्यसमा सफल छन् ।
‘फोर्ड भर्सेस फरारी’ क्रिस्टियन बेलका लागि पनि स्मरणीय छ । हलिउडमा एकैसाथ सुपरहिरो (ब्याटम्यान) र मेथड एक्टरका रूपमा स्थापित बेल चरित्रका लागि तयारीका लागि प्रसिद्ध छन् । खासगरी आफ्नो शरीरको आकार तथा तौलमा उनले गरेका प्रयोगहरू ज्यादै चर्चित छन् । २००४ को फिल्म ‘द मसिनिस्टी’ का लागि उनले ६० पाउन्ड तौल घटाएर निकै ख्याउटे बने । लगत्तै क्रिस्टोफर नोलानको फिल्म ‘ब्याटम्यान बिगिन्स’ का लागि उनले १०० पाउन्ड तौल बढाए । ‘अमेरिकन हसल’ का लागि उनले तौल बढाए । जर्ज बुसको कार्यकालका उपराष्ट्रपति डिक चेनीको जीवनमा बनेको गत वर्षको फिल्म ‘भाइस’ मा चेनीको भूमिकामा देखिन उनले निकै तौल बढाए । ‘फोर्ड भर्सेस फरारी’ मा उनी रेस ड्राइभरका बन्नका लागि ख्याउटिएका छन् । अर्का स्टार मेट डेमनसँगै भए पनि बेलको उम्दा अभिनयले उनलाई छायामा पारिदिएको छ ।

प्रकाशित : मंसिर १३, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?