१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

सामाजिक संस्थाको सम्पत्ति व्यक्तिलाई

विनोद भण्डारी

बेलबारी, मोरङ — चार अमेरिकीले अनाथ बालबालिकाको पालनपोषण र संरक्षणमा सहयोग पुर्‍याउन स्थापना गरिदिएको संस्थाको जग्गा व्यक्तिलाई नामसारी गरिएको पाइएको छ । नामसारीपछि ती जग्गा व्यावसायिक प्रयोजनमा उपयोग गरिएको छ ।

बेलबारी–२ मा दुई दशकअघि स्थापना गरी समुदायलाई सञ्चालन जिम्मा दिइएको संस्थाको जमिन सञ्चालकले व्यक्तिका नाममा पारेका हुन् । अमेरिकी नागरिक ड्यानी अनी, एलिसा हाम्फ्रिन, डा वाल्ट ज्यामी हार्बर र टेनिसीले ‘सहरा परिवार नेपाल बेलबारी’का नाममा २ बिघा ५ कट्ठा ३ धुर जमिन किनेर आवश्यक संरचना निर्माण गरेका थिए । अनाथ बालबालिकाको संरक्षण गर्न जमिन र पूर्वाधार तत्कालीन प्रतिनिधिसभा सदस्य हर्कमान तामाङलाई २०५६ भदौ ४ गते हस्तान्तरण गरेका थिए ।

२०५५ भदौ ५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भएको उक्त संस्थाको दर्ता नम्बर ८७५ छ । संस्थापक अध्यक्षमा तत्कालीन प्रतिनिधिसभा सदस्य तामाङको नाम उल्लेख छ । प्रशासन कार्यालयका अनुसार संस्था २०७५ असार मसान्तसम्म नवीकरण भएको छ । संस्थाको हालको सञ्चालक समितिको अध्यक्ष शिव बराल हुन् । उनी तत्कालीन बेलवारी गाविसको दुई कार्यकालका अध्यक्ष हुन् ।

कुल जग्गामध्ये २८ कट्ठा ३ धुर जिल्ला अदालत मोरङमार्फत २०७५ मंसिर ११ गते व्यवसायी डम्बरबहादुर तामाङको नाममा सारिएको पाइएको छ । संस्थाका नाममा विभिन्न ८ वटा कित्ता नम्बरमा २ बिघा ५ कट्ठा ३ धुर जग्गा रहेकोमा तत्कालीन हरैँचा–५ ख हाल बेलबारी–२ को कित्ता नं १०७८ को ५ कट्ठा, कि नं ७८५ को ७ कट्ठा, कि नं १०८३ को ३ कट्ठा, कि नं १०८१ को ४ कट्ठा, कि नं १०९० को ५ कट्ठा र कि नं १०१९ को ४ कट्ठा ३ धुर जमिन तामाङलाई नामसारी गरिएको मालपोत कार्यलय बेलबारीको अभिलेखमा छ ।

मालपोतको अभिलेखमा जिल्ला अदालतको मिसिल नम्बर ८५ अन्तर्गत २०७५ मंसिर ११ गते क्षेत्रीय कार्यालयको निर्णयमा अदालतको चलानी नम्बर ४५६० को पत्रअनुसार २०७५ असोज १४ गतेको मिलापत्रअनुसार सहारा परिवार नेपालको नाममा रहेको तत्कालीन हरैँचा–५ ख हाल बेलबारी–२ को कित्ता नं १०७८ को ५ कट्ठा, कि नं ७८५ को ७ कट्ठा, कि नं १०८३ को ३ कट्ठा, कि नं १०८१ को ४ कट्ठा, कि नं १०९० को ५ कट्ठा र कि नं १०१९ को ४ कट्ठा ३ धुर जमिन डम्बरबहादुर तामाङको नाममा आएको उल्लेख छ ।

संस्थाको नाममा अहिले पनि कित्ता नं १९९४ को १० कट्ठा र कि नं १९९६ को ७ कट्ठा जमिन रहेको मालपोतको अभिलेख छ । उक्त जमिनको मूल्य अहिलेको बजार भाउमा प्रतिधुर कम्तीमा दुई लाख रुपैयाँ पर्ने स्थानीयको भनाइ छ । संस्थाको जमिन चोरबाटोबाट व्यक्तिका नाममा ल्याएर उद्यम गर्ने सञ्चालक समितिको उद्देश्यमा खोट भएको उनीहरूको तर्क छ ।

समिति अध्यक्ष बरालले संस्थाको नामको जमिन तामाङको नाममा सारिएको स्विकारे । समितिले संस्थाको जमिनमा रोजगारमूलक उद्योग, कृषि परियोजना, सेक्युरिटी कम्पनीको प्रशिक्षण केन्द्रलगायत रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेर बैंकिङ प्रक्रियाका लागि २८ कट्ठा ३ धुर जमिन तामाङलाई नामसारी गरिएको उनको भनाइ छ ।

‘संस्थाको नामबाट बैंकिङ कारोबार गर्न समस्या भयो’, बरालले भने ‘त्यसैले तामाङको नाममा जमिन सारेर बैंकबाट ऋण लिएर थप कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो ।’ मोरङ जिल्ला प्रशासनले कार्यालयमा दर्ता भएका कुनै पनि सामाजिक संघसंस्थाको चल/अचल सम्पत्ति कुनै पनि हालतमा व्यक्तिका नाममा नामसारी गर्न नमिल्ने बताएको छ ।

संस्थाका संस्थापक अध्यक्ष तथा पूर्वप्रतिनिधिसभा सदस्य तामाङले उक्त जमिन अमेरिकी नागरिकले नभई आफैंले खरिद गरेको दाबी गरे । ‘जमिन म आफैंले खरिद गरेको हुँ,’ उनले भने, ‘अमेरिकी नागरिकहरूले भवन निर्माण गर्न मात्र केही आर्थिक सहयोग गरेका हुन् ।’ जमिन जुनसुकै प्रयोजनमा आफूले प्रयोग गर्न सक्नेसमेत उनले बताए । तर संस्थाको भवनको भित्तामा लेखिएको शिलालेखमा ‘अमेरिकाको भर्जिनिया राज्यका ड्यानी अनी, एलिसा हाम्फ्रिन, डा वाल्ट हर्बर र टेनिसीको संयुक्त लगानीबाट निर्मित सहारा बालग्राम, सहराग्राम’ उल्लेख छ ।

प्रकाशित : भाद्र ९, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?