सिद्धार्थ बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धार्थ बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा मिति २०७६ कार्तिर्क ७ गते बिहिबार काठमाडौंमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएको हो । 

साधारण सभाले बैंकको चुक्ता पूँजी आठ अर्ब अठासी करोड छयहत्तर लाख चार हजार पाँच सय चालिस रुपैयाँको १० प्रतिशत बराबरको अठासी करोड सतासी लाख साठ्ठी हजार चार सय चउन्न रुपैयाँको बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको एक अर्ब पैँतिस करोड पैँसठ्ठी लाख उनन्तीस हजार एक सय चौध रुपैयाँ नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ। २०७६ आश्विन मसान्त सम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन गरेको छ भने रु ११३ अर्ब कर्जा लगानी गरेको छ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर ४ एक्स्टेन्सन् काउन्टरसहित १६७ वटा शाखा तथा १०१ शाखारहित बैंकिङ सेवा, १८६ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित : कार्तिक ८, २०७६ १०:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छोराछोरीले तोक्छन्‌ बाबुआमाको उमेर 

राजकुमार कार्की

(बेसारे, सिन्धुली) — ‘कति वर्षकी हुनुभयो आमा ?’ सुनकोसी गाउँपालिका–१ गणेस्थान बेसारेकी सुकमाया मगरलाई धेरैले सोध्ने प्रश्न हो यो । 

बेसारे गाउँ पुग्ने प्राय:ले उनलाई हालखबरसँगै उमेर सोधेकै हुन्छन्, तर उनलाई आफ्नै उमेरको हेक्का छैन । ‘चारबीस’ पुगेकी सुकमायाको एउटै जवाफ हुने गरेको छ, ‘मलाई थाहा छैन ।’

सरकारले सामाजिक सुरक्षाबापत् दिएको भत्ता लिनका लागि बनाएको परिचयपत्र नै उनको उमेर खुलाउने प्रमाण बनेको छ । उनले नागरिकता पनि त्यही सामाजिक सुरक्षाभत्ता लिनकै लागि बनाएकी थिइन्, जसका आधारमा उनको उमेर चारबीस अर्थात् ८० प्रमाणित हुन्छ ।

‘छोराले अब भत्ता लिने बेला भयो, नागरिकता बनाउनुपर्छ भन्यो,’ उनले सुनाइन्, ‘नागरिकता बनेपछि भत्ता पनि पाइयो ।’ छोराले नै उनको उमेरबारे प्रशासन कार्यालयका कर्मचारीलाई खुलाएपछि नागरिकता बनेको थियो । त्यही नागरिकता नै बुढेसकालमा सुकमायाका लागि पेन्सनपट्टा बनेको छ ।

‘जन्मदर्ताको चलन नै थिएन, कपाल फुलेको र गाला चाउरिएको आधारमा छोराहरूले उमेर तोकिदिए,’ सुकमाया खित्का छाडेर हाँसिन् । सुकमाया मात्र होइन बेसारे गणेस्थान गाउँसँग जोडिएका घ्याम्पेटार, शिखरपुर, बाँसघारी, चिलाउनेटारका वृद्धवृद्धा धेरैजसोलाई आफ्नो उमेर थाहा छैन । गणेस्थानका खड्गबहादुर मोक्तानले आफू ‘चारबीस’ पुग्न लागेको सुनाए । ‘नागरिकताको कामै थिएन, उमेर जति भए पनि दु:ख गरेर खाने नै हो,’ उनले भने, ‘भत्ता पाउने भएपछि छोराहरूले लगेर नागरिकता बनाइदिए । उमेर पनि उनीहरूले नै राखिदिएका हुन् ।’

सन्तान र बुढ्यौली लाग्दै गएको शरीरलाई हेरेर उमेर तोक्दै यहाँका वृद्धवृद्धाको नागरिकता बनाउने गरिएको छ । छ छोरा र तीन छोरी रहेका खड्गबहादुर मोक्तान र सुकमाया दुवैले सामाजिक सुरक्षाभत्ता लिने गरेका छन् ।

‘उमेरमा जागिर खान गएको भए नागरिकता चाहिन्थ्यो होला, उमेर सोधीखोजी हुन्थ्यो होला,’ मोक्तानले भनिन्, ‘बिहे गर्दा उमेर सोधेनन्, त्यसपछि घरको कामधन्दाबाहेक अन्त ध्यान गएन ।’ त्यसबेला जन्मदिन मनाउने चलन थिएन । वयस्क भएकाहरूले आमाबुवालाई आफ्नो उमेर सोध्दा गाउँमा अनिकाल परेको, बाढी गएको, पहिरो झरेको घटनाका आधारमा जन्मदिन बताइदिन्थे । ‘जन्मेको सालसम्म पत्ता लागे पनि गते, महिना र बार भने पत्तै लाग्दैनथ्यो,’ अर्का वृद्ध टीकाराम पुलामीले सुनाए ।

सामाजिक सुरक्षाभत्ता लिएको १० वर्ष भएकाले अहिले आफैं उमेर पत्ता लगाउन सक्ने भएको उनले बताए । ‘खोरिया फाँडेर चार हलको मेलो बनाएको छु,’ चार छोरा र दुई छोरीका बाबु पुलामीको भने, ‘सरकारले भत्ता दिन्छ, दु:खम् सुखम् चलेकै छ ।’

जग्गाको तिरो तिर्न नपर्ने भएकाले पुर्जा नभएको जग्गामा खेती किसानी गर्दै आएका वृद्धवृद्धालाई वडाको सिफारिसमा नागरिकता दिएर सामाजिक सुरक्षाभत्ता दिने गरेको सुनकोसी गाउँपालिकाका उपाध्यक्ष दिर्वुसिङ मोक्तानले बताए ।



प्रकाशित : कार्तिक ८, २०७६ १०:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT