खोटाङमा जिल्लाकै पहिलो ई-लाईब्रेरी 

काठमाडौँ — खोटाङको बास्पानी-५ दन्खुरी डाँडास्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्युतीय पुस्तकालय -ई-लाईब्रेरी) सञ्चालनमा आएको छ । 

खोटाङमा जिल्लाकै पहिलो ई-लाईब्रेरी 

पुस्तकालयमा १ देखि १० कक्षासम्म पठनपाठन हुने सम्पूर्ण सामाग्री समावेश गरिएको छ । जिल्लामै पहिलोपटक स्थापित पुस्तकालयमा राखिएका विभिन्न ८ कम्प्यूटरका सफ्टवेयरमार्फत् विद्यार्थीहरुले आफूलाई आवश्यक पर्ने पाठ्यक्रम तथा सन्दर्भ सामाग्री अध्ययन गर्न सक्छन् ।


बास्पानी मुलबासी २५ जनाको सहयोगमा रोजिहिरा फाउन्डेसनको समन्वयमा पुस्तकालयको स्थापना गरेको हो । फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधान राईले पाठ्यक्रम परिमार्जन भएसँगै कम्पुयटरमा राखिएका सफ्टवेरमा हुने पाठ्यसामाग्री अद्यावधिक गर्ने व्यवस्था समेत मिलाइएको बताइन् ।


राईले 'कर्मभूमि बेलायत भएपनि आफू जन्मिएको देशको शिक्षामा सहयोग गर्न पाउँदा खुशी लागेको' बताइन् । उनले भनिन्, 'नेपालका बालबालिकाको अध्ययनका लागि सक्दो सहयोग गर्न म सधै तयार छु ।'

नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिव धनकुमार श्रेष्ठले स्थापित पुस्तकालयको प्रयोगले विद्यार्थीले शैक्षिक क्षमता अभिवृद्धि गर्न सक्ने जनाए ।


पुस्तकालय उद्घाटन समारोहमा फाउन्डेसनकी अध्यक्ष राईले गाउँपालिकाको स्वास्थ्य चौकीमा व्यक्तिगत खर्चमा भिडियो एक्सरे मेसिन जडान गर्ने समेत प्रतिबद्धता जनाइन् । हाल गाउँपालिकामा एउटा पनि भिडियो एक्सरे मेसिन छैन् ।


त्यसका साथै राईले विद्यालयमा हरेक वर्ष उत्कृष्ठ हुने एक विद्यार्थीको अध्ययन खर्च समेत आफूले व्यहोर्ने घोषणा गरिन् । रोजहिरा फाउन्डेसनले यसअघि राष्ट्रिय माध्यामिक विद्यालयको १७ कोठे भवन निर्माणका लागि १ करोड १२ लाख रुपैयाँ सहयोग गरेको थियो । फाउन्डेसनका पूर्व अध्यक्ष हिराधन राईका अनुसार उक्त रकम फकल्याण्ड युद्ध लडेका अंग्रेजहरुबाट जुटाइएको हो । विद्यालयका निर्माण गरिएको ७ रोपनी जग्गा मणिप्रसाद राईले निःशुल्क प्रदान गरेका हुन् । त्यसबापत् विद्यालयले आफ्नै परिसरमा राईको प्रतिमा निर्माण गरेको छ ।

प्रकाशित : चैत्र २५, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?