कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सतायो बँदेलले : ३ सय रोपनीको बाली नोक्सान

कान्तिपुर संवाददाता

डडेलधुरा — ७ रोपनीमा मकै खेती गरेका भागेश्वर गाउँपालिका ४ का इन्द्रबहादुर मालीले बिहान उठ्दा एउटा बोट पनि सद्दे पाएनन्  । राति पहरा दिन बसेका उनले आँखा अगाडी बँदेलको बितण्डा देखेपछि अहिले खेती नलगाउने मनस्थितिमा पुगेका छन्  ।

‘राती पहरा दिन वसेको हुँ,’ उनले भने, ‘२० देखि ५० बँदेलको समूह आएर मकै भाँच्दै खान लागेपछि बिउझिँएँ जति भगाउँदा पनि भागेनन् उल्टै आक्रमण गर्लान् जस्तो गरेपछि चुपचाप फलिसकेको खेती नष्ट भएको हेरिरहें ।’ २ दिनअघि पनि उनको ४ रोपनीमा लगाएको धान पनि बँदेलले नष्ट गरेका थिए ।

घरनजिकै अरुको जग्गा पनि भाडामा लिएर आलु खेती गरेका आलिताल १, गांगखेतका शेरबहादुर थापाको ६ रोपनीमा लगाइएको आलु बँदेलले एकै रातमा खाएर सिध्याए । ‘२ ठाउँमा गरि १६ रोपनी जतिमा आलु खेती गरेको थिएँ,’ उनले भने, ‘बँदेलले आलु र मकै दुवै सक्यो, बाँकी केही रहेन ।’ उनले गत वर्ष पनि बाँदर र बँदेलले धेरै खेती नष्ट गरेको बताए । ‘सयौंको संख्यामा आउछन्,’ थापाले भने, ‘एक्ला–एक्लै आउन छाडे । पहिले २/४ को संख्यामा आउथे भगाउन पनि सकिन्थ्यो तर पछिल्ला केही वर्षयता सयौंको संख्यामा आउँछन्, भएको सबै बाली नष्ट गरी जान्छन् ।’

पहाडी जिल्लाको मुख्य खाद्यबाली उत्पादन हुने समयमा हरेक कृषकका गुनासो समान छन् । बँदेलको मुख्य निशानामा पनि मकै, आलु, धान र भटमास प्रमुख रहन्छ । यस क्षेत्रको मुख्य बाली मकै हो । आलु र भटमास प्रमुख नगदे बाली हुन् । आलु र मकै बिक्री गरी कृषकहरूले वर्षभरिका लागि आवश्यक खाद्यान्न जोहो गर्छन् ।‘धानमा बाला लागेलगत्तै आक्रमण गर्ने बँदेलले यसपटक बाला नलाग्दै अधिकांश खेती नष्ट गरिसकेको छ,’ भागेश्वरका हरि ठकुराठीले भने, ‘सवैभन्दा वढी सिँचाइ हुने खेतमा फलेको धान वन्यजन्तुको निशानामा परेको छ ।’

मकै र आलुसमेत अधिकांश तरकारी खेती पनि बँदेलले नष्ट गर्न थालेको उनको भनाइ छ । आफ्नो क्षेत्रका ४ गाउँमा मात्र ३ सय रोपनी बढीमा वन्यजन्तुले बाली नष्ट गरेको पनि ठकुराठी बताउँछन् ।

प्रकाशित : आश्विन १०, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?